काठमाडौँ । नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन ।
दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेकोले उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुल्ला भएको छ ।
मलेसियाको पुत्राजयमा नेपाल र मलेसियाका उच्च अधिकारीबीच बिहीबार दिउँसो सम्पन्न संयुक्त कार्यदलको बैठकमा यस्तो सहमति भएको हो। बैठक तीन दिनसम्म चलेको थियो। सहमतिमा दुवै पक्षले हस्ताक्षर गरेका छन्। बैठकको नेतृत्व नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ सह-सचिव रामप्रसाद घिमिरेले गरेका थिए। बैठकमा परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीको पनि सहभागिता थियो।
सहमति पत्रमा मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव घिमरेबीच हस्ताक्षर भएको हो।






