बडादसैं : घर-घरमा भित्र्याइयो फूलपाती

SHARE:

काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो । शनिबार बिहान गोरखा दरबारले पठाएको फूलपाती हनुमानढोका दरबारस्थति दसैंघरमा भित्र्याइएको छ । गोरखा दरबारबाट फूलपातीसहितको डोली शनिबार काठमाडौंस्थित हनुमानढोका पठाइएको थियो । बाजागाजासहित डोलीमा राखेर ल्याइएको फूलपाती सतीपीपलबाट बा२०च ४३९४ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती भित्र्याउने प्रचलन सुरु भएको थियो ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तीका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले जानकारी दिए ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैंको रौनकतालाई अझ बढाउने गर्दछ । दसैं मनाउन राजधानीमा विभिन्न पेशा र व्यवसायमा संलग्न भई बस्दै आएका धेरै मानिस आफ्नो थातथलो फर्किएका छन् । उपत्यका सुनसान देखिन थालेको छ । सडकमा कमै सवारी गुडेका छन् । कतै जान निस्किएका यात्रु सवारी नपाएको भनी गुनासो गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!