साहित्यकार सरुभक्त बेलायत आउँदै

SHARE:

सुधा गुरुङ


बेजिङ्गस्टोक । पोखरेली साहित्यकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य साहित्यकार सरुभक्त श्रेष्ठ पोखरेली मञ्च यूकेको निमन्त्रणामा बेलायत आउने भएका छन् ।
पोखरेली मञ्च यूकेले आगामी ९ नोभेम्बर शनिबार अपरान्ह २ देखि ५ बजेसम्म अल्डरसटको एम्पाएर हलमा ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रम आयोजना गर्दैछ । पोखरेली मञ्च यूकेले बेलायत र पोखराको खेलकुदको क्षेत्रमा निकै योगदान पु¥याउँदै आएको छ । भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्न विगत ३ वर्षदेखि वेल्समा हाईक फर नेपालको आयोजना गर्दै आएको छ भने पोखरामा बृहत् पोखरा म्याराथन पनि आयोजना गर्दै आएको छ ।

बेलायतमा नृत्य, गायन र हास्य विधाका कलाकारहरुलाई यदाकदा निम्त्याइने चलन नयाँ हैन पुरानै हो त्यसैले पोखरेली मञ्चले केही नौलो प्रस्तुति किन नगर्ने ? भन्ने सोचका साथ यसपटक पोखरेली साहित्यकार, राष्ट्रका गौरव, करिब एक दर्जनभन्दा बढी साहित्यिक संघ संस्थासँग आबद्ध, विभिन्न पदक र बिभूषणहरुद्वारा सम्मानित विशिष्ट व्यक्तित्व सरुभक्त श्रेष्ठलाई निम्त्याएर बेलायती साहित्यप्रेमीहरुको साहित्यिक तिर्सना मेटाउने जमर्को गरेका पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले बताए । कार्यक्रम संयोजनको जिम्मा बेजिङ्गस्टोक निवासी दम्पती लालप्रसाद गुरुङ बिईएम र सुधा गुरुङले लिएका छन् ।

कार्यक्रमका मुख्य अतिथि राजदूत डा दुर्गाबहादुर सुबेदी (साहित्यकार दुबसु) छन् । कार्यक्रम प्रवेश निःशुल्क गरिने भएको छ । कार्यक्रममा सरुभक्तका कविता र मुक्तक वाचन, उनका साहित्यिक यात्राका आरोह–अवरोह र उनीसँग अन्तरंग संवाद गरिनेछ । साथै कार्यक्रमको अन्तमा उनले रचेका लोकप्रिय गीतहरु पनि स्थानीय कलाकारहरुद्वारा गाइने योजना रहेको मुख्य संयोजक लालप्रसाद गुरुङले बताए । उनले रचेका गीतहरु थुप्रै गीत विभिन्न ब्यान्डले गाएर लोकप्रिय भएका छन् । नेपथ्यले गाएका लामपाते सुरती, कुरुप अनुहार हो, सरुमा रानी आशुको कसम, कन्दरा ब्यान्डले रातै बिझायो दिनै बिझायो, भेंडी गोठैमा, हङकङ पोखरा, ब्रोसिस ब्यान्डले चाईना कम्पनी, परिवेश ब्यान्डले भोटे ताल्चा आदि लोकप्रिय छन् ।

सन् १९५६ मा बागबजार, पोखरामा हरितालिका तीजको दिनमा पिता गणेशबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको घरमा सरुभक्तको जन्म भएको थियो । उनले कक्षा ५ देखि १० कक्षासम्मको अध्ययन गण्डकी बोर्डिङ्ग स्कुल, लामाचौर (तत्कालीन नेपाल आदर्श विद्यालय) मा गरेका थिए भने एसएलसी मल्टिपर्पोज हाईस्कुलबाट उत्तीर्ण गरेका थिए । उच्च शिक्षा पृथ्वीनारायण क्याम्पस, पोखरा र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट हासिल गरेका हुन् ।

विगत चालीस वर्षदेखि लेखनमा सक्रिय सरुभक्तका ५० भन्दा बढी कथा, उपन्यास, नाटक, कविता, मुक्तकसंग्रह प्रकाशित भइसकेका छन् । २०५९ मा चुली उपन्यास प्रकाशित गरेका सरुभक्तका समय त्रासदी, अँध्यारो कथा, तरुणी खेती, बांगाटिंगा धर्साहरु, एक अविनवको आत्मकथा, पागल बस्ती आदि उपन्यास प्रकाशित छन् । पागल बस्तीका लागि २०४८ सालमा उनले मदन पुरस्कार प्राप्त गरेका थिए । उनका बहुचर्चित नाटकहरु, एउटा घरको कथा हैन, युद्ध उहीँ ग्याँस च्याम्बरभित्र, ईतिहासभित्रका इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, सिरुमा रानी, असमय अमौसम, शरणार्थी आदि हुन् भने बन्द खामभित्र, बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, ज्यानमारा, प्रयोगशालाभित्र, हजार बुद्धहरु, झुमा, साईबर क्याफेमा एक दिन, भेँडीगोठ आदि प्रकाशित छन् ।

करिब पन्ध्र सोह्र वर्षको अन्तरालपछि हालै उनले आफ्नो नयाँ उपन्यास ‘प्रतिगन्ध’ लोकार्पण गरेका छन् । प्रतिगन्ध उपन्यास बूकहिल प्रकाशनले प्रकाशित गरेको हो । कार्यक्रममा सरुभक्तले आफ्नो नयाँ कृति पनि बेलायती साहित्यप्रेमीका लागि कोसेलीस्वरुप लिएर आउने योजना छ ।

बेलायतमा यस्ता प्रतिष्ठित नेपाली साहित्यकारको एकल प्रस्तुती संभवतः नै पहिलो भएकोले कार्यक्रम सफल तुल्याई चीर स्मरणीय बनाउन सम्पूर्ण बेलायतवासी साहित्य अनुरागीहरुको बाक्लो उपस्थितिका लागि आयोजक पोखरेली मञ्च निमन्त्रणा गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!