लन्डन । याक्थुङ समुदायको सभ्यता सुरु भएको मानिने मुन्धुमी स्थलहरूको संरक्षणका लागि संसारभर छरिएर रहेका युमा साम्योवादीहरूले पहल गर्ने भएका छन् ।

याक्थुङ मुन्धुममा वर्णन हुने मुन्धुमी, ऐतिहासिक र पुरातात्विक स्थलहरूको प्राकृतिक रूपमा संरक्षण सम्बद्र्धनको गरिनुपर्र्ने भन्दै युमा साम्योवादीहरू सक्रिय भएका हुन् । युमा धर्मलाई याक्थुङ (लिम्बु) जातिको मौलिक धर्म भन्दै पछिल्लो समय युमा साम्यो महासभामा सङ्गठित हुँदै आएका युमावादीहरूले मुन्धुममा चर्चा हुने आदिम ठाउँहरूको संरक्षण गर्न आवश्यक नीति र कार्ययोजना निर्माण गरिरहेका छन् ।
नेपालमा मात्रै नभई संसारभर रहेका युमा साम्योवादीहरूले पनि पूर्वी नेपालमा रहेका आफ्ना आदिम थलोहरूको संरक्षण कार्यमा चासो दिइरहेका छन् । शनिबार लन्डनमा बसेको युमा साम्यो महासभा यूकेको पहिलो पूर्ण बैठकले समेत इम्बिरी याङधाङ्वा (तम्मर) सभ्यताअनुसार वर्णन भएका याक्थुङ समुदायको प्राचीन थातथलोहरूको संरक्षण अभियान थाल्ने निर्णय गरेको छ । यसका लागि पहिलो चरणमा सोधुङ्गेन लेप्मुहाङले विचरण गरेको मुरिङ्ला खारिङ्ला क्षेत्रलाई याक्थुङ पहिचानको केन्द्रविन्दू मानेर संरक्षण कार्य थालिन लागेको महासभाका यूके अध्यक्ष टङ्क वनेमले बताए । उनका अनुसार याक्थुङ मुन्धुमले निर्दिष्ट गरेका अनगिन्ती मुन्धुमी र पुरातात्विक स्थलहरू सांस्कृतिक अतिक्रमण र विकास निर्माणका कारण सङ्कटमा परिरहेका कारण आफूहरूले संरक्षण अभियान घोषणा गरेको कारण खुलाए । सोधुङ्गेन लेप्मुहाङलाई याक्थुङ जातिको सभ्यताको आदिकर्ता मानिन्छ ।
यसैगरी, बैठकले मौलिक चाडपर्वको प्रचारप्रसारमा तीव्रता दिने भन्दै आगामी डिसेम्बर १२ तारिखका दिन चासोक थिसोक तङ्नाम (उधौली) लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । यसका लागि युमा साम्यो महासभा नेपालसँग आवश्यक समन्वय गर्दै संसारभर चाड मनाउने विषयमा एकरूपता कायम गर्ने निर्णय गरेको महासचिव तारा कन्दङ्वाले जानकारी दिए । उनले निकट भविष्यमा समुदायको मुख्य अनुष्ठान मानिने तङ्सिङ् पनि सामूहिक रूपमा आयोजना गर्ने संस्थाको योजना रहेको बताए ।
त्यस्तै, युमा धर्म, मुन्धुम र दर्शनलाई व्यापकता दिँदै दार्शनिक पक्षलाई अझ उजागर गर्न महासभाले मातहत रहने गरी दर्शनशास्त्र तथा प्रशिक्षण विभाग पनि गठन गरेको छ । यसको प्रमुखमा उपाध्यक्ष दिल पालुङ्वालाई जिम्मा दिएको छ । महासभाले आगामी डिसेम्बरभित्र लिम्बु बाहुल्य क्षेत्र मानिने केन्टको आसफोर्डमा जागरण सभा आयोजना राख्ने निर्णय गरेको छ । बैठकले सांस्कृतिक अभियानलाई तीव्रता दिन मिडिया विभाग र सांस्कृतिक विभागलाई परिचालन गर्दै युट्युब च्यानल र वेभसाइट सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । सोही बैठकले अभियन्ता मिजास तेम्बेलाई कोल्चेस्टर क्षेत्रीय प्रतिनिधिसमेत तोकेको छ । अन्य क्षेत्रमा सदस्य सङ्ख्या वृद्धि गर्ने निर्णयसमेत गरेको महासचिव कन्दङ्वाले बताए ।
यसअघि, बैठकले जून १५ मा आसफोर्डमा सम्पन्न पहिलो महाधिवेशनको समीक्षासमेत गरेको छ । साम्बा वीरबहादुर आङबुहाङको प्रमुख आतिथ्यमा भएको महाधिवेशनले यूकेमा रहेका मौलिकतावादी याक्थुङहरूलाई सङ्गठित गर्न सफल रहेको बैठकको निष्कर्ष थियो । पूर्ण केन्द्रीय समितिको बैठकले अर्थसचिव जय मादेम्बाले प्रस्तुत गरेको आयतर्फ १४८५ पाउन्ड स्टर्लिङ, व्ययतर्फ ७१६.२३ पाउन्ड स्टर्लिङ भई कुल बैंक मौज्दात ७६८.७७ पाउन्ड स्टर्लिङ रहेको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिवेशनले टङ्क वनेमको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । समितिका उपाध्यक्षहरूमा दिलसिं मेन्याङ्बो, दिलबहादुर पालुङ्वा, सरला काम्बाङ, महासचिवमा तारा कन्दङ्वा र सचिवमा महेश वनेम छन् ।
त्यस्तै, मिडिया सचिवमा अमित थेवे, अर्थ सचिवमा जय मादेम्बा, सह–अर्थ सचिवमा कमल अन्छङ्बो, संस्कृति विभाग सचिवमा मान तबेबुङ रहेका छन् । सदस्यहरूमा लाहाङ चेम्जोङ, भीम मादेन खेवा, मुक्ति सिरेङ चोङवाङ छन् । त्यस्तै, क्षेत्रीय प्रतिनिधिहरूमा सन्तोष वनेम, भक्त बोखिम, हरिभक्त आङबुहाङ, धनकुमार काम्वाङ, गम्भीरध्वोज तुम्बाहाङ्फे, दिलकुमारी मादेन र राजकुमारी लिम्बु रहेका छन् । बैठकमा सल्लाहकारद्वय लोकेन्द्र तबेबुङ र नरेन्द्र मावोहाङको पनि उपस्थिति थियो ।
यसैगरी, युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिले समेत मुन्धुमी स्थलहरूको संरक्षण गर्न केन्द्रसँग सहकार्य गर्ने निर्णय गरेको महासचिव धनराज साम्याङ्खामले बताए । उनका अनुसार हालै बसेको समिति बैठकले तत्काललाई करिब डेढ दर्जन बढी स्थलहरूको अध्ययन गर्ने निर्णय गरेको छ । समितिले यस वर्षको चासोक थिसोक पर्वलाई मातहतका सबै १२ प्रवास सङ्गठनहरूमा भव्यतापूर्वक मनाउन निर्देशन दिएको जनाए ।






