पाँचकन्या मेलाको तयारी अन्तिम चरणमा, के के छन् यस वर्ष मेलाको आकर्षण ?

SHARE:

एटा संवाददाता

घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने पाँचकन्या मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलाका लागि मन्दिर परिसरको क्षेत्रमा मैदान निर्माण, सरसफाई, सजावट, सांस्कृतिक कार्यक्रम तयारी र प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको पाँचकन्या मेला व्यवस्थापन समितिले जनाएको छ । समितिका संयोजक छिरिङदोर्जे तामाङले जात्राको मुख्य आकर्षणको रुपमा रहने झाँक्री नाँच, राष्ट्रिय र स्थानीय कलाकारहरुको सहभागितामा हुने सांस्कृतिक साँझलाई प्राथमिकतामा राखी व्यवस्थापन भइरहेको बताए ।

यस वर्ष मेला कात्तिक ३० गते शनिबार सुरु भई मंसिर १ गते सकिने छ ।

मेलामा स्थानीय र छिमेकी गाउँका झाँक्रीहरुको नाँच देख्न सकिन्छ । मेलाको पहिलो दिन झाँक्रीहरु सिँगारिएर मन्दिरमा जाने, झाँक्रीसँगै स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले दियो र मादी बत्ति बाल्ने चलन छ । आफ्नै भेषभूषामा सजिएका झाँक्रीहरु बेलुकी पाँचकन्या मन्दिरमा जाने, पूजाआजा गर्ने र रातभर फलाक्ने, नाँच्ने गर्छन् भने व्रतालुहरुले रातभर बत्ति निभ्न नदिने चलन छ । साँझ जगाएको मादी बिहान सबेरै करिब २ सय मिटर तल घलेभन्ज्याङको धारामा ल्याइ सेलाउने चलन छ ।

बेलुकी र बिहान मादी सेलाउने अनि पञ्चमीका दिन झाँक्री घर पुग्ने बेलासम्मै महिला, पुरुष हात समाएर राम्ररी नाच हो झाँक्री नाँच भन्दै भट्याउने चलन छ ।

सांस्कृतिक कार्यक्रम

मेलालाई भव्य रुपमा सञ्चालन गर्न भन्दै समितिले पाॅचकन्या मेला- २०७६ तथा ‘बृहत् सांस्कृतिक साँझ’ आयोजना गरेको छ । कार्यक्रममा चर्चित लोकदोहोरी गायक रामजी खाँड, गायिकाहरु स्मृति गौतम, मञ्जु गौतम, सिर्जना खत्री, लक्ष्मी स्याङ्गतान, डान्सर रोमा न्यौपाने, गायक लेखनाथ आचार्य र नायिका एलिना रायमाझी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति रहने छ । झाँक्री नाच, लोकदोहोरी गायनका साथै स्थानीय भजन समूहले पनि आफ्ने प्रस्तुति दिने जनाइएको छ ।

मेला भर्न घलेगाउँका साथै आसपासका  पन्चकन्या गापाका कार्तिके, राउटार, कविलास, बयागाउँ, जैसीगाउँ, कुवापानी, नेवारपानी, छापथोक, थप्रेक, आरुखर्क, घ्याङस्वाँरा, बोकेडाँडा, भद्रुटार,  शिवपुरी गापाका सिलामे, जेब्राङ, खनियाखर्क, सुनखानी, थानसिंङ लगायत ठाउँका मानिसहरु पुग्ने गर्छन् । पछिल्ला वर्ष सडक मार्गको पहुँच पुगेपछि काठमाडौंबाट समेत मेला हेर्नेहरु जाने गर्दछन् ।

बलि प्रथा
देशका विभिन्न ठाउँमा बलि प्रथाको विरोध भइरहे पनि पञ्चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्यामा स्थानीयले बलि दिन छाडेका छैनन् । रोग हरण र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा बलि चढाइन्छ । पञ्चबलि दिने चलन पनि कायमै छ ।

पञ्चकन्या मन्दिर परिसरको उत्तरतर्फको पहराको कुनामा अवस्थित सातकन्या थानमा जात्राको अन्तिम दिन पशुबलि दिइसकेर सबै भक्तजन फर्किसकेपछि सुनसान अवस्थामा देवीले सर्पको रुप धारण गरेर भोग दिएको खान आएने गरेको भनाइ छ ।

अविछिन्न रुपमा तामाङ पूजारी
परापूर्वकालदेखि नै पञ्चकन्या मन्दिरमा मुख्य पुजारी र झाँक्री तामाङ जातिका रहेकाले त्यही समुदायकोले निरन्तरता छ । वर्तमान मूलझाँक्री एवं पूजारी लालबहादुर तामाङका अनुसार तत्कालीन घले राजाको पालादेखि अहिलेसम्म २० जना पूजारी पुगेका छन् ।

  1. छ्योइपण्डित झाँक्री
  2. शीतलसिंह झाँक्री
  3. वीरजीत झाँक्री
  4. समरसिंह झाँक्री
  5. वासुदेव झाँक्री
  6. गोरे झाँक्री
  7. साक्री झाँक्री
  8. कलुराम झाँक्री
  9. आँसुमान झाँक्री
  10. श्रीमान् झाँक्री
  11. मानदोर्जे झाँक्री
  12. ङेवाङ झाँक्री
  13. छेवाङ झाँक्री
  14. सेते झाँक्री
  15. सम्बरबहादुर झाँक्री
  16. सेलकर झाँक्री
  17. गाजले झाँक्री
  18. धनबहादुर झाँक्री
  19. चन्द्रबहादुर झाँक्री
  20. लालबहादुर झाँक्री (वर्तमान)

मन्दिर उत्पतिको ऐतिहासिक तथ्य प्रमाण अहिलेसम्म भेटिएको छैन । स्थानीय जानकारहरुका अनुसार नेपालमा बाइसे चौबिसे राज्य रहेको बेला घलेगाउँमा घले राजाले राज्य गर्दथे । त्यतिबेला सो स्थानलाई घले राजाको राजधानी भन्ने पनि गरिन्थ्यो । घले राजा धर्मकर्ममा बढी रुची राख्थे । त्यसैकारण पञ्चकन्या मन्दिरको रेखदेख उनै घले राजाले गर्दथे । राजा वृद्ध हुँदै गएपछि जनताले एकजना पुजारी राख्न सुझाव दिएछन् । त्यसपछि एकदिन राजाले गाउँले भेला गरी त्यहाँको प्रसिद्ध झाँक्री छ्योइपण्डितलाई पञ्चकन्या मन्दिरमा पुजारी तोकी पूजा कार्य अगाडि बढाइएको बताइन्छ ।

पहिलो भनिएको पुजारी यस्ता शक्तिमान !
परापूर्वकालमा छ्योइ पण्डित झाँक्री र आर्य जातिका बाहुन कुनै ठाउँमा घुमेर आउँदा घलेगाउँको जन्तरे पोखरीमा नुहाउने सम्बन्धमा विवाद चर्किएछ । बाहुनलाई झाँक्रीले पहिले नुहाउन भनेछन् । बाहुन नुहाउन लुगा फुकालेर लगौटी मात्र लगाएर पोखरीमा डुबुल्की मारी निस्किएछन् । त्यसपछि छ्योइ पण्डित बाजेको पालो आयो नुहाउने । उनले चाहिँ आन्द्राभुँडी सर्लक्क निकालेर धुन थालेछन् । शरीर नुहाउने भनेकोमा झाँक्रीले भित्रि शरीर आन्द्राभुँडी नै पखालेको देखेका बाहुनले झाँक्रीलाई भनेछन्, ‘तेरो शक्ति छ भने बाघको दूध दुहेर ल्याउ ।’ छ्योइ पण्डित झाँक्रीले घोडा अघि लगाएर बाघको दूध होइन कि बथानै बाहुनको घरमा पुर्‍याइदिएपछि बाहुनले, ‘ल तँ धेरै शक्तिशाली रहेछ भनेछन् ।’ झाँक्री शक्तिमान रहेको पुष्टि भएपछि सबैले पुज्न थालेको किम्बदन्ती पाइन्छ ।

तामाङ झाँक्रीहरुले पञ्चकन्या मन्दिरमा नेतृत्व गरे पनि क्षेत्री, बाहुनहरुले पूजा नै नगर्ने भन्ने होइन । सो मन्दिरको देउता विशेषगरी तामाङ झाँक्रीले बुझाउँदा बढी खुसी हुने भन्दै क्षेत्री, बाहुन समुदायले शुभकार्य र देउतालाई घन्टा चढाउने जस्ता विषयमा मूल पूजारीमार्फत गराउने चलन छ ।

सातकन्या थानको मैदान तयार

पाँचकन्या मन्दिर परिसरमा रहेको सातकन्या थानमा पूजाआजा र बलि चढाउनेहरुका लागि निकै साँघुरो भएपछि यस वर्ष मैदानलाई फराकिलो पारिएको छ । पञ्चकन्या गाउँपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट छुट्याइएको ५ लाखले मैदान ढलान र मन्दिरको छेउको भागमा ठाउँ विस्तार गरिएको हो ।

मन्दिर परिसरमा ठाउँ बढाउन स्थानीय होमबहादुर तामाङको अध्यक्षतामा पञ्चकन्या मन्दिर निर्माण उपभोक्ता समिति बनाएर ढलान गर्ने काम मंगलबार सम्पन्न गरिएको हो । उपभोक्ता समिति अध्यक्ष तामाङका अनुसार भीरमा रहेको सातकन्या थानमा साढे ४ फिट लम्बाई र साढे ३ फिट चौडा मैदानलाई १० फिट चौडा र २० फिट लम्बाइ पारिएको छ । मैदानको छेउको भागमा सुरक्षाका लागि फलामे बारसमेत लगाइएको छ । मुख्यगरी पूजा र बलि चढाउने सातकन्याबाट बाहिर भक्तजन भेला हुने, मेलाका दिन नाचगान गर्नका लागि भन्दै पिच गरिएको छ ।

गत वर्ष घलेभञ्जाङदेखि मन्दिरसम्म बनाइएको सिढीमा सुरक्षा र शोभाका लागि फलामे बार (रेलिङ) लगाउने योजना रहे पनि बजेट अभावले नसकिएको अध्यक्ष तामाङले बताए । करिब २ सय मिटरको दूरीमा स्टेप (सिँढी) आव २०७४/७५ र ०७५/७६ मा गाउँपालिकाबाटै विनियोजित ५/५ लाख गरी १० लाख रुपैयाँमा निर्माण गरिएको हो ।

गाउँपालिकाको नामसमेत मन्दिरको नामकरण गरिएको आस्थाको देवी पञ्चकन्या मन्दिर परिसरमा सातकन्या, तीनकन्या, थानापति देवी, सिकारि भूमे थान छन् । त्यस्तै मन्दिरको दक्षिणतर्फ करिब सय मिटरको दूरीमा कपुर भूमेको थान छ । जहाँ हरेक वर्ष दसैंको फूलपातीका दिन पूजाआजासहित बलि चढाउने चलन छ । सामुदायिक वन क्षेत्रमा पर्ने पञ्चकन्या मन्दिरमा जेष्ठ चण्डी पूर्णिमाको दिन उभौली अर्थात् किसानका खेतीबाली सप्रियोस्र भन्ने कामनासहित भाकल पूजा गरिने चलन छ । त्यसपछिको मेला ठूलो एकादशीपछिको चतुर्थी र पञ्चमीको हो ।

पर्यटकीय गन्तव्यको सम्भावना
घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढ्दै गएको छ । काठमाडौँको सीमाबाट सीधा १९ किलोमिटर र छहरे बजार-कविलास हुँदै जाँदा करिब ५० किलोमिटरको दूरीमा रहेको सो स्थानबाट विभिन्न हिमालका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । समुद्री सतहदेखि करिब १ हजार ५ सय मिटर उचाइमा रहेको घलेभञ्ज्याङबाट गणेश हिमाल, राहुचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई हेर्न सकिन्छ ।

उत्तरी मोहडा फर्किएको घलेगाउँ चारैतिरका टारी खेत तथा जंगलको हरियाली, पाँचकन्या मन्दिर परिसरमा हिउँदमा फूल्ने लालीगुराँस अर्को विशेषता हो । विभिन्न चराचुरुङ्गीको आवत–जावत हुने त्यस आसपास क्षेत्रमा पञ्चकन्या गाउँपालिकाको अस्थायी कार्यालय, पशुसेवा उपकेन्द्र, इलाका प्रहरी कार्यालय पञ्चकन्या लगायत सेवा कार्यालय खुलेका छन् ।

साबिक पञ्चकन्या गाविस–१ मा पर्ने घलेगाउँ पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त अवसर रहेकोले स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी यातायात सहज आगमनको व्यवस्था तथा भौतिक पूर्वाधारको संरचना तयार गर्नुपर्ने स्थानीय बताउँछन् । गाउँपालिकामा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङ निर्वाचित भएलगत्तै गत वर्ष वडा नम्बर २ मा पर्ने कविलासको कालिका मन्दिरदेखि घलेभञ्न्याङसम्मको सडकमा ग्राभेलिङ गरिएको छ । नाली काट्ने, ढलको व्यवस्थापन नगरी हतारमा ग्राभेल हालिकोले टिकाउन नहुने भन्दै स्थानीय सरकारको आलोचना हुँदै आएको छ । तर, गाउँपालिका अध्यक्ष तामाङले आफ्नो कार्यकालमा सडक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेकोले स्थानीयको गुनासो चाँडै सम्बोधन हुने प्रतिबद्धता जनाए ।

चौघडा, कविलास, पञ्चकन्या, थप्रेक र भद्रुटार तत्कालीन गाविस समायोजन भएर पञ्चकन्या गाउँपालिका बनेको हो । करिब ५ हजार ५०० जनसङ्ख्या रहेको यस पालिकामा धान, कोदो, मकै, अदुवाको उत्पादन हुन्छ । सो क्षेत्रमा ‘होम स्टे’ (घरबास) का लागि पनि प्रयत्न भइरहेको छ । स्थानीयवासीले सामान्य खाजाघर सञ्चालन गर्दै आएको घलेगाउँमा क्रमिक रुपमा पर्यटन विकास हुँदै जाँदा आवासीय होटल तथा रेस्टुरेन्ट स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । तामाङ समुदायको बाक्लो बस्ती भएको यहाँ क्षत्री, बाहुन, दलित लगायतको पनि मिश्रित बसोबास पाइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!