
सन् २०१२ अक्टोबर १२ मा बेलायतको स्पेशल फोर्सले अफगानिस्तानको एउटा गाउँमा चार व्यक्तिलाई गोली हानेर मा¥यो । मृतकका परिवारले ती चारमध्ये दुईजना बालक भएको बताएका छन् । सो घटनामा युद्ध अपराध भएको जस्तो देखिन्छ । तर अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन । प्रत्यक्षदर्शीहरूले १२ वर्षीय अहमद शाह र १४ वर्षीय मोहम्मद तयैव त्यो रात १७ वर्षीय नाइक मोहम्मद र उनका दाजु २० वर्षीय फजलसग सुतेको बताउँछन् । राति आठ बजेतिर ब्रिटिस र अफगानी सेनाले लोय वाग गाउँमा प्रवेश गरेको र गाउँका सबै घरमा छिरेको थियो । यूकेका एक सैनिकले एउटा घरभित्र छिरेर गोली चलाएका थिए ।
नाइक र फजलका दाजु सुल्तान मोहम्मद ती सैनिक फर्किएपछि घटनास्थलमा पुगे । ‘त्यहाँ मैले जताततै हड्डी र दाँत देखे । ती चार जना लडेका थिए र जताततै रगत थियो,’ उनले बताए । उनीहरूकी आमा सब्बाह त्यही कोठामा बिहानसम्म बसिन् । उनी अझै त्यहँ चियाका कपहरू भएको सम्झिन्छिन् । सब्बाहले भनिन्, ‘ती कपहरू रगतले भरिएका थिए । केटाहरूलाई टाउकोमा गोली हानिएको थियो ।’ भोलिपल्ट ती चार जनाको शव स्थानीय मस्जिदमा राखियो । उनीहरू निर्दोष भएको मानिन्छ । तत्कालीन जिल्ला गभर्नर मोहम्मद इब्राहिमका अनुसार अफगानी सेनाले फजल मोहम्मदलाई निसाना बनाइएको बताएको थियो । ‘म उनलाई दैनिक भेट्थे । उनी कसरी तालिबानको कमान्डर हुन सक्छन् ?,’ उनी प्रश्न गर्छन्, ‘यदि उनीहरू तालिबान भएको भए सबैभन्दा पहिले मलाई डर लाग्नुपर्ने ।‘ म उनीहरूलाई जेल हाल्ने वा मार्ने पहिलो मान्छे हुन्थे ।’ द सन्डे टाइम्स र बीबीसी प्यानोरामाले संयुक्त रूपमा त्यो दिन के भएको भनेर अनुसन्धान गरेका छन् । अनुसन्धानमा त्यो दिन युद्ध अपराध भएको प्रमाण फेला परेको छ ।
लोय वागमा भएको जस्तो कारबाहीमा तालिबानलाई निसाना बनाइन्थ्यो । अफगानिस्तानमा त्यो सामान्य बनेको थियो । विशेष सैन्य समूहहरूले प्रायः रातको अँध्यारोमा ‘गिरफ्तार वा हत्या गर्ने’ त्यस्ता कारबाही सञ्चालन गर्थे । ती समूहले गुप्तचर संयन्त्रले नाम उपलब्ध गराएका व्यक्तिलाई तारो बनाउँथे । भूतपूर्व सैनिक अधिकृत तथा युद्धकलाविज्ञ फ्रयान्क लेड्विजका अनुसार तारोमा कुनै निश्चित व्यक्ति भए पनि नभए पनि राति छापा मार्न जाने चलन थियो । ‘यो निरन्तर
(मानिसको) हत्या गर्ने र नियन्त्रणमा लिने यन्त्र जस्तै हो ।’ यस्ता छापामा मारिएका केही मानिस तालिबान पनि हुन्थे । तर कतिपय अवस्थामा जासुसी संयन्त्रले गलत व्यक्तिको नाम दिएका प्रमाणहरू पनि छन् । सन् २०१० सम्म संयुक्त राष्ट्रसङ्घको गैर न्यायिक हत्या सम्बन्धी विषयका विशेष दूत फिलिप एल्स्टनले रात्रिकालीन छापामा निर्दोष मानिसहरू मारिएका धेरै उजुरी प्राप्त भएको बताएका छन् । उनले भने, ‘यीमध्ये धेरै आरोपमा सत्यता छ भन्नेमा म विश्वस्त छु । यस्ता छापामा धेरै नागरिकलाई अनुचित रूपमा मारिएको निष्कर्ष हामी निकाल्न सक्छौ ।’
संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा यस्ता छापामा ३०० भन्दा धेरै निर्दोष नागरिकको मृत्यु भएको बताउँदै आएको छ । चार जनाको मृत्यु भएको उक्त घटनाले स्थानीय स्तरमा निकै आक्रोश उत्पन्न गरायो । त्यसबारे रोयल मिलिटरी पुलिस (आरएमपी) ले अनुसन्धान पनि ग¥यो । आरएमपीले गरेको बृहत् अनुसन्धानमा दर्जनौ व्यक्तिको सन्दिग्ध मृत्युमा यूकेका सैनिकको संलग्नताबारे अध्ययन भयो । आरएमपी सम्बद्ध सूत्रले बीबीसी प्यानोरामा र द सन्डे टाइम्सलाई यसबारे जानकारी उपलब्ध गराएका हुन् । अनुसन्धानका क्रममा चार जनाको हत्या गर्ने सैनिकले आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेका छन् । दुई जनाले झ्यालबाट हतियार तेर्साएको हुनाले र बाकी दुई जना अचानक अँध्यारोबाट बाहिर निस्किएकाले गोली चलाएको उनले अनुसन्धानकर्ताहरूलाई बताएका थिए । तर मृतकका परिवारले त्यो भनाइ असत्य भएको बताएका छन् ।
उनीहरूले ती चारै जनासग कुनै हतियार नभएको र उनीहरू अत्याधुनिक हतियारले सुसज्जित ब्रिटिश सैनिकमाथि कुनै खतरा हुन सक्ने अवस्था नरहेको बताएका छन् । ‘ती चारै जना चिया पिउदै थिए र बसिरहेकै ठाउँमा उनीहरूलाई मारियो’, सुल्तान मोहम्मदले बताए । बीबीसी प्यानोरामाले प्राप्त गरेका तस्बिरहरूमा कोठाको भित्तामा गोलीको दाग देखिन्छ । त्यस्ता धेरै दागहरू भित्तामा दुई फिटमाथि छन् । यसले मृतकका परिवारको दाबीलाई बल प्रदान गर्छ । रोयल मिलिटरी पुलिसका अनुसन्धानकर्ताहरूले ती सैनिकलाई चार जनाको हत्याको आरोप लगाउन खोजेका थिए । सो कमान्डको नेतृत्व गरिरहेका अधिकृत र उनका हाकिम माथि पनि झुटो प्रतिवेदन दिएर न्यायलाई प्रभावित पार्न खोजेकोको मुद्दा चलाउन खोजिएको थियो । यूकेको स्पेशल फोर्सका ती वरिष्ठ अधिकृतहरू बालकहरूको हत्याको घटना ढाकछोप गरेको आरोप थियो । तर सेनाले मुद्दा नचलाउने निर्णय ग¥यो । पछि सन् २०१७ मा सरकारले अफगानिस्तानको कारबाही स्थगन गर्ने घोषणा गर्यो । तर बीबीसीले भेटेका प्रमाणहरू देखाउदा क्राउन प्रोसिक्यूशन सर्भिसका पूर्वप्रमुख लर्ड केन मक्डोनल्डले यो घटनाको पुन परीक्षण हुनुपर्ने बताए ।






