एटा संवाददाता
लन्डन । तमुधिं यूकेले गरिब तथा जेहान्दार विद्यार्थीहरुको छात्रवृत्तिमा सहयोग गर्ने उद्देश्यले एक रात्रिभोज कार्यक्रमको आयोजना गरेको छ । गत आइतबार १ डिसेम्बरका दिन तमु सांस्कृतिक प्रतिष्ठान सहयोगार्थ तमुधिं भवन मिचेटमा सो च्यारिटी कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र तमुधिं उपाध्यक्ष हरि गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपालमार्फत तमुधिं यूकेको विशेष पहलमा थुप्रै गरिब तथा जेहान्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै सो अभियानमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रत्येक वर्ष छात्रवृत्तिमा सहयोग गर्ने उद्देश्यअनुरुप आयोजना गर्दै आएको सो कार्यक्रममा यस वर्ष एक लाख रुपैयाँको एक/एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका क्या.रि. नारायणबहादुर गुरुङ एमभिओ तथा चन्द्रदेवी गुरुङ, शान्तकुमार गुरुङ तथा ज्योति गुरुङ, भिम गुरुङ तथा चन्द्रकला गुरुङ, टेकबहादुर गुरुङ तथा नन्दकुमारी गुरुङ, मणिप्रसाद गुरुङ तथा रेजिना गुरुङ लगायतलाई तमुधिं यूकेले धन्यवाद दिएका थिए ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सचिव एवं कार्यक्रम संयोजक परशुराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






