एटा संवाददाता
लन्डन । विगत केही वर्षदेखि बेलायतमा क्रियाशील सर्मपण समूहले वरिष्ठ विमान चालक, नेपाली चलचित्र जगतका नायक, गायक, संगीतकार एवं सामाजिक अभियन्ता ‘क्याप्टेन बिजय लामा सँग एक साँझ’ नामक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यही डिसेम्बर २२ का दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागेको कार्यक्रमका लागि क्याप्टेन बिजय लामा बेलायत आउन लागेका हुन् ।
कार्यक्रममा समर्पण समूहले प्रकाशन गरेको ‘समर्पण’ नामक गीति एल्बमको विमोचनसमेत गरिने छ । स्थानीय कलाकारहरुले गीत तथा नृत्यसमेत प्रस्तुत् गर्ने कार्यक्रममा क्याप्टेन लामाले कार्यक्रममा आफ्ना अनुभवहरु सुनाउने छन् । उनको अनुभव सबैलाई प्रेरणाको स्रोत हुनसक्ने आयोजकमध्येकी एक कान्ति गुरुङ श्रेष्ठले विश्वास व्यक्त गरिन् ।
प्रतिव्यक्ति खानासहित २५ पाउन्ड प्रवेश शुल्क तोकिएको कार्यक्रमबाट बचत रकम मकवानपुर जिल्लास्थित देवहित आधारभूत विद्यालयलाई सहयोग गरिने सर्मपणका एकजना सदस्य सूर्य गुरुङले जानकारी दिए ।
केही रचनात्मक कार्य गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको कार्यक्रममा सहभागी भइदिन लागि आयोजकमध्येका एक विभा गुरुङले बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरेकी छन् ।






