एटा संवाददाता
लन्डन । बेलायतका तमुहरुले आफ्नो जातीय मौलिक पर्व ल्होछार/ल्होसार अर्थात् नयाँ वर्ष मनाउने तयारी गरेका छन् ।

नेपाली समुदाय बेलायतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाली संघ संस्थाहरुमध्येका एक तमुधिं यूके, तमु प्ये ल्हु संघ यूके, तमु समाज यूके, गोर्खा जिल्ला गुरुङ समाज यूके लगायतले तमु संघसंस्थाहरुले विविध सांस्कृतिक कार्यक्रमका साथ ल्होछार/ल्होसार मनाउन तयारी गरिरहेका छन् ।
फो ल्हो (मृग वर्ग) लाई बिदाई गराई च्युल्हो (मुसा वर्ग) लाई स्वागत गर्न लागिएको सो ल्होछार/ल्होसार कार्यक्रममा सहभागी भैदिनहुनका लागि बेलायतस्थित गुरुङ संघ संस्थाहरुले अनुरोध गरेका छन् ।
आफ्नो कला र संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्नुपर्दछ भन्ने उद्देश्यअनुरुप तमुधिं यूकेले २८ डिसेम्बरका दिन रेडिङ्गमा, गोर्खा जिल्ला गुरुङ समाज यूकेले सोही २८ डिसेम्बरका दिन एम्पायर हल अल्डरसटमा, तमु प्ये ल्हु संघ यूकेले ३१ डिसेम्बरका दिन ह्यारो, लन्डनमा, तमु समाज यूकेले ४ जनवरी २०२० का दिन ह्यारो, लन्डनमा र लमजुङ सेरोफेरो यूकेले ४ जनवरी २०२० का दिन फार्नबोरोमा मनाउन लागेका छन् । त्यस्तै, खोटाङ, सोलुखुम्बु, भोजपुर (खोसोभो) गुरुङ समाजले समेत ४ जनवरी २०२० का दिन ब्राक्नेलमा मनाउन लागिएको महासचिव दिनेश गुरुङले जानकारी दिए ।
कार्यक्रमलाई भव्य रुपमा सम्पन्नका लागि तमुधिं यूकेले नेपालबाट लोकप्रिय गायिका तारा श्रीष, गायक राजन गुरुङ र तिलक गुरुङलाई निमन्त्रणा गरिसकिएको तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक हित काजी गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै, गोर्खा जिल्ला गुरुङ समाज यूकेले गायक प्रकाश गुरुङ, गायिका खिमा रोका मगरले विशेष सांगीतिक प्रस्तुति दिने, धर्मगुरु लोपेन सोनम गुरुङ र स्थानीय लामा धर्मगुरु काजी गुरुङहरुले धार्मिक पूजापाठ र प्रवचन दिने कार्यक्रम रहेको समाजका महासचिव मान गुरुङले जानकारी दिए ।
त्यस्तै, तमु प्ये ल्हु संघ यूकेले पुस १५ अर्थात् ३१ डिसेम्बरका दिन सो कार्यक्रममा गुरुङ पराम्परा अनुसार खेगी चिबाहरुबाट विशेष धार्मिक पूजाआजा र पच्यु क्ल्हेप्रीद्वारा रुपा/पैरु लगाइने कार्यक्रम रहेको तमु प्ये ल्हु संघ यूकेले जनाएको छ ।
बेलायतमा नेपालीहरु स्थायी रुपमा बस्न थालेपछि विभिन्न जातजातिहरुले आफ्नो भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्नका लागि परम्परानुसार विभिन्न कार्यक्रमहरु गर्ने क्रममा बेलायतमा रहेका गुरुङहरुले धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ ल्होछार/ल्होसार मनाउन लागेका हुन् ।
ल्होछार/ल्होसार गुरुङहरुको मौलिक पर्व हो । विदेशी भूमिमा समेत यसलाई आजभन्दा २० वर्षअघि तमुधिं यूकेले औपचारिक कार्यक्रम आयोजना गर्दै मनाउन थालनी गरेको हो ।

पछिल्लो समय तमुधिं यूकेका विभिन्न इकाईहरुले समेत मनाउँदै आएको छ भने बेलायतमा रहेका विभिन्न टाउनमा बसोबास गर्ने गुरुङहरुले विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् । त्यस्तै, विभिन्न गाउँ, टोल, जिल्ला र क्षेत्रको नामले स्थापना भएका संघसंस्थाहरुले समेत ल्होछार/ल्होसारलाई विशेष प्राथमिकतामा दिने गरेका छन् ।






