एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा सक्रिय तमुधिं यूकेले तमु (गुरुङ) हरुको महान् पर्व ल्होछारको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

गत शनिबार १४ डिसेम्बर २०१९ का दिन मिचेटस्थित तमुधिं भवनमा ल्होछारको तयारीबारे व्यापक रुपमा छलफल गर्दै बैठकले ल्होछारको तयारी पूरा भएको निष्कर्ष निकालेको हो । आगामी २८ डिसेम्बर शनिबार दिन रेडिङ्गस्थित रिभरमेड लेजर सेन्टरमा मनाउन लागेको ल्होछार कार्यक्रमको अन्तिम तयारी बैठकमा तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक हित काजी गुरुङले ल्होछारलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि वर्किङ्ग कमिटीले आ–आफ्नो स्थानबाट काम गरिरहेको बताउँदै ल्होछारमा निमन्त्रणा गरिएका र पाहुनाहरुको बारे जानकारी दिएका थिए ।
फो ल्होलाई बिदाई गर्ने र च्यु ल्होलाई स्वागत गर्नका लागि आयोजना गर्न लागिएको ल्होछार कार्यक्रमलाई मनोरञ्जनपूर्ण रुपमा सम्पन्न गर्नका लागि नेपालबाट चर्चित गायिका तारा श्रीष, गायक राजन गुरुङ र तिलक गुरुङ २३ डिसेम्बरका दिन बेलायत आउने निश्चित भइसकेको तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष गुरुङले जानकारी दिए । उनले नेपालबाट आउने कलाकारहरु लगायत स्थानीय कलाकारहरुको समेत विशेष सांगीतिक प्रस्तुति हुने बताए ।
बैठकमा ल्होछारलाई भव्य रुपमा सफल बनाउनु पर्नेमा जोड दिँदै विशिष्ट पाहुना, कलाकार, तमुधिं यूकेको मुख पत्र फ्रेंसी, डा. हर्क गुरुङ अवार्ड, वर्किङ्ग कमिटिको भूमिका, आमा समूहको भूमिका, इकाईको भूमिकालगायत विषयमा छलफल गरेका थिए ।
तमुधिं यूकेले सन् २००० देखि तमुहरुको मौलिक पर्व ल्होछारलाई प्रत्येक वर्ष विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै आएको छ । ल्होछारमा सबैको सहभागीता होस् भन्ने उद्देश्यअनुरुप बेलायतका विभिन्न सहरहरुबाट सिधैं बसको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले बैठक सञ्चालन गरेका थिए ।





