एटा संवाददाता ।
लण्डन । अत्यन्त मिठो स्वरकी धनी गायिका तारा श्रीष लण्डन आएकी छन् । उनी तमु धिं युकेको बिशेष निमन्त्रणामा बेलायत आएकी हुन् । थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिइसकेकी सफल गायिकाले तमु धिं युकेद्वारा आउँदो शनिबार २८ डिसेम्बरका दिन रेडिङ्गमा आयोजना गर्न लागेको च्यु ल्होछारको बिशेष कार्यक्रममा आप्mनो प्रस्तुति दिनेछिन् । उनलाई स्वागत गर्नका लागि तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकार एवं गीतकार पूर्व प्रअ एकेन्द्र गुरुङ र सदस्य श्रीप्रसाद गुरुङ सोमबार बेलुकी हिथ्रो एयरपोर्ट पुगेका थिए ।
थुप्रै नेपाली गीत गाएर दर्शक तथा श्रोताहरुको मनजित्न सफल गायिका श्रीषले कौडा, सालैजो गाउनुको साथसाथै थुप्रै गुरुङ चलचित्रको गीतमा स्वर दिई सकेकी छन् । उनले गाएको ‘ओ ङोल्स्यो ओ ङोल्स्यो’ बोलको गुरुङ भाषाको गीत गुरुङ समुदायमा अत्यन्त लोकप्रिय छ । स्टेज प्रस्तुतिमा धेरैजसो दर्शकलाई नचाउन सफल हुदैआएकी गायिका श्रीषले शनिबार रेडिङ्गमा आयोजना हुने गुरुङहरुको बिशेष पर्व ल्होछारमा जोडदार प्रस्तुति दिने आयोजक तमु धिं युकेको भनाई छ । सोही ल्होछार कार्यक्रममा लागि गायक तिलक गुरुङ मंगलबार बिहान लण्डन उत्रदै छन् भने बिहिबार गायक राजन गुरुङ पनि लण्डन आउँदै छन् ।
नेपाली समुदाय बेलायतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तमुधिं युकेले १९ औं ल्होछार विविध कार्यक्रमका साथ मनाउन लागेको हो । तमुधिं युकेले प्रत्येक बर्ष करिब १२/१३ हजारको उपस्थितिमा गोर्खा कप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ भने ७/८ हजारको सहभागीतामा नेपाली मेलाको आयोजना गर्दै आएको छ । साथसाथै थुप्रै च्यारिटीमूलक कार्यक्रमहरुको समेत आयोजना गर्दैआएको छ ।
नेपालबाट आएका कलाकार र स्थानीय नेपाली कलाकारहरुको गीत तथा नृत्य प्रस्तुतिका साथ सम्पन्न हुनलागेको उक्त ल्होछार कार्यक्रममा उपस्थिति भईदिनहुनका लागि बेलायतवासी सम्पूर्ण तमु लगायत नेपाली दाजुभाइ दिदिबहिनीहरुमा आयोजक तमु धिं युकेले हार्दिक अनुरोध गरेको छ ।










