दीपेन्द्र राई
‘गाह्रो छ,’ ४७ जना छोराछोरीका ४० वर्षीया आमा जुनु पुनमगरले मुख खोलिन्, ‘एकजना छोरा वा छोरीको जीवन बनाउन त सम्बन्धित अभिभावकलाई गाह्रो हुन्छ भने ४७ जना छोराछोरीको आमा बन्न त्यति सजिलो छैन ।’

त्यसो भए ४७ जना छोराछोरीको पालनपोषण र शिक्षादीक्षाका लागि एउटी आमाले कसरी धानेकी होलिन् ? प्रश्न उठ्नु स्वाभाविकै हो । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने प्रचलित उखानझैं मगरले वास्तविक आमा हुनुको सुख–दुःख झेलेकी छन् । ‘कसैले आफ्नो जन्मदिनको अवसर पारेर संस्थाको नाममा पैसा पठाइदिन्छन्,’ उनले खुसी व्यक्त गरिन्, ‘दुई हजार पाँच सयको केक र त्यति नै रुपैयाँबराबरको मासु किन्छौं । उत्सव मनाउँदै खुसियाली साट्छौं । जन्मोत्सव मनाउन प्राप्त केही रुपैयाँ बचाउन सक्यौं भने एउटा खाना पकाउने ग्यास वा एक बोरा चामल किन्छौं ।’
सहृदयी मनकारीको सहयोगले ४७ जना बालबालिकाले जीवन पाइरहेका छन् । जीवनको गोरेटो पहिल्याउन लागिपरेका छन् । द्वन्द्वपीडित, भूकम्पपीडित र अभिभावकविहीन बालबालिकालाई वास्तविक जीवनपथमा डोर्याउन पटक्कै सजिलो छैन । ‘कहिलेकाहीं असाध्यै गाह्रो हुन्छ । तपाईंसँग कुराकानी (२०७६ पुस २५ गते) गरिरहँदा चामल सकिँदै गएको छ,’ समाजसेवी मगरले नलुकाई भनिन्, ‘म आत्तिएकी छैन । मलाई विश्वास छ, मनकारी सहयोगी भेटिनेछन् ।’
संवत् २०६४ मा एकीकृत सृजनशील समाज नेपाल स्थापना भयो । उसले ०६९ मा १७ जना द्वन्द्वपीडित तथा अभिभावकविहीन बालबालिकालाई आश्रय दिन थाल्यो । त्यही संस्थामा हिजोआज ४७ जनाले आश्रय लिइरहेका छन् । संस्थापकले जुनु पुनमगरलाई स्वागत गरे । उनी संस्थामा आबद्ध भइन् ।
‘त्यतिबेला ?,’ उनले थपिन्, ‘संस्थाको अवस्था कमजोर थियो । म जोडिएपछि सञ्चारकर्मीसँग गुहार मागें । सबैले सकारात्मक सहयोग गर्न थाले । हिजोआज पनि गरिरहनुभएको छ । सहयोगीको सहयोगले जुनु पुनमगर ४७ जनाकी आमा भनिनयोग्य भएकी छन् ।’
रोल्पा, रुकुम, मुगु, कैलाली, हुम्लालगायत १२ जिल्लाका बालबालिकालाई आश्रय दिएको संस्थाले २८ छोरा र १८ छोरीको पालनपोषणमात्रै होइन, शिक्षादीक्षा दिँदै आएको छ । संस्थामा द्वन्द्वपीडित बालबालिकाको बाहुल्य छ । त्यसो हुनुको कथा त्यत्तिकै तीतो छ । ‘संस्थामा तात्कालिक माओवादीका पूर्वलडाकुहरू पनि हुनुहुन्छ,’ उनले खुलस्त पारिन्, ‘उहाँहरू घर पुग्दा आफन्तविहीन, सहिदका छोराछोरीले हाम्रा बाआमा खोई ? भन्दै सोध्थे । तपाईंहरू अर्कोपटक घर आउँदा हाम्रा बाआमा पनि ल्याइदिनू है भन्थे । त्यस्तो कारुणिक अनुरोध सुनेपछि संस्थापक दाइहरूले उनीहरूलाई प्राथमिकतामा राख्नुभएको हो ।’
संस्थाको मासिक खर्च ५ लाख रुपैयाँभन्दा बढी छ । ‘एकजनालाई मासिक ९ हजार खर्च लाग्छ । ९ हजारका दरले ४७ जनाको मासिक खर्च ४ लाख २३ हजार हुन्छ । कार्यालयीय र कर्मचारीसहितको खर्च जोड्दा मासिक ५ लाख रुपैयाँले पुग्दैन ।’
कतिपय अवस्थामा असाध्यै गाह्रो हुन्छ । त्यतिबेला ऋण खोज्नुको विकल्प हुँदैन । ऋणले पनि धानेन भने उनले घरपरिवारसँग सहयोग माग्छिन् । ‘अहिले खाद्यपसलमा संस्थाले ८० हजार बुझाउन बाँकी छ । दैनिक एक बोरा चामल सकिन्छ,’ उनले वास्तविकता बताइन्, ‘मासिक ६–७ वटा ग्यास चाहिन्छ । जाडोमा त त्यतिले पनि पुग्दैन । हामीले एकैपटक ३०–४० बोरा चामल किन्छौं । बोराका बोरा दाल चाहिन्छ । चाउचाउ खाजा खाने हो भने एकपटकलाई दुई काटुन चाहिन्छ । तीन दर्जनभन्दा बढी त बिस्कुट नै चाहिन्छ ।’
जब सात बोरा चामल बाँकी रहन्छ नि, तब उनी तनावमा हुन्छिन् । संस्थागत तनाव जतिसुकै भए पनि आफूवरिपरि छोराछोरी देखेपछि उनी खुसी हुन्छिन् । छोराछोरीका माया उनलाई तनाव व्यवस्थापन गर्ने ‘क्याप्सुल’ बनेको छ ।
जेठो छोरा उज्ज्वल बुढामगरले बुहारी भित्र्याइसकेका छन् । नातिनी एक वर्षकी भइसकिन् । जुनुले आमामात्रै होइन, हजुरआमासमेत बन्ने शौभाग्य पाइन् । स्नातक गरेका उज्ज्वल वैदेशिक रोजगारीका लागि विदेश जाने अन्तिम तयारीमा छन् ।
सहिद परिवारका मगरले बुवाको अनुहार देख्न पाएनन् । आमाले दोस्रो बिहे गरिन् । त्यतिबेला बाटो हराएका यात्रुजस्तै बनेका उनलाई संस्थाले नयाँ जीवन दियो । जन्म दिने आमाबाबुको अनुहारसम्म नदेखेका उनी जुनु पुनमगरजस्ती ममतामयी आमा पाउँदा कम्ती खुसी छैनन् । जुनुले चेतना बुढामगरको पनि बिहे गरिदिइन् । एसईई तयारी गर्दागर्दै चेतनाले बिहे गर्छु भनेपछि उनले नाइँ भन्न सकिनन् ।
६ देखि १८ वर्षीय छोराछोरीले घेरिएकी उनले शैक्षिक अध्ययन अतिरिक्त निशा रोकामगर र अनुप घर्तीमगरलाई ‘ट्राभल’सम्बन्धी तालिम गराउँदै आएकी छन् । ११ कक्षामा अध्ययनरत मगरद्वयले उनीहरूकै रुचिअनुसार तालिम गरिरहेका हुन् । शैक्षिक अध्ययनसँगसँगै उनीहरूलाई सीप सिकाउन लागिपरेकी छन् ।
जनवादी कलाकार, समाजसेवी, भलिबल खेलाडीको फराकिलो परिचय बनाएकी जुनु विभिन्न संघ–संस्थामा आबद्ध छिन् । त्यही परिचय र उपस्थितिले उनलाई सहयोग गर्नेको कमी छैन । संस्थागत कामकाजको बाँडफाँड गरिएको छ । ‘अध्यक्षज्यूले प्रशासनिक काम हेर्नुहुन्छ । उपाध्यक्षज्यू होस्टेल इन्चार्जको भूमिकामा हुनुहुन्छ,’ उनले जानकारी गराइन्, ‘मचाहिँ आर्थिक पाटो हेर्छु ।’
कसको कपडा, जुत्ता, मोजा फाटेको छ । कसलाई के चाहिएको छ ? त्यसको व्यवस्थापन उनैले गर्नुपर्छ । सबैका ममतामयी आमालाई ४७ जना छोराछोरीको नाम कण्ठ छैन ।






