एटा संवाददाता
लन्डन । घान्द्रुक समाज यूकेले घान्द्रुक गाउँको विकासमा हातेमालो गर्दै आएका मेजर जुद्धबहादुर गुरुङ र लोकगायक राजन गुरुङलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको छ ।

ग्रामीण पर्यटकीय स्थल घान्द्रुक पुख्र्यौली गाउँ भई हालै लामो समय ब्रिटिस गोर्खा सैनिकमा बिताएका जुद्ध गुरुङ पछिल्लो समय भूतपूर्व गोर्खाजहरुको समस्या समाधान गर्न बनेको टाक्स फोर्समा समेत आबद्ध छन् । उनी गाउँको विकासमा समेत आवद्ध हुँदै आएका छन् ।
त्यस्तै, राजन गुरुङ नवलपरासीमा हुर्किएका हुन् । उनले पुख्र्यौली गाउँ घान्द्रुकको परिचय झल्काउने विभिन्न गीतहरु गाउनुका साथै दर्शक तथा स्रोताहरुको रोजाई बन्न सफल ‘उही खोलीको पानी उही खोलीको माछा….’ बोलको गीत गाएर आपूmलाई सफल लोकगायकको रुपमा उभ्याउन सफल भएका छन् ।
बेलायतवासी घान्द्रुकेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा हाल बेलायत रहेका मेजर गुरुङ र तमुधिं यूकेको निमन्त्रणामा बेलायत आएका गायक गुरुङलाई घान्द्रुक समाज यूकेले गत आइतबार १२ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा निमन्त्रणा गरी बेलायतवासी घान्द्रुकेहरुले एकअर्कामा गाउँको बारेमा भलाकुसारी गरेका थिए ।
सो अवसरमा मेजर गुरुङले गाउँको अवस्थाबारे चर्चा गर्दै कादुरी एडमार्फत गाउँमा ४/५ फूल निर्माण भएका बारे स्लाइड शोमार्फत एक प्रस्तुति दिएका थिए । त्यस्तै, गायक राजन गुरुङले विभिन्न चर्चित गीतहरु गाएर मनोरञ्जन गराएका थिए ।
घान्द्रुक समाज यूकेका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न भेटघाटलाई समाजका महासचिव रोशन र सचिव राजकुमार गुरुङले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।






