एटा संवाददाता
लन्डन । तमुधिं यूकेले हालै सम्पन्न ल्होछार कार्यक्रमको समीक्षा सँगै नेपालबाट आएका कलाकारहरुको बिदाइ गरेको छ ।

गुरुङहरुको महान् पर्व च्यु ल्होछारको अवसरमा विशेष प्रस्तुतिका लागि तमुधिं यूकेको निमन्त्रणामा आएका गायक तिलक गुरुङ, राजन गुरुङ र गायिका तारा श्रीसलाई तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले ल्होछारको समीक्षा बैठकपश्चात् प्रशंसापत्रसहित गत शनिबार ११ जनवरीका दिन तमुधिं भवन मिचेटमा खादा लगाई बिदाइ गरेका हुन् ।
तमुधिं यूकेले गत २८ डिसेम्बरका दिन रेडिङ्गमा तमु ल्होछार कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उनीहरुको विशेष प्रस्तुति रहेको थियो ।
त्यस्तै, तमुधिं यूकेअन्तर्गत साउथ ईस्ट रिजनल तमुधिं यूके, तमुधिं लन्डन एकाई र सोंपाल समाज यूकेमा समेत उनीहरुले आ–आप्mना गीत प्रस्तुति दिएका थिए ।
बिदाइको क्रममा नेपालको सांगीतिक क्षेत्रमा आ–आफ्ना परिचय बनाइसकेका कलाकारहरुले तमुधिं यूकेले आपूmहरुलाई निमन्त्रणा गरेकोमा विशेष धन्यवाद दिँदै अनुभव, पाएको माया तथा स्नेहको प्रशंसा गर्दै आ–आफ्नो प्रस्तुति हेरिदिएकोमा सम्पूर्ण दर्शक तथा स्रोताहरुलाई समेत विशेष धन्यवाद दिए । सो अवसरमा उनीहरुले विभिन्न चर्चित गीतहरु प्रस्तुत् गरे ।
गत २८ डिसेम्बर २०१९ मा सम्पन्न ल्होछारको समीक्षा गर्न बसेको तमुधिं यूकेको बैठकमा ल्होछार कार्यक्रम सम्बन्धी व्यापक रुपमा छलफल गरिएको थियो । साथै, बैठकमा तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले ल्होछारको बारेमा र कोषाध्यक्ष कुमार गुरुङले आम्दानी तथा खर्चको जानकारी दिएका थिए । त्यस्तै, मिडिया सेक्रेटरी रोहित गुरुङले तमुधिं यूकेको वार्षिक मुखपत्र ‘फ्रेंसी’ प्रकाशनबारे जानकारी दिएका थिए ।
ल्होछार कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउनु पर्नेमा जोड दिँदै कार्यसमितिका पदाधिकारी, सल्लाहकार, आमा समूह, युवावर्ग र आजीवन सदस्यहरुलाई विभिन्न राय, सल्लाह र सुझावहरु दिइएको थियो ।
तमुधिं यूकेले आयोजना गर्दै आएको विभिन्न कार्यक्रममध्ये ल्होछारलाई विशेष रुपले मनाउने गर्दछ । ल्होछार गुरुङहरुको मौलिक र सांस्कृतिक पर्व हो । गोर्खा कप र नेपाली मेलामा जतिकै सहभागिता नभए तापनि यसको आफ्नो गरिमा रहेको छ ।
तमुधिं यूकेका सिंगो कार्यसमिति, सल्लाहकार, आजीवन सदस्य, आमा समूह, युवा लगायतको विशेष उपस्थिति रहेको बैठकमा सफलतापूर्वक ल्होछार कार्यक्रम संयोजन गरेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङलाई अध्यक्ष नन्दजंग गुरुङले खादा लगाई बधाई तथा धन्यवाद दिएका थिए ।
तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव तुलाराम गुरुङले बैठक सञ्चालन गरेका थिए ।






