लन्डन । बेलायतको अल्डरसट र फार्नबरो इलाकामा बसोबास गर्ने आफ्ना नातेदारबाट टाढा रहेका पाकापुस्ता भूतपूर्व सैनिक र उनीहरुका परिवारहरु रमाउने ठाउँ हो, गोर्खा चौतारी अल्डरसट । मे २०१८ देखि प्रत्येक मंगलबार दिउँसो १२ देखि ३ बजेसम्म उनीहरुको मनोरञ्जनको लागि नेपाली फिल्म, चिया कफी बिस्कुट, विभिन्न प्रकारका टेवल गेमहरु र विशेष गरेर उनहरुलाई प्राप्त भएका चिठीपत्रहरु पढेर व्याख्या गरिदिने काम पनि यहाँ हुँदै आएको छ । वेन्थे स्वल र क्या.रि. बिष्णु श्रेष्ठ को–फाउण्डर रहेको सो चौतारी कार्यक्रममा १४ जना स्वयंसेवकहरु क्रियाशील रहेका छन् । उनीहरुकै सक्रियतामा नै चौतारीका कार्यक्रमहरु सुचारु रुपले अघि बढिरहेको छ ।
गोर्खा चौतारी अल्डरसट ग्रेटर रस्मुर नेपाली कम्युनिटी अन्र्तगतको संगठन हो । चौतारीको स्थापनामा ग्रेटर रस्मुर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, वर्तमान अध्यक्ष रामधन राई लगायतको विशेष भूमिका रहेको छ र उनीहरु सबै धन्यवादका पात्रहरु हुन् ।
स्थानीय काउन्सिलर आलेक्स क्राउफोर्ड र रोटरी क्लब अफ फार्नबारोको आर्थिक सहयोगबाट सुरु भएको चौतारी कार्यक्रमलाई डिसेम्बर २०१८ देखि भूतपूर्व सैनिक, स्थानीय रेस्टुराँ व्यवसायी तथा समाजसेवी शेरबहादुर सुनारको विशेष सक्रिय सहयोग र अन्य स्थानिय नेपाली व्यवसायीहरु, युरोपा क्यास एण्ड क्यारी, मोमो स्टेशन, प्यालेस, ओजन, क्वालीटी स्टोर्स, नमस्ते क्यास एण्ड क्यारी, दिप ज्वलर्स, गोर्खा ट्राभल, गोर्खा किचन, न्यू लक्ष्मी ज्वलर्स र एभरेस्ट ट्राभल्सका संचालक महानुभावहरुको आर्थिक सहयोगबाट संचालनमा रहेकोमा उनीहरुकोप्रति आभार व्यक्त गरिएको जनाइएको छ । उनीहरुको सहयोग पूर्ण पारदर्शी रुपले सतप्रतिशत सदुपयोग भएको पनि जानकरी दिइएको छ । र, निरन्तरताको अपेक्षा समेत गरिएको चौतारीको भनाइ छ ।
नववर्ष २०२० सँगसँगै चौतारी कार्यक्रम अल्डरसटको क्विन्स रोडमा रहेको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अथवा शिव मन्दिरको हलमा साविकै समयमा सञ्चालन हुन गइरहेको समेत जानकारी दिइएको छ । चौतारीको लागि हल उपलब्ध गर्नमा सहयोग गर्ने समितिका पदाधिकारी महानुभावहरु र विशेष गरेर निवर्तमान अध्यक्ष रोहित गुरुङ, अध्यक्ष भीम बानियाँ र महासचिव विक्रम भट्टराईप्रति आभार व्यक्त गरिएको चौतारीले जनाएको छ । त्यस्तै, हल उपलब्ध गराएर सहयोग गराउँदै आएका एम्पायर हल अल्डरसटको संचालक पुरन गिरीलाई पनि धन्यवाद ज्ञापन गरिएको चौतारीले जानकारी दिएका छन् ।






