नगेन्द्रराज नेम्वाङ
तुलनात्मक रुपमा जीवन र मृत्यु उस्तै उस्तै हुन् । जीवन र मृत्यु रोज्नु पर्दा जुनै रोजे पनि हुने बताउँछन् दार्शनिकहरु । मृत्यु जीवनको अर्को पाटो हो । जीवन दिन हो भने मृत्यु रात हो । रातपछि दिन अर्थात् दिनपछि रात भएजस्तै जीवनपछि मृत्यु, मृत्युपछि जीवन पृथ्वीको गोलाद्र्ध घुमेजस्तै घुमिरहन्छ ।

जीवन काम गर्ने ठाउँ हो भने मृत्यु आराम गर्ने ठाउँ घरजस्तै हो । दिनभरी काम, रात परेपछि घर फर्केर आराम गरेजस्तै हो । जीवन भनेको शरीर, मन र आत्मा ३ चिजको समायोजन हो । शरीर मरेर गए पनि आत्मा जीवित रहन्छ ।
जीवनमा पनि आत्मा रहन्छ र मृत्युमा पनि । जीवन पीडादायक हुन्छ । पारिवारिक, सामाजिक, राजनैतिक समस्याहरुमा फसिने संभावना बढी हुन्छ । शरीरलाई रोग लाग्दछ । रोगी शरीर लिएर बाँच्नु अति नै पीडादायक हुन्छ । जीवनमा मान्छेले शिक्षा, सम्पत्ति, मान, प्रतिष्ठा आर्जन गर्नुको अन्तिम उद्देश्य भनेको आनन्दसँग जीवन बिताउनु नै हो ।
स्वस्थ र आनन्दित जीवन बिताउन प्राकृतिक जीवनशैली, बाँच्ने कला लगायत अपनाउनु पर्ने हुन्छ ।
प्राकृतिक जीवनशैलीमा स्वस्थकर भोजन सेवन गर्नु पर्ने हुन्छ । नियमित व्यायाम, गहन आराम, प्रशस्त पानी पिउनु पर्दछ । स्वस्थ र आनन्दको सम्बन्ध अध्यात्मसँग जोडिएको हुन्छ ।
जीवन र मृत्युजस्तै संसार पनि दुई किसिमका हुन्छन् । भौतिक संसार र आध्यात्मिक संसार । जति पनि आँखाले देखिएका बस्तुहरु सबै भौतिक हुन भने योग, ध्यानको माध्यमबाट आफूलाई चिन्नु आनन्द प्राप्ति नै आध्यात्मिक संसार भनिने गरिएको छ ।






