तामाङ सोसाईटी यूकेले विविध सांस्कृतिक कार्यक्रमका साथ सोनाम ल्होसार मनायो

SHARE:

गायक राजु लामाको स्वरमा झुमे दर्शक
नगेन्द्रराज नेम्वाङ
अल्डरसट । तामाङ सोसाईटी यूकेले मौलिक एवं सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होछार विविध कार्यक्रमका साथ मनाएको छ ।

गत २५ जनवरी शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा ल्होछार मनाइएको हो । विविध सांस्कृृतिक कार्यक्रमका साथ मनाइएको कार्यक्रमलाई प्रमुख अतिथि एवं नेपाली राजदूत डा. सुवेदी, सोसाईटीका जेष्ठ नागरिक तास्सि तामाङ र सोसाईटीकी अध्यक्ष अञ्जु योञ्जन तामाङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

नेपाल र बेलायतको राष्ट्रिय धुन बजाई सुरु भएको कार्यक्रममा नेपालको विकट क्षेत्रमा रहेका गरिब विद्यार्थीहरुलाई एक हजार पाउन्डभन्दा बढी सहयोग गर्ने दाताहरुलाई सोसाईटीले खादा लगाई कदर पत्रसहित सम्मान गरेको थियो ।

बेलायतवासी तामाङहरुको बाक्लो उपस्थिति रहेको सोनाम ल्होसार कार्यक्रममा डेन्टल क्लिनिक क्याम्बर्लीका डा. निसानी, शेर्पा एशोसिएसन यूकेका अध्यक्ष साना शेर्पा, किरात राई यायोक्खा यूकेका उपाध्यक्ष चन्द्र राई, तामाङ समाज यूकेका सल्लाहकार धन पाख्रिन, पिपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्य गुरुङ, न्यू लक्ष्मी ज्वलेर्सका दिपेश लामा, किरात याक्थुङ चुम्लुङ यूकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो । लामा गुरुहरु लामा लोपेन सेख, लामा प्रेम तामाङ, खेन्पो निमा सिङ्घी, रिन्पुछेद्वारा पूजा अराधना गरी धार्मिक पूजापाठ सम्पन्न भएको थियो ।

सोसाईटीकी अध्यक्ष तामाङले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई स्वागत गर्दै सोनाम ल्होसारको शुभकामना दिएकी थिइन् । सो अवसरमा नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आशनबाट बोल्दै, ‘सोनाम ल्होसार तामाङहरुका मात्र पर्व नभएर सम्पूर्ण नेपालीहरुको हो’भन्दै बेलायतमा नेपालीहरुले एकअर्कामा एकता बढाउँदै सानो नेपाल खडा गर्ने विश्वास व्यक्त गरे ।

साथै, उनले सोसाईटीले नेपालका गरिब विद्यार्थीहरुलाई गर्दै आएको आर्थिक सहयोगका लागि अध्यक्ष लगायत सोसाईटी परिवारलाई बधाई तथा धन्यवाद दिए । उनले भिजिट नेपाल २०२० लाई सफल बनाउन एकजना ब्रिटिस साथीलाई नेपाल भ्रमण गराउन र आफू पनि भ्रमण गर्न पुन: आग्रह गरे ।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकारहरुद्वारा तामाङ सेलो नृत्य प्रस्तुत् गरेका थिए भने मंगोलियन हार्टका चर्चित गायक राजु लामाले विभिन्न मंगोलियन व्याण्डका गीत गाएर कार्यक्रममा रौनकता बढाएका थिए ।

सोसाईटीकी अध्यक्ष अञ्जु योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव ज्ञान तामाङले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमलाई मणि मोक्तान र भाविका मोक्तानले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!