
कास्की । प्रथम मादी डान्स आइडलको उपाधि मादी ८ की सोफी शाहीले जितेकी छन् । उपाधिसँगै सोफीले नगद १ लाख पुरस्कार, ट्रफी र प्रमाणपत्र तथा म्युजिक भिडियोमा अवसर पाएकी छन् भने एक वर्षसम्म आइडल भत्ता बापत मासिक २ हजारका दरले थप २४ हजार पाउने छिन् ।
कास्कीको मादी गाउँपालिकाभित्रका १२ वटा वडाका नयाँ प्रतिभाहरुको खोजी गरी उनीहरुको प्रतिभा विश्वसामु चिनाउन सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन भएको थियो । आइडलमा मादी गाउँपालिका वडा नम्बर २ का प्रतियोगी नम्बर १४१ अर्पिता गुरुङ फष्ट रनरअप हुन सफल भइन् । अर्पिताले नगद ५० हजार पुरस्कार, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाइन् ।
यस्तै वडा नम्बर २ कै प्रतियोगी नम्बर १३२ कुशुम गुरुङ सेकेन्ड रनरअप हुन सफल भइन् । कुशुमले नगद २५ हजार ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोमा अवसर पाइन् । भने प्रतियोगि नम्बर १३९ ससिमाया गुरुङले उत्कृष्ट भेषभुषाको उपाधि जितेकी छन् । प्रतियोगितामा उत्कृष्ट नृत्यनिर्देशकको उपाधि निरज राईभाट र कमल गुरुङले जिते ।
यस्तै मादी वडा नम्बर २ का ललित गुरुङलाई नगद ३ हजारसहित प्रोत्साहन पुरस्कारले सम्मान गरिएको छ ।

तस्बिर : दिलु कोन्मे तमू
प्रतियोगिताको फाइनलिष्ट २० जनालाई नै नगद ३ हजार सहित प्रमाण–पत्र प्रदान गरिएको थियो भने आदिम कला मञ्चको तर्फबाट छ महिनाको निःशुल्क नृत्य प्रशिक्षणको मौका र ट्रफी प्राप्त गरेका छन् ।
गत वैशाख महिनाबाटै गाउँपालिकाको विभिन्न वडाहरुमा गएर वडा अध्यक्षको रोहबरमा १ देखि १२ सम्म १२ वटा आईडको अडिसन सञ्चालन गर्त उपसमितिहरु गठन भएको थियो भने भदौ १ बाट पहिलो चरणको अडिशन शुरु भएको थियो ।






