सामाजिक सेवामा सक्रिय रहँदै आएको युके नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगका अध्यक्ष गंगा गुरुङ तथा उनकी धर्मपत्नी निर्मला गुरुङले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–१ कटुजेस्थित अमोर सेवा नेपाल बालगृहलाई नगद रु १,७१,५८० (एक लाख एकहत्तर हजार पाँच सय अस्सी) सहयोग प्रदान गरेका छन्।
उक्त सहयोग रकम बालगृहकी अध्यक्ष कमला पराजुलीलाई एक कार्यक्रमबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। बालगृहमा आश्रित बालबालिकाको पालनपोषण, शिक्षा तथा आवश्यक दैनिक व्यवस्थापनका लागि सहयोगस्वरूप उक्त रकम प्रदान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।
स्याङ्जा जिल्लाको काउले, कोल्मा बहाकोटमा जन्मिएका गंगा गुरुङ पूर्व गोर्खा सैनिकसमेत हुन्। सानैदेखि समाजसेवामा रुचि राख्ने गुरुङले विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। हाल उनी आफ्नो परिवारसहित बेलायतमा बसोबास गर्दै आएका छन्।
मातृभूमिप्रतिको माया र समाजप्रतिको उत्तरदायित्वलाई मनन गर्दै नेपालका बालबालिका तथा सामाजिक संस्थाहरूलाई सहयोग गर्ने उद्देश्यले उनले युके नेपाल अन्तर्राष्ट्रिय बडीबिल्डिङ लिगमार्फत सहयोग प्रदान गरेका हुन्। गुरुङले नेपालमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकाको भविष्य उज्ज्वल बनाउन समाजका विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए।
“विदेशमा बसे पनि आफ्नो देश र समाजप्रतिको जिम्मेवारी कहिल्यै बिर्सनु हुँदैन,” उनले भने, “बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता संस्थाहरूलाई सहयोग गर्नु सबैको दायित्व हो।”
कार्यक्रममा बोल्दै अमोर सेवा नेपाल बालगृहकी अध्यक्ष कमला पराजुलीले सहयोगका लागि गंगा गुरुङ तथा निर्मला गुरुङप्रति आभार व्यक्त गरिन्।






