घलेगाउँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा ‘प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगिता’ आयोजना गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पञ्चकन्या गाउँपालिकाले यही माघ २५ देखि २८ गतेसम्म भलिबल प्रतियोगिता गराउन लागेको हो । प्रतियोगिता पूर्वप्रधानमन्त्री एवं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा संघीय सासद हितबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, प्रदेश सांसद बद्री मैनाली लगायतले सहभागिता जनाउनेछन् ।
आयोजकले सो प्रतियोगितालाई नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय भनेको छ । प्रतियोगिता पञ्चकन्या गाउँपालिका २ कविलासको कालिका माविको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताका लागि ‘खेलकुदमार्फत सम्बन्ध वृद्धि, स्वस्थ जनशक्ति, पर्यटन, विकास र समृद्धि’ नारा तय गरिएको छ । खेलकुद उद्घाटन कार्यक्रममा सहभागी हुन गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले स्थानीयसहित सबैमा आग्रह गरेका छन् ।

चेयरमेन कपको तयारी सम्बन्धमा मंगलबार गाउँपालिकाको अस्थायी कार्यालय रहेको घलेभञ्ज्याङमा विभिन्न शाखा तथा उपशाखाका प्रतिनिधिहरुबीच छलफल तथा अन्तर्किया भएको वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए ।
सो प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने भनिएकोमा प्रविधिक समस्या भन्दै २५ गतेलाई सारिएको हो ।








