
एटा संवाददाता
अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसटस्थित वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) मा विपसना मेडिटेसन (ध्यान) बारे जानकारी दिइएको छ । विगत ३ वर्षदेखि प्रत्येक आइतबार बिहान ७ बजेदेखि ८ बजेसम्म बिसीसी गुम्बा परिसरमा अल्डरसट मेडिटेसन ग्रुपको संयोजनमा मेडिटेसन गराउँदै आएको छ ।
पछिल्लो समय मेडिटेसनबारे धेरैको चासो बढ्दै गएको सन्दर्भमा विपसना ध्यान केन्द्रले प्रदान गर्दै आएको मेडिटेसनबारे जानकारी गराउने उद्देश्यले गत आइतबार २ फेबु्रअरी बिहानको नियमित मेडिटेसनपश्चात् विपसना मेडिटेसनसम्बन्धी कक्षा लिइसकेका मैया केसी डंगोल, कमल थापा लगायतले सो विपसना मेडिटेशन कहिले र कहाँ हुँदैछ ? कसरी सिट सुरक्षित गर्न सकिन्छ भन्ने लगायत आफूहरुले लिएको अनुभव सुनाएका थिए ।
उनीहरुले विपसना ध्यानका लागि इंग्ल्यान्डको हेरफोर्डसायर र सोफोल्क शहरमा अवस्थित ध्यान केन्द्रमा १० दिनको मेडिटेसन कक्षा सञ्चालन हुँदै आएको छ । त्यसका लागि समयमा नै अनलाईनमार्फत आफ्नो सिट सुरक्षित गराउनु पर्ने उनीहरुले सुझाव दिए ।
साथै, उनीहरुले मिडिटेसनमार्फत आपूmहरुको स्वास्थ्यमा परिवर्तन भएको, शरीर हल्का भएको अनुभव बाँड्दै १० दिन मेडिटेसन कक्षापश्चात् पनि निरन्तर अभ्यास गर्दै जानुपर्ने बताए ।
अल्डरसट मेडिटेसन ग्रुपका संयोजक मेजर हितमान गुरुङले संयोजन गरेको जानकारी कार्यक्रममा विपसना मेडिटेसनबारे विभिन्न सामग्रीहरु समेत वितरण गरिएको थियो ।
सिद्धार्थ गौतम बुद्धले सुरुआत गरेको विपसना मेडिटेसनलाई भारतका एस.एन. गोइन्काले संसारका विभिन्न देशमा ध्यान केन्द्र स्थापना गरेका हुन् । तिनै ध्यान केन्द्रबाट लाखौंजनाले मेडिटेसन गरिरहेका छन् ।






