पुरै डुब्न सके पक्कै मोती ल्याउँछु कि !

SHARE:

दिपा तामाङ, गायिका
गायिका दिपा तामाङ संगीत क्षेत्रमा लागेको ६ वर्ष पुगेको छ । कभर सङ गाउँदै अघि बढेकी दिपाले भर्खरै कमिला र मानिसको तुलनामा लेखिएको गीतको काम सकाएकी छन् । त्यस अलावा अन्य गीतहरूको पनि काम भइरहेको उनी बताउँछिन् । प्रायः युगल गायनमा देखिने दिपा मारुनी गीत “जिन्दगानी दुई दिने”, कभर गीत “लौन मायालुको देशमा”, “छम्म छम्म” जस्ता गीतहरूबाट संगीत क्षेत्रमा धेरैमाझ चिनिने अवसर पाएको ठान्छिन् । संगीत विषयमै मास्टर गर्ने योजनाअनुसार अध्ययनरत इलामकी गायिका दिपा तामाङसँग सांगीतिक यात्राका विषयमा एभरेस्ट टाइम्सका लागि जानु काम्बाङले गरेको कुराकानी ।

हिजोआज नयाँ काम के गर्दै हुनुहुन्छ ?
भर्खरै एउटा कमिला र मानिसको तुलना गरेर लेखिएको गीतको काम सकियो । त्यसको अलावा अन्य गीतहरूको पनि काम भइरहेको छ ।
सांगीतिक कार्यक्रमहरूमा कतिको हिँड्नु हुन्छ ?
कहिलेकहीं उत्सव, मेलाहरूतिर हिँड्नेबाहेक खासै छैन ।
गीत, संगीत क्षेत्रमा लागेको कति भयो र संगीत शिक्षा कोसँग लिँदै हुनुहुन्छ ?
ख्याल ख्यालमा ६ वर्ष पो भइसकेछ यो क्षेत्रमा लागेको । संगीत विषयमै मास्टर गर्ने योजनाअनुसार अध्ययनरत छु । हेरौं समयले के बनाउँछ ।
गायिका भइसकेपछि सबैखालका गीत गाउनु पर्छ भन्छन्, तर तपाईंलाई चाँहि कस्ता खाले गीतहरूले बढी सन्तुष्टि दिलाउँछ ?
यही क्षेत्रलाई रोजेर हिँडेपछि सबै प्रकारका भाबहरूसँग खेल्नै पर्छ नि ! त्यसो त, तै पनि मलाई समय र परिस्थिति अनुसारका गीतहरू मन पर्छ ।
गीत, संगीत रहर गरेजस्तै छ कि गाह्रो छ ?
रहर गरेजस्तो सजिलो त केही पनि नहोला दुनियाँमा, संगीत त झन् सिकेर कहिल्यै नसकिने विषय हो । त्यस हिसाबले त गाह्रो नै छ । एउटा पुरानो गीत छ नि, “गहिराईमा डुब्दै नडुब डुबिसकेको छौं भने मोती नटिपि नफर्क’’ भनेजस्तै गीत, संगीत एउटा यस्तो महासागर हो जहाँ सबैजना मोती ल्याउँछु भनेर नै डुबुल्की मार्छन्, पौडिन जाने पक्कै लिएर आउँछन्, नजाने त्यही हराउँछ । र, म पनि त्यस्तै एक प्रयासरत व्यक्ति हुँ । पुरै डुब्न सके पक्कै मोती ल्याउँछु कि ! हेरौं ।
तपाईंलाई चिनाउने गीत कुन हो ?
हुन त, मेरो सुरुआतका दिनहरूमा पुराना गीतहरू महेन्द्र राई दाजुसँग गितारमा गाउँने गर्थे त्यहीँबाट धेरै जनाको माया, आशीर्वाद पाउन सफल भएको थिएँ । तर पछि रेकर्ड गरिएका गीतहरू चाहिँ मारुनी गीत “जिन्दगानी दुई दिने’’, कभर गीत “लौन मायालुको देशमा’’, “छम्म छम्म’’ र “गुरुङसेनी” जस्ता गीतहरूबाट चाहिँ अझ धेरैमाझ चिनिने अवसर पाए जस्तो लाग्छ ।
हिजोआज गायक÷गायिकाहरू आफैं मोडलिङ गर्न थालेका छन् । तपाईंलाई चाँहि इच्छा छैन मोडलिङमा ?
मोडलिङमा इच्छाभन्दा पनि यसो परिआएको खण्डमा आफ्नै केही गीतमा चाहिँ गरेकी छु । जस्तै “तिम्रो दिलमा बस्न पाँउदा’’, “तिमी छौ र म छु’’, “मेरो गीत, संगीत’’ भन्ने बोलका गीतहरूमा आफैंले कोसिस गरेकी छु ।
आफ्नो सपना पूरा गर्न कत्तिको सजिलो छ ? मनोबल र आत्मा विश्वास हुनुपर्छ, सपना पूरा गर्न सकिन्छ ।
यहाँसम्म आइपुग्दा गीत, संगीत क्षेत्र कस्तो र के हो जस्तो लाग्छ ?
गीत, संगीत तरेर कहिल्यै नसकिने महासागर हो, पढेर कहिल्यै नसकिने खुल्ला किताब हो ।
अहिलेसम्म कति गीत गाईसक्नु भो ?
यति नै भनेर गन्ती त गरेकी छुइनँ तर, लगभग ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर दिइसकेकी छु ।
तपाईंले यही क्षेत्रलाई किन रोज्नु भो ?
म सानै छँदाबाट सारै गीत गाउँथे अरे मेरो आफन्तले भन्नु हुन्थ्यो र पछि बुझ्ने भएपछि साँच्चै गीत, संगीतमै मन गयो अनि लागें ।
तपाईं कसलाई आइडल मान्नु हुन्छ ?
नेपाली गीत, संगीत क्षेत्रलाई आज यहाँसम्म ल्याउन योगदान पु¥याउनुहुने सबै अग्रज व्यक्तित्वहरुलाई नै म आइडल मान्छु ।
हेर्दा राम्री हुनुहुन्छ, प्रेम प्रस्ताव कतिको आउँछ ?
प्राकृतिक नियम नै हो पूmल फुलेको ठाउँमा भमरा त घुम्छ नि तर आफैंले बुझ्नु प¥यो नि ! बिहे कि भविष्य कुन पहिले बनाउने भनेर ।

उहिल्यै हेरी अहिले गीत, संगीत क्षेत्रमा काम गर्न धेरै सजिलो भएर हो कि ! धेरै गायक, गायिका जन्मिरहेका छन् नि ?
अहिले धेरै सजिलो छ । इन्टरनेटको माध्यम र डिजिटल प्रणाली र नेपाली गीत, संगीतमा धेरै विकास भएको छ । उहिल्यै उहिल्यै संगीतकर्मीहरू गाना रेकर्ड गर्न इन्डिया पुग्थे रे भन्ने सुन्दा हामीलाई त कथाजस्तो लाग्छ !
सायद यसैकारणले पनि होला ।
कति वर्षको उमेरदेखि गाउन थाल्नुभो ?
१५ वर्षबाट गीत गाउने थालेकी हुँ ।
कतिपय गायक गायिका परालको आगो झैं, झ्याप्पै चर्चा बटुल्छन् अनि झ्याप्पै निभ्छन् नि ? तपाई कुनामा पर्नु हुन्छ ?
यो क्षेत्रमा राम्रो कला अनि गला भएरमात्र पनि हुँदैन । गीत, संगीतमा अलिकति व्यक्तिगत गुण पनि राम्रो चाहिन्छ । जुन ढुङ्गा टेकेर खोला पार गरिन्छ पछि त्यही ढुङ्गा बिर्सियो भने खोलाले बगाउँछ भनेझैं आफ्नो अतीत भुल्नु हुँदैन । एउटा भनाइ छ नि, ‘सादा जीवन उच्च विचार राखेर अघि बढ्नु पर्छ र निरन्तरता रहनु पर्छ जस्तो लाग्छ ।’
गीत जति राम्रो गाए पनि प्रोमोट गर्न सकेन भने चल्दैन भन्छन् यो चिजले तपाईंलाई कतिको असर गरेको छ ?
गीत बनाउनु र गाउनु आफैंमा खर्चालु विषय हो, अझै बनाइसकेर बजारमा प्रोमोट गर्न सकेन भने चल्दैन सत्य नै हो । र हामीजस्ता संघर्षरत गायक, गायिकालाई यस्ता कुराले असर नगर्ने त कुरै आउँदैन नि । तर, म चाँहि तपाईंहरू सबैजनाको माया र आशीर्वाद पाएको आपूmलाई भाग्यमानी ठानेकी छु्र ।
काठमाडौँ जस्तो ठाउँमा अरु काम पनि पनि गर्नु हुन्छ कि ! गीत गाएरै आर्थिक स्थितिलाई टार्नु हुन्छ ?
संगीत विषय लिएर अध्ययन गरिरहेकी छु । र, यही गीत, संगीतबाट नै अहिलेसम्म चाहिँ आर्थिक समस्या चलाइरहेकी छु । कहिलेकहीं घरबाट पनि ठेलठाल हुन्छ, नत्र त काठमाडौँमा जिउन गाह्रो छ ।
मैले सोध्न भूलेको र तपाईंलाई भनौं लागेको केही कुरो बाँकी भए छोटकरीमा भन्नु सक्नु हुन्छ ।
मेरो मनको कुरा सोधिदिनु हुने एभरेस्ट टाइम्स पत्रिका र आदरणीय नाना गीतकार जानू काम्बाङलिम्बू ज्युलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । मनको कुरो सबै सोधिदिनु भो र मैले पनि मनै हल्का हुनेगरी कुरोहरू राख्न पाएँ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!