पोखरा । पोखराको सहारा एकेडेमीको अक्षयकोषमा बेलायत (यूके), बेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ ।
सहारा क्लबका शुभेच्छुकहरुले शनिबार पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमी अवलोकन गर्दै विभिन्न क्लबलाई १ लाख २० हजार रुपैयाँ अक्षय कोषको लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् । टोलीले थप २० हजार रुपैयाँ भने सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्चसमेत प्रदान गरेको क्लबले जनाएको छ ।
तमुधिं यूकेका उपाध्यक्ष एवं रामबजार सोसाइटी यूकेका पूर्वअध्यक्ष सहारा यूके सदस्य जुमकाजी गुरुङ÷कमला गुरुङले सहारा क्लबले स्थापना गरेको अक्षय कोषमा नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
त्यसैगरी सहारा एकेडेमीका बालकहरुको खाजा खर्चबापत थप १० हजार रुपैयाँ समेत गुरुङ परिवारले सहयोग गरेको हो । तमु समाज बेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ/शर्मिला गुरुङबाट सहारा एकेडेमीको अयक्ष कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । सहारा हङकङका आजीवन सदस्य सन्तोष मल्लले सो अक्षय कोषमा १० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । हङकङ नेपाली युवा समूहबाट कोषमा १० हजार रुपैयाँ सहयोग प्राप्त भएको सहाराले जनाएको छ ।
सहारा क्लब यू्केका सल्लाहकार हरिकुमार श्रेष्ठ/सरिता श्रेष्ठले एकेडेमीका बालकहरुको खाजा खर्चबापत १० हजार रुपैयाँ सहयोग गरेका छन् । सो रकम क्लबका अध्यक्ष केशवबहादुर थापालाई एकेडेमीमा शनिबार नै हस्तान्तरण गरिएको हो ।
तमु समाज बेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ, सहारा क्लब यूकेका सल्लाहकार हरिकुमार श्रेष्ठ, पूर्वखेलाडी प्रसाद गुरुङ सहितका व्यक्तिहरुको करिब ४ दशकपछि भेटघाट भएको सुदर्शन रञ्जितले बताए । सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेका क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
यसैबीच, आउँदो फागुनको तेस्रो सातादेखि आहा रारा गोल्डकप फुटबल प्रतियोगिता पोखरामा हुने भएको छ । प्रतियोगिताबाट बचत हुने रकम क्लबले सहारा फुटबल एकेडेमीमा खर्चिँदै आएको छ ।