नगेन्द्रराज नेम्वाङ
लन्डन, फेल्थाम । नेपालबाट आएकी गायिका मनु नेम्वाङको लिम्बु भाषामा आधारित गीति एल्बम ‘निङ्वारे पान्हा’ मनका कुरा नामक सिडी एल्बम विमोचन भएको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेले गत शनिबार ८ फेब्रुअरीका दिन लन्डनस्थित फेल्थाममा एक भव्य कार्यक्रम आयोजना गरी सो एल्मबम विमोचन
गराएको हो ।
गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रमलाई प्रमुख अतिथि गुरुङ र कियाचु अध्यक्ष तीलबिक्रम सम्बाहाङ्फेले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
कियाचु यूके अध्यक्ष सम्बाहाङ्फे, प्रमुख अतिथि गुरुङ र कार्यक्रम संयोजक नरबीर आङ्बोले संयुक्त रुपमा नयाँ कृति विमोचन गरेका थिए ।
विमोचन कार्यक्रमको शुभअवसरमा माङ्गेना चुम्लुङ यूके पाँचथर समाज सेवा यूके, सेवारो कलाकार संघले गायिका नेम्वाङलाई पुष्पगुच्छा र खादा ओढाई सम्मान गरेका थिए ।
प्रमुख अतिथि गुरुङले शुभकामना मन्तव्यको क्रममा गायिका मनु नेम्वाङको सांगीतिक यात्रा प्रेरणादायक रहेको र आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन् ।
औपचारिक कार्यक्रम समापनपश्चात् गायिका नेम्वाङले हाक्पारे, पालमा, लिम्बु गीत साथै नेपाली गीत गरी दर्जनौं गीतहरु गायिका थिइन् । तीलबिक्रम सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रम संयोजक नरबीर आङ्बोले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी उपाध्यक्ष विमला सेनेले गायिका नेम्वाङको जीवनी तथा सांगीतिक यात्रा कृतिहरु संक्षिप्त वर्णन गरेकी थिइन् भने महासचिव गणेश इजमले कार्यक्रम सञ्चालन गरेका थिए ।






