लहैलहैमा गायन क्षेत्रमा लागेँ : सरिता सारु मगर

SHARE:

‘बाह्र वर्षपछि खोलो फर्किन्छ’ भनेझैं लोक तथा दोहोरी गायिका सरिता सारु मगरको सांगीतिक जीवनमा पनि परिवर्तन आएको छ । १२ वर्षदेखि लोकगीत र दोहोरी गीत गाउँदै हिँडिरहेकी सरिताले ‘यो जिन्दगी के छ र’, ‘तानेर लैजाउँ कि क्या हो’, ‘अभागिनी’ र ‘तिमी अनि म’ गीत बजारमा ल्याइसकिन् भने अरु डेढ दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । एल्बममा गाउनुको अलावा पोखरा चिप्लेढुंगामा अवस्थित निरमाया दोहोरी साँझमा ९ वर्षदेखि गायिकाको रुपमा छिन् उनी । फेवा टेलिभिजनमा लाइभ दोहोरीसमेत गाउँदै आएकी सरितालाई अचेल मेला, महोत्सवमा दगुर्नमै हैरानी छ ।

 लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको सहकोषाध्यक्ष र नेपाल मगर सांस्कृतिक संघ कास्कीको अध्यक्ष रहेकी सरिता जीवनमा कलाकारिताको माध्यमबाट देशलाई योगदान दिने बताउँछिन् । पोखराबाट काठमाडौं पसेको मौकामा भेटेकी सरिता आफूलाई सफल कलाकार ठान्नुहुन्छ भन्ने जिज्ञासामा भन्छिन्, ‘अझैं धेरै खुड्किलो चढ्न बाँकी छ ।’ उनै सुमधुर स्वर र अत्यन्तै फरासिली व्यक्तित्वकी धनी लोकदोहोरी गायिका सरिता सारु मगरको सांगीतिक यात्रा र आगामी दिनको योजनाबारे गरिएको कुराकानी ।

अचेल कत्तिको व्यस्त हुनुहुन्छ ?
यतिबेला म व्यस्त नै छु । विभिन्न कार्यक्रममा आयोजकहरुले बोलाउनुहुन्छ, त्यसमा जाने गर्छु ।

कुन कुन जिल्ला डुल्नु भयो त कार्यक्रमको सिलसिलामा ?
गण्डकी प्रदेशका प्रायः सबै जिल्ला र पाल्पा, रुपन्देहीको बुटवलमा बढी मात्रामा जाने गरेकी छु ।

कार्यक्रमहरुमा प्रस्तुति दिइराख्दाको प्रतिक्रिया कस्तो पाउनुहुन्छ ?
म जति पनि मेला, महोत्सवमा हिँडेकी छु । त्यति बेला मलाई खुसी लाग्ने गर्छ । मैले फेवा टेलिभिजन पोखराबाट प्रसारण हुने कार्यक्रममा लाइभ दोहोरी गाउँछु । त्यसबाट पनि प्लस प्वाइन्ट भएको छ । म कार्यक्रमहरुमा जाँदाखेरी सरिता सारु मगर आयो है भन्ने धेरैले गुनगान गाउनु हुन्छ । त्यसमा म एकदमै खुसी छु, उहाँहरुप्रति आभार पनि प्रकट गर्छु ।

सूचना प्रविधिको विकासले लोकदोहोरी गीत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुगेको छ । विदेशबाट केही रेस्पोन्स ?
एकदमै धेरै प्रक्रिया आउँछ । किनभने मैले जतिपनि युट्युबमा गीत गाएकी छु । त्यो हेरेर धेरैले सरिता सारु मगरको गीतहरु मन पर्छ । स्वर मन पर्छ भनेर कमेन्ट गर्नुहुन्छ । फेसबुकमा पनि कमेन्ट गर्नुहुन्छ । म्यासेन्जरमा पनि उत्तिकै कमेन्ट गर्नुहुन्छ । मलाई खुसी लाग्छ ।

यस क्षेत्रमा लाग्नुभएको कति भयो ?
म यो क्षेत्रमा लागेको वि.सं. २०६४ बाट । त्यही साल माघबाट म कास्कीको पोखरा झरेको । त्यो बेलादेखि निरन्तर छु । पहिलेको भन्दा अहिले अवस्था राम्रो हुँदै गएकोमा खुसी लाग्छ । सरिताले प्रगति गर्दै छ है भन्ने प्रशंसा पाउँदा एकदमै हर्षित हुन्छु । अभैm संघर्ष गर्छु भन्ने मनमा हुँदोरहेछ ।

झन्डै बाह्र वर्ष अवधिमा तपाईंले कति एल्बम निकाल्नु भयो त ?
यो अवधिमा म आफैंले लगानी गरेर ३ वटा एल्बम बजारमा ल्याएकी छु । पहिलो एल्बम ‘यो जिन्दगी के छ र’ मनसुधन थापामगरसँग सहकार्य गरेकी थिएँ । उहाँ यूकेमा हुनुहुन्छ । त्यसपछि ‘तानेर लैजाउँ कि क्या हो’ यो गीत बजारमा ल्याएपछि कास्की, पर्वत, तनहुँ, पाल्पा, स्याङ्जा, बुटवल लगायत ठाउँका धेरै कार्यक्रमहरुमा हिँड्ने अवसर जुटेको थियो । त्यसपछि ‘अभागिनी’ गीत बजारमा ल्याएँ । अनि ‘तिमी अनि म’ सहितचार वटा गीत बजारमा ल्याएकी छु र अरु गीतहरु रेकर्ड गरेर राखेको छु । एउटा कौडा पनि छ, रेकर्ड भइसक्यो । अब छिट्टै बजारमा ल्याउनेछु ।

आफ्नोबाहेक कति एल्बममा गीत गाउनु भयो त ?
मलाई बढी मात्रामा मगर भाषाका गीत गाउन अवसर जुटेको छ । मगर भाषामा अडियोमा मात्र मैले स्वर दिएकी छु । त्यस्तै एउटा चलचित्रका गीतमा पनि स्वर भरेकी छु । र, सालीभेना कौडा, भाइबर अनि इमोमा पनि स्वर दिएकी छु । जुन गीतहरु रेकर्ड भइसक्यो, बजारमा आउनेक्रममा छ । नेपाली र मगर भाषाका गरी डेढ दर्जनभन्दा बढी गीत गाइसकेकी छु । मेला, महोत्सव र टेलिभिजनमा त कति गाइयो गाइयो ।

चार वटा गीत निकालिसक्नुभयो, तपाईं आफैं गीत लेख्नुहुन्छ कि ?
एउटा मात्रै कोरेकी छु, ‘यो जिन्दगी के छ र’ । शब्द मेरो, लय रेणु थापामगरको ।

लोकदोहोरी क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
यो क्षेत्रमा लहैलहैमा लागे जस्तो लाग्छ । १६,१७ वर्षमा त अल्लारे नै हुँदोरहेछ । त्यतिबेला साथीले गाउ भनेपछि गाउने, जाउँ भनेपछि जाने । त्यो क्रममा मनसुदन थापा दाजुले दोहोरीमा गाउनका लागि बेलाउनुभयो । लहैलहैमा पनि राम्रै मान्छेले बोलाउनुभयो । राम्रै ठाउँमा गाउनलाई पाइयो । त्यतिबेला मलाई लाग्थ्यो, दोहोरी साँझमा गाउँदा नकारात्मक रुपले सोच्ने होइन कि आफ्नो लोकसंस्कृतिलाई बचाउनुपर्छ भन्ने हेतुले म लागेँ ।

हिजो देखेको सपना पूरा हुँदै छ त ?
मान्छेका आफ्नो आफ्नो सोचाई हुन्छ । हैन ! मलाई लाग्छ, अहिलेसम्म पनि गलत तरिकाले गीत गाएकी छैन । अन्य कलाकारको मनमा त म पस्न सक्दिनँ । कतिपयले विकृति भित्र्याउनु भएको छ भने कतिपय आफ्नो संस्कृति जोगाउनुपर्छ भन्ने तरिकाले लाग्नु भएको छ । म पनि संस्कृति जोगाउनुपर्छ भनेर लागेको भएकाले लोकदोहोरी पनि दुई पाटोमा विभाजित छ जस्तो लाग्छ । कसैले व्यावसायिक ढंगले छिट्टै चिनिन्छु भनेर आउनुभएको छ भने कसैले लाइभ दोहोरी गाएर हाम्रो संस्कृति यस्तो है भन्ने गर्नुभएको छ । टेलिभिजनमा गाइने लाइभ दोहोरी र मैले बजारमा ल्याएका गीतहरु हाम्रो संस्कृतिलाई धक्का पर्ने खालका छ भन्ने लाग्दैन । दर्शकहरुबाट पनि उत्ताउलो छैन भन्ने प्रतिक्रिया पाको छु । १२ वर्ष अवधिमा राम्रै लागिरहेको छ ।

लोकदोहोरीमा बढीमात्रामा मायाप्रेमका विषयवस्तु भए, देशप्रेम र चेतनशील खालका भएनन् भन्ने आवाज सुनिन्छ, किन यस्तो भइरहेको छ ?
मैले पनि देशभक्तिका गीत गाउनुपर्छ भन्ने सोच्छु । सबैलाई त म भन्दिनँ, कुनै कलाकारज्यूहरुले देशभक्ति नै गाउनुभएको छ । तर कम भएको छ । म लगायत कलाकारहरुले देशभक्तिका गीत नै गाउनुपर्छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले आप्mनो समाज अनुकूल र पच्ने खालका गीत निकाल्नुपर्छ है भन्ने जनाएको छ । पहिलेका दिनमा जे भयो भयो, अब देशभक्तिका गीत बजारमा छ्यापछ्याप्ती पाउने अवस्था आउँछ ।

लोकसंगीतमा तपाईंले जुन सफल पाउनुभयो । यसका लागि केही प्रशिक्षण लिनुभयो कि ?
आजभन्दा ७ वर्ष अगाडि त्रिवेणी कला केन्द्रमा नवराज बरालज्यूँसँग सिकेकी थिएँ । संगीत सिकेर कहिले पनि सकिँदैन । मैले आधारभूत ज्ञानमात्रै लिएकी हुँ । यत्तिले पुग्दैन थियो, मेरो व्यस्तताले थप सिक्न पाइनँ । हुन त, आफूले हिँडेको बाटो बिर्सन हुँदैन । बिर्सेको पनि छैन । अब फेरि सिक्न जाने विचारमा छु । सिकेपछि चाहिँ यसरी गाउनु पर्दोरहेछ भन्ने अड्कल हुँदोरहेछ ।

यो क्षेत्रमा निरन्तर खटिरहन कत्तिको सजिलो छ ?
११ वर्षअघि हामी पोखरा झर्दा बेस्सरी गाह्रो भयो । सहरबजारमा गाउँको जस्तो गीत गाएर हुन्थेन । सहरबजारका मान्छेको रुचीअनुसार गाउनुपर्थ्यो । त्यो बेला गाह्रो हुन्थ्यो । अहिले गाउँदै आउँदा बानी पनि पर्‍यो । खासै अप्ठेरोचाहिँ लाग्दैन ।

यस क्षेत्रमा भनेजस्तो आम्दानी नहुँदा कलाकारहरु पलायन भइरहेको अवस्था छ नि ?
मेरो अनुभवमा पहिले पहिले अलि गाह्रो हुन्छ । आफूले प्रगति गर्दै गएपछि कार्यक्रम अवश्य नै पाइन्छ । कार्यक्रम पाउँदै गयो भने आफूलाई राम्रो हुन्छ । आम्दानी हुन्न भनौं भने कतिपय कलाकारहरुले गीत गाएर सहर, बजारमा घर ठडाउने गरिरहनुभएको रेकर्ड छ । आम्दानी र चर्चा भनेको आप्mनो मिहिनेत, संघर्षमा भर पर्ने कुरा हो । आफूले संघर्ष नगरेमा विदेश त जानै पर्‍यो क्यार ! पछि हट्न पर्‍यो । संघर्ष गरेपछि फल त अवश्य पाउँदोरहेछ भन्ने मैले अहिले अनुभव गरिरहेकी छु ।

आम्दानी कसरी बढाउने त ?
अहिले त आम्दानी हुन्न भन्न सक्दिनँ । किनभने नेपालमै बसी चट्ट परेको ठाउँमा बसेर दोहोरी जमाउने, गीत गाउने र युट्युबमा राखिदिएपछि कलाकारलाई आम्दानी त हुन्छ नि ! त्यो कारणले कलाकारहरुलाई मरिमरि गर्नुपर्छ, कलाकारहरुले बाँच्ने आधार छैन भन्न मिल्दैन ।

अबको योजना के छ ?
यो क्षेत्रमा लागेको पनि १२ वर्ष भइसक्यो । अब त छोड्न सक्दिनँ । आगामी दिनहरुमा अझै बल गर्नेछु यही क्षेत्रमा । प्रगति होला या नहोला, निरन्तरता दिनेछु । दुःख गर्दै गएसी फल त निस्किन्छ कि जस्तो लाग्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!