एटा संवाददाता
लन्डन । गुल्मी जिल्ला समाज यूके र प्रथम नौमती बाजा गुल्मी यूके समूहद्वारा आशा अपाङ्ग केन्द्रलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत १३ फेब्रुअरीका दिन गुल्मी तम्घासस्थित आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओम थापाले एक कार्यक्रमबीच सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम गत डिसेम्बर २ का दिन गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको च्यारिटी कार्यक्रमबाट संकलित दुई लाख रुपैयाँ र प्रथम नौमती बाजा गुल्मी यूके समूहको तर्फबाट ५० हजार रहेको छ । समाजले विगत १० वर्षदेखि विश्व अपाङ्ग दिवसको अवसरमा च्यारिटी कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सहयोग रकम प्रथम नौमती बाजा गुल्मी यूके समूह प्रमुख संयोजक रहेका समाजका संस्थापक अध्यक्ष थापा, कोषाध्यक्ष बरुण भण्डारी र सल्लाहकार खड्का रेशमीको उपस्तिथिमा हस्तान्तरण गरिएको हो । संस्थापक अध्यक्ष आमाका अनुसार यसबर्ष गुल्मी सत्यवती गाउँपालिका लिम्गाहा दृष्टिविहीन विद्यालयलाई एक लाख रुपैयाँ र सत्यवती गाउँपालिकाकै वाढीपीडितहरूको घर निर्माण सहयोगार्थ दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम छ ।
आशा अपाङ्ग केन्द्रका अध्यक्ष तथा पत्रकार जनार्दन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रकी उपाध्यक्ष तथा प्रमुख व्यवस्थापक गंगा रायमाझीले यस केन्द्रको गतिविधि र के कस्ता कार्य गर्दैछ यहाँबाट पाइने सुविधा र नेपालको विगत ठाउँका असक्त असहायको स्थिति जटिल समस्या र आजसम्म गुल्मी जिल्ला समाज यूके र प्रथम नौमती बाजा गुल्मी यूके समूहले एक दशकसम्म निरन्तर पुर्याउँदै आएकोबारे प्रकाश पारे । साथै, उनले दाताहरु र स्थानीय सरकारले पुर्याउँदै आएको सहयोगबारे पावरपोइन्टमार्फत प्रस्तुत् गरिकी थिइन् ।
केन्द्रका कोषाध्यक्ष तारा भुसालले सञ्चालन गरेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपमेयर सीता भण्डारीले गुल्मी जिल्ला समाज यूकेको गर्दै आएको अतुलनीय सहयोगका लागि धन्यवाद दिइन् । साथै, उनले आशा अपाङ्ग केन्द्रले गुल्मी जिल्लामा मात्र नभई देशमा राम्रो काम गरेको र यसलाई स्थानीय सरकारले पनि ध्यान दिन जरुरी रहेको बताइन् ।
त्यस्तै, नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले समाज रुपान्तरणका लागि लड्ने अभियन्ताहरुको ध्यान पुग्न नसकेको गुनासो गरे । साथै, उनले आफूहरु सपाङ्ग भएर पनि आशा अपाङ्ग केन्द्र गुल्मीकी गंगा रायमाझीले जस्तो काम गर्न नसकेको समेत बताए । सहयोग रकम हस्तान्तरणका लागि गुल्मी पुगेका समाजका संस्थापक अध्यक्ष काउचाले विशेष गुल्मी जिल्ला समाज यूकेका वर्तमान अध्यक्ष टोप पल्ली, महासचिव बिर बलाल लगायत वर्तमान कार्यसमितिका साथीहरु, समाजका मनका धनी परोपकारी सदस्यहरुप्रति आभार प्रकट गर्दै रकम हस्तान्तरणको जिम्मेवारीका लागि धन्यवाद दिए । साथै, उनले आशा अपाङ्ग केन्द्रले अपाङ्गताको लागि नयाँ शक्ति प्रदान गरेको र राज्यको दृष्टि पुग्न नसकेको ठाउँमा आशा अपाङ्ग पुगेको छ भन्दै केन्द्रकी प्रमुख व्यवस्थापक रायमाझी लगायतको समूहलाई धन्यवाद दिए ।
कार्यक्रमका अध्यक्ष जनार्दन घिमिरेले सरकारले अपाङ्गहरुलाई केन्द्रित गरेर आवश्यक पर्ने खालका कार्यक्रम ल्याउन सकेमा उनीहरुले पनि केही गरेर देखाउन सक्ने विश्वास व्यक्त गरे । समाजले आशा अपाङ्ग केन्द्र गुल्मीलाई हालसम्मसम्म ४५ लाख रुपैयाँबराबर रकम सहयोग गरेको छ ।
कार्यक्रममा पत्रकार, राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरू साथै गुल्मी ब्रिटिस पेन्सन अफिस (जिडब्लुटी) का प्रमुख गमबहादुर थापा, भारतीय आर्मी पेन्सन क्याम्पका डिएसबी सक्रेटरी रिटायर्ड क्याप्टेन तुलाराम गुरूड, रिटायर्ड सुबेदार मेजर, अनेरी क्याप्टेन खिमबहादुर थापा काउचा, दलबहादुर काउचा समाजसेवी महिला सञ्जालकी अध्यक्ष विष्णु सापकोटा नेपाल आर्मी गुल्मी धादिठुम गुल्मका क्याप्टेन उमेश खड्का अन्य विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।
आशा अपाङ्ग केन्द्र गुल्मीले छिमेकी जिल्लाहरु अर्घाखाँची, बागलुङ, स्याङ्जा, पाल्पा र रूपन्देही नवलपरासीसम्मकाले सेवा प्राप्त गरेको विशेष गुल्मी जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा राम्रो काम गर्दै आइरहेको छ ।
गुल्मी जिल्ला समाज यूके २००७ मा संस्थापक अध्यक्ष ओम थापा काउचाको नेतृत्वमा स्थापना भएदेखि आफ्नो जन्मस्थान गुल्मीका लागि ४ वटा एम्बुलेन्ससहित स्वास्थ्य, शिक्षा लगायत आपतविपतमा करिब ३ करोड़ रुपैयाँभन्दा बढी सहयोग गरिएको संस्थापक अध्यक्ष थापाले बताए ।






