राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको तयारी पूरा (विज्ञप्तिसहित)

SHARE:

काठमाडौं । यही फागुन १६ देखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ हुने भएको छ ।

बुधबार आयोजक संस्था डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.ले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित उक्त महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा महोत्सवका परिकल्पनाकार माधव थापा, संचार संयोजक चन्द्रमणि गौतम, निर्णायक संयोजक नवराज घोरासैनी, निर्णायक मण्डलकी अध्यक्ष सीता थापा, सांस्कृतिक संयोजक अमृत खाती र अतिथि संयोजक भीमसेन खतिवडाको उपस्थिति रहेको थियो । उनीहरुले उक्त महोत्सव भव्य रुपमा सफलताका साथ सम्पन्न गरिने विश्वास दिलाए ।

आयोजकका तर्फबाट उक्त महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराईएको छ । महोत्सवको उद्घाटनमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई सहभागी हुनेछन् । त्यस्तै, समापन समारोहमा संस्कृतविद् सत्यमोहन जोशीको पनि उपस्थिति रहने आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा कुल ७४ टिम सहभागी रहने छन् ।

नेपाल भ्रमण वर्ष–२०२० को प्रवर्द्धन गर्ने, काँठ क्षेत्रमा रहेको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवर्द्धन गर्ने, काँठ क्षेत्रका विभिन्न मौलिक गीत संगीतका स्रष्टा सर्जकहरुको प्रस्तुतिका साथै विभिन्न मौलिक नृत्य सहितको साँस्कृतिक कार्यक्रम गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, कार्यक्रमस्थलमा नि:शुल्क रुपमा धेरैभन्दा धेरै दर्शकलाई प्रवेश गराई काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष–भुषा, रहन–सहन, हस्तकाला, खानपिनको बारेमा जानकारी गराई कार्यक्रमको अवलोकन गराईने र काँठ क्षेत्रका बहु चर्चित सयौंभन्दा बढी मौलिक काँठे लोक भाकाहरु छनोट गरि लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगी घोषणा गर्ने पनि अन्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख, मेडल, प्रमाणपत्र १, अन्य पुरस्कारहरु, दोस्रो हुनेलाई नगद २ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, तेस्रो हुनेलाई नगद १ लाख, मेडल, प्रमाणपत्र १ अन्य पुरस्कारहरु, सान्त्वना पुरस्कार नगद ५० हजार प्रमाणपत्र १ अन्य पुरस्कारहरु, उत्कृष्ट गायकलाई नगद रु १० हजार र प्रमाणपत्र, उत्कृष्ट गायिकालाई पनि नगद रु १० हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ
आदरणीय संचारकर्मीज्यू, नमस्कार
नेपाली मौलिक गीत संगीत, कला, संस्कृति एवं साहित्यको संरक्षण, सम्बद्र्धनका साथै यस क्षेत्रको बहुआयामिक विकासको निम्ति निजी क्षेत्रका समस्त संगीत उद्योगी तथा व्यवसायीहरु साथै सम्पूर्ण श्रष्टा सर्जकहरुको हक, हित र अधिकारका निम्ती उल्लेखनिय भुमिका निर्वाह गर्दै आएको डि.ए.आर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.ली. ले लामो समयदेखि नेपाली संगीत उद्योगमा समर्पित श्रष्टा, सर्जक, कलाकारलाई यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्नु आजको आवश्यकता महसुस् गर्दै मेलापातमा झुन्डिएका व्यवसायीक रुपमा सफल, असफल मानिएका भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतक क्षेत्रले बिर्सिएको छ । त्यसलाई विश्व सामु उजागर गराउने उद्देश्य सहित राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना गर्न लागेका हौं ।

काँठ क्षेत्र
ऐतिहाँसिक रुपमा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु अगाडि नारायणी नदी, भोटेकोशि नदी, तामाकोशी नदी, सुनकोशी नदी र बागमतीलाई बिच बनाई आसपास छरिएर रहेका नेवा: राज्यहरुलाई पृथ्वीनारयण शाहले काँठ क्षेत्र भनि सम्बोधन गरेका थिए भन्ने कथन छ । समय बित्दै जाँदा नेवा: पनि नेपालमा गाभिन गयो र काठमाडौं आसपासका तत्कालीन १८ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनि चिन्न थालियो । त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहाँसिक, साँस्कृतिक विभिन्न धरोहर छन् । ति विविध मध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्री, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको क्षेत्र हो काँठ क्षेत्र । राजसंस्थालाई मनोरञ्जन गराउने पहिलो साँगीतिक कोसेलीको रुपमा काँठ क्षेत्रका विभिध कोसेलीहरु दरबारमा प्रस्तुत गरिन्थ्यो । रेडियो नेपालको स्थापना पछि लोक गीतलाई दोहोरी मा परिणत गराउन काँठ क्षेत्रका सर्जकहरु सफल भए ।

विस्तारै २०६४/६५ साल पछाडि काँठ क्षेत्र पछि पर्दै जानु र अन्य क्षेत्रका विविध साँस्कृतिक मौलिक गीतले अग्र स्थान पाउँदै गर्दा हाम्रा केही अग्रज सर्जकहरु पलायन भएसँगै हाम्रो क्षेत्रको गीत संगीत पछि पर्दै गयो । हरेक दिन न्युनतम ३ वटा काँठे लोक दोहोरी गीत बजारमा आउँछ, जसले मेलापात वा बस स्ट्याण्ड, आदि सार्वजनिक स्थलमा स्थान ओगट्छ तर डिजिटल मिडिया लगाएत व्यवसायीक रुपमा वा उचित स्थान बाट टाढै रहेको महसुस हुन्छ ।

नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि यो महोत्सवले प्रर्वद्धनको लागि महत्पुर्ण योगदान पुर्‍याउने उद्देश्य सहित “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ डि.ए.आर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.ली. द्वारा आयोजित काँठे लोक दोहोरी मोहत्सव २०७६ फाल्गुन १६ गते देखी २० गतेसम्म सम्पन्न गर्न गइरहेको व्यहोरा अवगत गराउन चाहन्छौं ।

कार्यक्रमको उद्देश्य :
१. मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज समग्र लोक सांगीतिक क्षेत्रले विर्सिएको छ । त्यस्ता मौलिक काँठे गीत संगीतलाई प्रबद्र्धन गर्ने ।
२. नेपाल सरकारको योजना पर्यटन भ्रमण वर्ष २०२० को पवद्र्धन गर्ने ।
३. काँठ क्षेत्रमा रहेको एतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगाएतको प्रवद्र्धन गर्ने ।
४. काँठ क्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकहरुको प्रस्तुतिका साथै विभिन्न मौलिक नृत्य सहितको साँस्कृतिक कार्यक्रम गर्ने ।
५. पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने ।
६. कार्यक्रम स्थलमा नि:शुल्क रुपमा धेरै भन्दा धेरै दर्सकलाई प्रवेश गराई हाम्रो काँठ क्षेत्रको मौलिक पुरातात्वीक कला संस्कृति, भेष–भुषा, रहन–सहन, हस्तकाला, खान–पिन को बारेमा जानकारी गराई कार्यक्रमको अवलोकन गराईनेछ ।
७. काँठ क्षेत्रका बहु चर्चित सयौं भन्दा वढि मौलिक काँठे लोक भाकाहरु छनोट गरि लोक दोहोरी प्रतियोगिता गराई प्रतियोगि घोषण गर्ने ।

कार्यक्रमको सूची (उद्घाटन)
मिति : २०७६ फल्गुन १६ गते
समय : बिहान १० बजे देखि साँझ ५ बजे सम्म
८ बजे : माईतिघर मण्डलाबाट विभिन्न झाँकी सहित वृहत र्‍याली माईतीघर, थापाथलि, त्रिपुरेश्वर, सुन्धारा चोक, रत्नपार्क, भद्रकाली, शहिदगेट हुँदै टुँडिखेल कार्यक्रम स्थल प्रवेश ।
स्थान : टुडिखेल, काठमाडौं
प्रमुख अतिथि : उद्घाटन समारोह सम्माननिय उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल ज्यु वा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेस भट्टराई ज्यू वा सस्कृतिविद सत्यमोहन जोशी ज्यु
फाल्गुन १७, १८, १९ गते : विविध साँस्कृति कार्यक्रम सहित काँठे लोक दोहोरीगीत प्रतियोगिता

कार्यक्रम समापन हुने फाल्गुण २० गते
प्रमुख अतिथि : सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेस भट्टराई ज्यू

प्रतियोगीतामा कुल ७४ टिम सहभागी रहने छन् ।

विजेता पुरस्कार :
प्रथम: नगद ३ लाख, मेडल, प्रमाण पत्र १, अन्य पुरस्कारहरु, दोस्रो : नगद २ लाख, मेडल, प्रमाण पत्र १ अन्य पुरस्कारहरु, तेस्रो : नगद १ लाख, मेडल, प्रमाण पत्र १ अन्य पुरस्कारहरु, सानत्वना : नगद ५० हजार प्रमाण पत्र १ अन्य पुरस्कारहरु, उत्कृष्ट गायक : नगद रु १० हजार र प्रमाणपत्र, उत्कृष्ट गायिका : नगद रु १० हजार र प्रमाणपत्र

लक्षित दर्शकहरु:
प्रत्यक्ष कार्यक्रम हेर्ने दैनिक कम्तिमा एक लाख, टेलिभिजन तथा रेडियो मार्फत हेर्ने र सुन्ने दर्शक ५० लाख युट्युवबाट एक करोड बढी रहने छन् ।
विविध सम्मान
१. सर्वाधिक चर्चित काँठे गायक गायीका – ३/३ जना
२. सर्वाधिक काँठे गीत रेर्कड गराएको श्रष्टा – २/२ जना
३. सर्वाधिक लोकप्रिय काँठे लोक गीत गायक/गायिका – २/२ जना
४. सर्वाधिक काँठे गीतमा संगीत संयोजन गर्ने संगीतकार – २ जना
५. काँठे गीत संगीतको क्षेत्रमा सर्वाधिक कार्यक्रम संचालन गर्ने प्रस्तोता – २ जना
६. काँठे गीत संगीतको क्षेत्रमा सर्वाधिक कलम चलाउन पत्रकार – २ जना
७. काँठे गीत संगीतको क्षेत्रमा सर्वाधिक बहु प्रतिभाशालि कलाकार – १ जना
८. सुमधुर स्वरकी धनि काँठे गायीका – १ जना

दिवंगत श्रष्टा सम्मान
१. बुद्दिकृष्ण लामिछाने
२. कृष्ण विक्रम थापा
३. भगवती दंगाल
४. लाल बहादुर खाती
५. सुन्दर श्रेष्ठ

पुराना सर्जक सम्मान्
१.कुमार बस्नेत
२. जयनन्द लामा
३. मच्छेश्वर सापकोटा
४. तिर्थ कुमारी थापा
५. हरिबहादुर राउत
६. शिवनारायण जोशी
७. ध्रुवराज खड्का

नोट:– कार्यक्रबाट बचत भएको रकम काँठे कलाकार संरक्षण कोष खडा गरी ५० प्रतिशत जम्मा गर्ने र ५० प्रतिशत सामाजिक सेवामा संलग्न संस्थालाई सहयोग गर्ने ।

आयोजक : डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि. ०१४४३७५१६
परिकल्पनाकार : माधव बहादुर थापा ९८५१०१४२६८
संरक्षक तथा प्रमुख सल्लाहकार : प्रभावन जे एण्ड टिम ९८५११०४६२८
संयोजक: नमराज ढुंगाना ९८५१०३३४४५
darmoviesnepal@gmail.com

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!