विश्वका चौध हिमाल चढ्ने शर्मिलाको आँट

SHARE:

काभ्रेपलाञ्चोक भीमखोरीकी शर्मिला लामा स्याङ्तान (२८) को बदलिएको परिचय हो, हिमाल आरोही । सन् २०१९ मे २२ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा सफल आरोहणपछि उनले यो पहिचान बनाएकी हुन् । सामान्य परिवारमा जन्मेकी शर्मिला त्यसअघि ट्रेकिङ गाइड र पोटरको काम गर्थिन् ।

***
सन् २०११ मा भीमखोरीबाट काठमाडौं पसेकी उनले अरु काम नपाएसी पोटर (भरिया) बाट ट्रेकिङ व्यवसाय थालेकी हुन् । उनका बुबा लीलाबहादुर ट्रेकिङ गाइडकै रुपमा कार्यरत छन् । झन्डै दशकअघि पर्यटन व्यवसायमा लागेकी शर्मिला अहिले महत्वकांक्षी योजनासहित नेपालको पर्यटन प्रवर्द्धन, महिला सशक्तिकरण र मानव बेचविखन अन्त्यको सन्देशसहित विश्वका ८ हजार मिटरभन्दा माथिका १४ हिमाल चढ्ने अभियानमा छिन् ।
***
दर्जन हिमाल आरोहण गरिसकेकी उनले नेपालका (सगरमाथा, मनास्लु, अन्नपूर्ण, धौलागिरि, कञ्चनजंघा, मकालु, चोयु र ल्होत्से), चीनको एक (सिसापाङ्रुमा) र पाकिस्तानका पाँच (नांगापर्वत, जी १, जी २, के २ र ब्रोड पिक) हिमाल चढेर नेपालको पहिलो महिला बन्ने लक्ष्य राखेकी छन् । जसका लागि ‘शर्मिला लामा १४ हिमाल आरोहण अभियान सहयोग समिति’ बनाएर आर्थिक संकलन थालिएको छ । सगरमाथा र मनास्लुको सफल आरोहण गरिसकेकाले उनले अब १२ हिमाल चढ्नुपर्नेछ ।
***
शर्मिलाले यही मार्च अन्तिम हप्तादेखि अन्नपूर्ण हिमालबाट आरोहण थाल्ने जनाएकी छन् । अध्ययनअनुसार ८ हजार मिटरभन्दा माथिका १४ हिमाल चढ्ने विश्वभरिमा जम्मा ३ जना छन् । नेपालबाट एक जना पनि छैन । नेपालको नेतृत्व गर्दै उनले ती हिमालहरु चढ्ने सहास गरेकी हुन् । हिमाल आरोहरणको उद्देश्य के हो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘१४ पिक सक्सेस पछाडि महिलाहरुलाई पर्यटन विकासमा, पर्वतारोहणमा विशेषगरी ट्राफिकिङमा परेका महिलाहरुलाई यो फिल्डमा आबद्ध गराएर सेल्फ डिपेन्ड हुन सिकाउने मेरो योजना छ ।’
***
पोटर जाँदा हिमालमा रम्ने बानी परेको बताउने उनी २०१९ अक्टोबरमा मनास्लु आरोहणपछि अग्रज दिदीहरुसँग केही जिल्लाहरुमा गएकी थिइन् । त्यसमा नेपाली महिलाहरुका सामाजिक, शैक्षिक अवस्था, स्वास्थ्य लगायत धेरै कुरा देख्ने, सिक्ने मौका पाइन् उनले । ‘त्यो देख्दा नेपाली महिलाहरुका लागि कहाँबाट आवाज उठाउन सक्छु त भन्ने मलाई महसुस भयो,’ आरोही तामाङले सुनाइन्, ‘मेरो अनुभव गाउँका महिलाहरुलाई सेयर गरिरहँदा उहाँहरुमा केही इन्स्पाइरिङ हुने, ओहो ! म पनि माउन्टेरिङ, टुरिजम फिल्डमा केही गर्न सक्छु भन्ने मनोभाव उहाँहरुमा देखेकोले अझ मलाई हौसला मिल्यो ।’ उनले त्यो घुमाइमा देह व्यापारकै लागि भारतमा बेचिएका चेलीहरू भेटिन् । बेचिने अधिकांश तामाङ समुदायको पाइन् । ‘मेरो समुदायका महिलाहरू पैसाकै लागि भारतका कोठीहरूमा बेचिएको कथाले म राति पनि सुत्न सक्दिनँ थिएँ, उनीहरूका लागि आवाज उठाउनुपर्छ भन्ने लागिरह्यो,’ उनले भनिन् ।
***
आरोही महिलामात्रै होइनन् शर्मिला पाँच वर्षे छोराकी आमा र परिवारकी बुहारीसमेत हुन् । हिमाल चढ्ने उनको लक्ष्यलाई पारिवारिक परिबन्दले छेकेको छैन । यसमा ट्रेकिङ गाइड गर्ने बुबा लीलाबहादुरको महत्वपूर्ण योगदान छ । गाउँमा १२ कक्षा सकेपछि उनी सन् २०११ मा काठमाडौं आइन् । पाँच सन्तानमध्ये जेठी भएकीले आफैंले खर्च जोहो गर्नुपर्ने दबाब थियो । बुबाको कमाइले घर खर्च धान्नै हम्मेहम्मे पथ्र्याे । शर्मिलाले आत्मनिर्भर हुनकै लागि काठमाडौंमा काम खोज्न थालिन् । भनेजस्तो काम पाइनन् । बुबाकै व्यवसायमा छिरिन् ।
***
कामकै दौरानमा अन्नपूर्ण बेसक्याम्पलगायत पर्यटकीय स्थलहरूमा स्वदेशी तथा विदेशीहरूलाई लिएर पुगिन् । ट्रेकिङ गर्दागर्दै हिमाल चढ्ने जोस चुलिँदै गयो । विवाहपछि सन्तान भएकोले केही समय काम रोकियो । तर छोरो १४ महिनाको भएपछि सन् २०१७ देखि पुनः काममै फर्किइन् । उनलाई जसरी भए पनि सगरमाथा चढ्नु थियो । पूर्वतयारीमा लागिन् । नेतृत्व विकास, प्राथमिक उपचार, वाल क्लाइम्बिङको तालिम लिएपछि गत अगस्ट २१ मा दोलखाको रोल्वालिङमा आरोहण अभ्यास गरिन् । जुत्ता लगाउन, ‘सेफ्टी चेन्ज’ गर्न र क्लाइम्बिङ सिकिन् । उनले हिमाल आरोहणको कुरा गर्दा धेरैले खिसिट्युरी गर्थे । यसले उनमा निराशा होइन कि शक्तिमा बदलेर देखाउनुपर्छ भन्ने आँट, जोश थपिन्थ्यो ।
***
रोल्वालिङ चढेपछि सन् २०१८ मा सगरमाथातिर लागिन् । ५२ दिनसम्मको पहिलो प्रयास असफल भयो । ८,७०० मिटरबाटै फर्कनुप¥यो । असफलता नै सफलताको जननी हो भन्ने भनाइलाई पछ्याउँदै फेरि सन् २०१९ को मे २२ मा विश्वकै सर्वोच्च शिखरतिर गइन् । २९ दिनमा आरोहण सफल भयो । सगरमाथा आरोहणपछि ट्रेकिङ व्यवसायकै सामान्य जीवनमा फर्किने योजना थियो । उनी अगस्ट १२ मा युरोपकै अग्लो शिखर एल्ब्रस आरोहणपछि सामान्य जीवनमै रोकिइनन् । उनको सफलता धेरैका लागि हौसला बनेको छ । गत वर्षकै सेप्टेम्बरमा १० दिनमै मनास्लु चढेपछि उनले विश्वका ८ हजार अग्ला सबै हिमाल आरोहण गर्ने लक्ष्य बनाएकी हुन् । माइतीको साथ, सहयोग र हौसला मिलेको बताउँछिन् उनी ।
***
बौद्धमा भाइबहिनीसित कोठामा बस्दै आएकी उनी सधैं बिहान साढे ४ बजे उठ्छिन् । दुई घण्टाजति दौडन्छिन् । फर्केर छोरालाई खाजा–खाना खुवाएर स्कुल पठाउँछिन्, सरसफाइ गर्छिन् । बिहान १० बजिसक्छ । दिनभर हिमाल आरोहणको आर्थिक, प्राविधिक तयारीमा जुट्छिन् । मानिसहरूसँग भेट्छिन् । बाँकी आरोहणका लागि सरकारलाई कर छुटलगायतमा सहज बनाउने प्रयास गर्छिन् । घर फर्कंदा रात परिसक्छ । भाइबहिनी साथै भएकाले छोरो सम्हाल्न खासै समस्या छैन ।
***
आरोही शर्मिलाको अनुभवमा महिला अघि बढ्न घरबाटै क्रान्ति गर्नुपर्छ । ट्रेकिङ गाइड गरेर सामान्य जीवन चल्छ तर समाजलाई केही दिउँ भन्ने उद्देश्यले ज्यानलाई जोखिममा राखेर हिमाल आरोहण गर्दै आएको उनी बताउँछिन् । आफ्नो अभियान रहर पूरा गर्नमात्रै नभइ समग्र नेपालको पहिचान र नेपालीको गौरव बढाउन भएकोले सबैलाई सहयोगको अपेक्षा राखेकी छन् ।
***
ओहोरी शर्मिलाको आग्रह थियो, ‘मलाई विचरा ! भनेर होइन कि यो समाजको योद्धा हो, धेरैलाई प्रेरणा बन्न सक्छ भनेर सपोर्ट गर्नुहुन अनुरोध गर्दछु ।’ १४ हिमाल आरोहणका लागि झन्डै साढे २ करोड बढी लागत अनुमान सहयोग समितिको छ भने दुई वर्षभित्र अभियान पूरा गर्ने लक्ष्यमा शर्मिला छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!