काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ । इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पुर्याउन एनआरएनले जहाज चार्टर गर्न लागेको हो ।
एनआरएनका अध्यक्ष तथा एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार प्रवेशाज्ञासहित सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर नेपालमा रोकिएका एक हजार तीन जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुर्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चार्टर गर्ने प्रक्रिया संस्थाले अघि बढाएको हो ।
वाइडबडी जहाज कोरिया पठाउन निगमसँग आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको जनाइएको छ । एनआरएनका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार संस्थाले पहिलो चरणमा रु १० लाख धरौटीसहित आज प्रारम्भिक सम्झौता गरेको छ । विमान चार्टर गर्न रु दुई करोडको ग्यारेन्टी बस्न एनआरएनले तयारी गरेको एनआरएन, कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडानसम्बन्धी सम्पूर्ण प्रक्रिया र श्रमिकको स्वास्थ्य परीक्षणको काम पूरा भए अर्को साताभित्रै निगमको वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले बताए ।
गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि त्यता जान नपाएका नेपाली श्रमिकलाई दक्षिण कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो । अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरिएको तथा यसबारे नेपाल सरकारसँग छलफल भइरहेको जानकारी दिए ।
यसैबीच विदेशमा कोभिड–१९ ले प्रभावित नेपालीलाई स्वदेश फर्काउन एनआरएन र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सोमबार छलफल भएको थियो । बैठकमा एनआरएनका तर्फबाट उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र चार लाखभन्दा बढी नेपाली तत्काल स्वदेश फर्कन चाहेको जानकारी दिँदै फर्किने वातावारण तयार गर्न मन्त्री ज्ञवालीसमक्ष आग्रह गरेका थिए । एनआरएनका १५ देशका राष्ट्रिय अध्यक्षसम्मिलित छलफलमा अधिकांशले नेपाल फर्किन र राहतका बारेमा आआफ्ना धारणा राखेका थिए ।






