न्यूनदृष्टियुक्तलाई ‘माइला कान्छा अभियान’बाट सहयोग

SHARE:

– जमुनावर्षा शर्मा
पोखराको सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएकी तीन महिनाकी गर्भवती लक्ष्मी परियारलाई माइला कान्छा अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले रु ५० हजार सहयोग हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण सडकमा गीत गाउन नपाएपछि समस्यामा परेकी परियारका बारेमा थाहा पाएर माया र पार्वती सहयोगमा जुटेका हुन् । उनीहरुले परियारका समस्याको बारेमा फेसबुक लाइभमार्फत वास्तविकता उजागर गरेपछि बेलायतमा रहेका सहयोगी मनले सहयोग पठाएका थिए । सोही रकम लिएर शनिबार माया, पार्वती (माइला, कान्छा) परियारले आश्रय लिइरहेको लेकसाइड–६ तिलबारीमा (दिदीको घर) पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

चालीस वर्षीया परियारको जन्मेको एक वर्षमा दादुरा बिग्रेर आँखाको ज्योति गुमेको थियो । विसं २०५७ मा आमाको मृत्युपछि उनी काठमाडौँ जाइन् । धुलिखेलको सञ्जीवनी र प्रेरणा महिला स्कूलमा बसेर १२ कक्षासम्मको अध्ययन गरेकी छन् । अध्ययनकै क्रममा न्यूनदृष्टियुक्त दीर्घबहादुर खड्कासँग प्रेम भयो र बिहे गरिन् । पेटमा बच्चा बसेपछि श्रीमान्‌ले बच्चा गर्भपतन गर्न दबाब दिन थालेपछि उनको सम्बन्ध सुमधुर हुन सकेन । उनले एक छोरीलाई जन्म दिएसँगै श्रीमान्‌सँगको सम्बन्ध पनि टुट्यो ।

जीवनका हरेक आरोह अवरोहसँग जुध्दै २५ दिनकी छोरी च्यापेर सडकमा गीत गाउन पुगेको विगतको यथार्थ सम्झँदा उनी निकै भावुक भइन् । भक्कानिरहेका उनका आवाजले भोग्नुपरेको दुःख पोखिरहेको थियो । आमाछेउ छोरी आइन् । लक्ष्मीले भनिन्, “मेरो जीवनको सहारा यही छोरी हो । यसैको सल्लाहमा मैले गत साउनमा बिहे गरेँ, सधैँ गीत गाएर घर पुग्दा रात पर्थ्यो, एकजना ढकाल सरले लमजुङका कालीबहादुर परियारसँग भेट गराएर बिहेको लागि आग्रह गरे । छोरी सानै भए पनि सोधेँ, २ कक्षामा अध्ययनरत छोरी मेरिसाले दुईजना छौँ अब तीनजना हुन्छौँ भनेपछि बिहे गरेँ ।” “अहिले मेरो पेटमा तीन महिनाको गर्भ छ । श्रीमान् भत्ता बुझ्न लमजुङ गिलुङ जानुभएको छ ।” अघिपछि पोखरा–१६, बाटुलेचौर बस्दै आए पनि अहिले श्रीमान् नभएको र बन्दाबन्दीले समस्या भएपछि दिदीको घरमा आश्रय लिएको उनले बताइन् ।

परियारले घर खोज्दै आफू बसेको ठाउँसम्म सहयोग लिएर आउने सहयोगी मनप्रति नतमस्तक भएर धन्यवाद दिए । “दुःखमा साथ दिने मान्छे भगवान्‌ले कता कताबाट पठाइदिँदा रहेछन्, हामीलाई सहयोग गर्ने सम्पूर्णको सधैँ भलो होस्” उनले आफूहरुका लागि रु ५० हजार नगदले निकै राहत मिल्ने भन्दै सहयोगी सबैलाई आशीर्वाद दिए ।

माइला कान्छा अभियानका कान्छा अर्थात् माया गुरुङले बेलायतबाट तीन हप्ताको छुट्टीमा नेपाल आएको तर बन्दाबन्दीका कारण फर्कन नपाएपछि नेपाल बसाइँमा समाजसेवामा लागेको बताइन् । “मैले उसलाई माइला (पार्वती गुरुङ) भन्छु उसले कान्छा भन्छ, हाम्रो कामलाई धेरैले माइला कान्छा अभियान नाम दिएका छन्”, गुरुङले भनिन्, “अहिलेको यो समयमा हामीले गरिब असहाय, अपाङ्गता भएकाहरुको आँसु पुछ्ने अभियानमा जुटेका छौँ ।” “सम्भव भएसम्म उहाँहरुको घरमा नै पुग्छौँ, वास्तविकता सामाजिक सञ्जालबाट देखाइदिन्छौँ, अनि जसले जसलाई सहयोग गर्न चाहनुभएको छ उहाँहरुसमक्ष नै पुगेर दिने गरेका छौं । सबै पारदर्शीरुपमा फेसबुक लाइभबाट कसले कति रकम दिएको हो सबै भन्छौँ”, उनले भने । भूकम्पको बेला पनि देशका विभिन्न बस्तीमा पुगेर सहयोग गरेको उनले बताइन् ।

अर्का अभियानकर्मी पार्वती गुरुङले (माइला) स्वच्छ मनले समाज सेवा गरे सहयोगी हातहरु जुटिरहने बताइन् । “हामी बेलायत बसे पनि हाम्रो मन नेपाली हो, कोरोनाको त्रास भए पनि सुरक्षा अपनाएर सेवामा जुटेका छौँ, यस अभियानलाई सहयोग गर्ने सम्पूर्णप्रति हामी आभारी छौँ”, गुरुङले भनिन् , “अहिले धेरैजनाबाट सहयोगको आवश्यता रहेको भन्दै फोन आउँछ तर हामी प्रत्यक्ष त्यहाँ पुग्छौँ, हेर्छौं र आवश्यकता देखिए मात्र सहयोगको अपिल गर्छौं ।” उनले हालसम्म विभिन्न कठिनाइको सामना गरिरहेकाहरुलाई रु १० लाख सहयोग गरिसकेको जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!