दार्चुला ५ भदौ । पहिलो खुशी त यहाँका सबै जिल्लाबासीमा आफ्नो जिल्लाकै चिकित्सक पाएकामा देखिन्छ । अझ त्यसभन्दा पनि बढी खुशी यहाँका महिला छन् । महिला चिकित्सक पाएपछि यहाँका पुरुषभन्दा पनि बढी महिला खुसी नहुने कुरै भएन । पिछडिएको जिल्ला र कतिपय अवस्थामा आफ्ना प्रसूतिजन्य जटिलताहरु भन्न या देखाउन उनीहरुलाई पुरुषभन्दा महिला चिकित्सक बढी सहज लाग्नु स्वाभाविकै हो । यस कुराले यहाँका महिलालाई बढी खुशीयाली डा बम यहाँ आएका कारण दिलाएको छ ।
दार्चुलाको साविकको पिपलचौरी गाविस हाल दुहुँ गाउँपालिकामा जन्मिनुभएका बमको सानैदेखिको सेतो कोट लगाउने इच्छा पूरा भएको छ । “जति बेला म सानै थिएँ अस्पताल जाँदा सेतो कोट लगाएका डाक्टरहरु देख्थेँ , त्यतिबेलै देखि मलाई पनि सेतो कोट लगाएर विरामीको सेवा गर्ने इच्छा पलाएको हो” स्थानीय भन्छन् ।
त्यतिबेला बिरामी भएर उपचारमा गएको समयमाा चिकित्सकले स्वास्थ्य जाँच गरेर निको हुन्छ भनेर घर पठाउँदा छुट्टै खुसीको अनुभूति हुने गरेको उहाँको अनुभव छ । “खासमा त्यही कोटले लोभ्याएर म पनि डाक्टर बन्छु भन्ने अठोट लिएँ” डा.पुजाले सुनाए । “पिपलचौरीमा जन्मिएको भए पनि मैले यो ठाउँमा अध्ययन गर्न पाइन्,” उनले भने, बुबा धर्मबहादुर वम गाउँ नजिकैको विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । बुबाले महेन्द्रनगर पढ्न पठाउनुभयो । मेरो इच्छाअनुसार बुबाले पनि छोरी डाक्टर बनोस् भन्ने चाहना राख्नुभएको थियो” उनले सुनाए । उनले काठमाडौँमा एमबीबीएस गर्नुभयो । सरकारी छात्रबृत्तिमा अध्ययन गर्नुभएको वमले इन्टर्न सक्ने वित्तिकै उहाँको पहिलो रोजाई थियो, दार्चुला जिल्ला अस्पताल ।
अहिले जिल्ला अस्पतालमा आइसकेपछि गाउँको याद खुबै आएको उहाँ सुनाउनुहुन्छ । छ वर्षअघि एक पटक गाउँ पुगेको बताउने डा.वमले अहिले डाक्टर भएर गाउँ जान पाउँदा खुबै खुसी हुने अनुभव सुनाउछन् । यहाँ जिल्ला अस्पतालमा आएको दुई महिना भए पनि कोरोना र बाटो अवरुद्ध भएका कारण गाउँ पुग्न नपाएको बताए । तर पनि उनका गाउँका अधिकांश व्यक्तिसँग यहीँ अस्पतालमा नै भेट हुन थालिसकेको छ ।
विद्यालय जीवनदेखि लामो समयदेखि जिल्लाबाहिरै अध्ययन गरेर यहाँ आउँदा उहाँलाई जिल्लाकै स्थानीय डोटेली भाषाको मााया बढी देखिन्छ । कतिपय ज्येष्ठ नागरिकहरु उपचारमा आउँदा उहाँले डोटेली भाषामै कुरा गर्नुहुन्छ । उहाको अनुभवमा आफ्नो भाषा बोलेपछि विरामी पनि झन खुलेर समस्या भन्न सक्छन् र अपनत्व महसुस गर्छन् ।
‘आएदेखि उहाँ निरन्तर विरामीको चेकजाँचमा भेटिनुहुन्छ । आफन्तहरु सबैसँग भेटघाट गर्न पाइएको छैन्, तर पनि अस्पतालकै ड्युटीमा उहाँहरु प्रायसँग भएको छ” उनले सुनाए । उपचारका लागि पर्याप्त ठाउँ नभएको उनी बताउँछन् । “अस्पतालको लागि ठाउँ साघुरो भयो । दुई जना डाक्टरसँगै बसेर उपचार गराउन समेत ओपिडी छैन । सानो कोठामा विरामी हेर्नुपर्ने बाध्यता हटाउन सके हुन्थ्यो” उनले सुझाव दिए ।
विसं २०७० को बाढीले जिल्ला अस्पताको अधिकांश भू–भाग बगाएको थियो । बाढीपछि अस्पतालको क्षेत्र सानो भएको छ । यहाँ जिल्ला अस्पतालका लागि भवन भए पनि अझै पर्याप्त भने छैन । यहाँ दिनहुँ कम्तीमा ७० देखि ८० जना विरामी आउने भएकोले यो ठाउँ साँघुरो भएको छ ।
ओपिडी पनि व्यवस्थित छैन र शव पोष्टमार्टम गर्ने भवन सानो पहिरोको टुप्पोमा छ । अस्पताल व्यवस्थापनमा सबैको ध्यान गए जिल्ला अस्पताल फेरिन्थ्यो । विरामीको भीडभाड हुन्छ, यतिखेर देशमा कोरोना भाइरसको प्रकोप रहेकोले भीडभाड नगर्नु भन्ने खालका जनचेतनामूलक कार्यक्रम आवश्यक छ । यहाँ पुरुषभन्दा बढी स्वास्थ्य समस्यामा महिलाहरु छन् ।
त्यसैले पनि महिला डाक्टर भएर जिल्ला आउँदा यहाँका स्थानीय धेरै खुसी छन् । स्थानीय गौरी बडाल भन्छिन्, “महिला डाक्टर नै आएपछि महिलाको समस्या भन्न सहज मानेका छौँ, अरुको अनुभव पनि यस्तै छ । सबै महिला विरामीले आफ्नो समस्या पुरुष डाक्टरलाई भन्न सक्दैनन् । महिला डाक्टर आएपछि हामीलाई आफ्नो समस्या सुनाउन सहज भएको छ ।”
महिला डाक्टर विरलै आउथे जिल्ला अस्पताल दार्चुलामा । योभन्दा पहिले एक पटक एकजना महिला डाक्टर आएको स्मरण गर्नुहुन्छ जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेव डम्मरदत्त भट्ट । जिल्लाले पहिलो पटक स्थानीय महिला डाक्टर पाएको छ । अहिले अस्पतालमा दुई महिला डाक्टर छन् । अर्का महिला डाक्टर रेनु घलान ललितपुरकी छिन् । उनी गत माघ महिनादेखि यहाँ कार्यरत छिन् । यतिखेर यस्तो राम्रो संयोग मिलेको छ कि अस्पतालको सेवामा सबै युवा चिकित्सकहरु नै छ्न् ।
जिल्लाको लागि केही गरौँ भन्ने भावना भएका हुनुहुन्छ । तर उहाँहरुको लागि बस्ने वातावरण सिर्जना गरिनुपर्छ । अहिले जिल्लाकै दुई जना डाक्टर कार्यरत छन् । अर्का डाक्टर हुनुहुन्छ दुहुँ गाउँपालिकाकै अनिल बडाल । अस्पतालमा सात जना डाक्टर कार्यरत छन् । डाक्टरको समस्या छैन । तर पूर्वाधार निर्माणको लागि अब ध्यान दिनुपर्छ सूचना अधिकारी समेत रहेका भट्ट भन्छन् ।
अस्पतालमा आइसियु तथा सिटीस्क्यान सुविधा नभएर अधिकांश विरामी बाहिर पठाउनुपर्ने बाध्यता छ । हाइड्रोसिल, हर्निया, एपेन्डीसाइटिस् जस्ता रोगका विरामी आए तुरुन्तै रिफर गर्नुपर्ने अवस्था छ ।
विगतको तुलनामा अहिले अस्पतालको सेवामा पनि सुधार हुँदै गएको छ । अहिले अस्पतालसँग डिजिटल एक्सरे, ल्याब सेवा स्तरोन्नति भएको छ,डाक्टरको सङ्ख्यामा कमी छैन । अहिले भएको जनशक्तिबाट बढी सेवा लिनसक्ने गरी जिल्लाबासीले यहाँको विकासको लागि सोच्नुपर्ने भएको छ ।
अस्पतालको नेतृत्व पनि युवा डाक्टरले नै गरेका छन् ।






