इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा)लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उनलाई हेर्छन् । कोही भने ‘यस्तो पनि हुन्छ र भनेर’ उल्टो प्रतिप्रश्न तेर्स्याउँछन् । कसैले भने, ‘यो भाषा पढ्नुको साटो फरेन ल्याङग्वेज पढेको भए हुन्थ्यो नि’ भन्दै सुझाव दिन्छन् । उकाचा यस्ता प्रश्नको सामाना गर्न तयार छन् ।
उनमाथि बारम्बार प्रश्न आउनुका कारण उकाचा सोयाङकै पूर्णज्योति माध्यमिक विद्यालयको लिम्बू (याक्थुनपान) भाषाको कुनै बेला शिक्षक थिए । अहिले उकाचाले भाषा पढाउन छाडेको दुई वर्ष भयो तर आफ्नो परिचय लिम्बू भाषाको शिक्षक भनेरै दिन रुचाउँछन् र चिन्नेले पनि उकाचालाई यही परिचयले चिन्छन् ।
अहिले उकाचा त्यही विद्यालयमा अङ्ग्रेजी विषय पढाए पनि लिम्बू समुदायले पनि भाषाका बारेमा प्रश्न सोध्न उकाचाकै आउँछन् । किनकि उकाचा लिम्बू भाषामा ‘पोख्त’ छन् ।
यसरी सिके लिम्बू भाषा
उकाचा लिम्बू जातको बाहुल्य रहेको गाउँमा हुर्किए । त्यसैले लिम्बू भाषा सिक्न टाढा जानु परेन । सानै उमेरदेखि नै लिम्बू भाषा सिक्नुपर्छ भन्ने थियो भाषा सिक्न निकै मिहेनत गर्नुपर्यो । सँगै बसेका साथीभाइले गरेको संवाद बुझे पनि फर्काउन नजान्दा मन खिन्न हुन्थ्यो । तिनै साथीभाइको सङ्गत र उनीहरुसँगको भाषा अभ्यासले उकाचालाई पनि ‘लिम्बू भाषी’ बनायो ।
उकाचा भाषा बोल्न मात्रै होइन लिपिमा पनि पोख्त हुनाका कारण अलि बेग्लै छ । जब ०६२/६३ को आन्दोलनपछि भाषा र संस्कृतिका विषय साह्रै धेरै उठेर आयो । आ–आफ्ना भाषा, धर्म र संस्कृति जोगाउनका लागि भन्दै गाउँगाउँबाटै आवाज उठ्न थाले । उकाचाकै गाउँमा पनि यसको प्रभाव पर्यो । भाषा जोगाउनका लागि आवाज उठ्दै गर्दा उकाचालाई चाहिँ भाषा भनेको जाति विशेषको मात्रै होइन सबैको हो भन्ने लग्यो ।
यही परिवेशले उकाचालाई भाषाको ‘भोक’ले समात्यो । उनी भाषा बोलेर मात्रै बच्दैन लिपि पनि जान्नुपर्छ भन्ने चेत खुलेपछि लिपि सिक्नका लागि घरबाट निस्किए । “धेरैतिर खोजे लिपि पढाउने विद्यालय भेटिन, इलाम नगरपालिकाकै बिब्ल्याँटेमा चाहिँ एक जनासँग सिकेँ”, उकाचाले भने । भाषा बोल्न जानेका उनलाई लिपि सिक्न आफूले सोचेजस्तो गाह्रो भएन । लिपि जानेपछि उहाँ गाउँ फर्किए । गाउँ फर्किएर लिम्बू भाषा जानेकैलाई लिपिका बारेमा बुझ्दा धेरैलाई लिपिको भने ज्ञान नभएको पाए ।
उकाचाका बुबा पण्डित भए पनि छरछिमेको सङ्गतले उहाँलाई पनि भाषाको धेरथोर ज्ञान थियो । परिवारका सबै सदस्यले लिम्बू भाषा जानकार भएकाले उनले विद्यालयमा पढाउन जान अप्ठ्यारो पर्ने कुरा रहेन । यता विद्यालयमा बहुसङ्ख्यक विद्यार्थी लिम्बू समुदायका भएकाले भाषा पढाउन माग बढ्न थाल्यो । पढाउनका लागि लिपिसमेत जान्ने व्यक्ति आवश्यक पर्ने भएकाले विद्यालयको पहिलो रोजाइमा उकाचा नै परे । उनले कक्षा ५ सम्म लिम्बू भाषा पढाउँछन् ।
भाषा जाने पनि आफ्नो मातृभाषा अर्कै भएकाले बोल्ने ‘टोन’ भने भिन्न भएकाले पढाउन गाह्रो भएको उनको भनाइ छ । संस्कृति र धर्म एउटा जात विशेषको मात्र हुँदैन भन्ने बुझ्नुभएका उकाचा लिम्बू भाषा पढाउन पाएकामा गर्व महसुस हुने गरेको बताउँछन् । अरूले ‘ब्राह्मणको छोरो भाषा पढाउने’ भन्दै कुरा गरे पनि आफूलाई समस्या नहुने गरेको उकाचा सुनाउँछन् ।