लन्डन । याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय पालाम गायन प्रतियोगिताको दौडमा गैर लिम्बूहरुको सहभागिताले तहल्का मचायो । आधा दर्जन गैर लिम्बू प्रतियोगीहरु फक्तालुङ चरणमा प्रवेश गरेर विभिन्न विधामा उत्कृष्ट ठहरिए । पालाम प्रतियोगिताको सवोत्कृष्ट पालाम (शब्द) निलिमा साम्पाङ राईको पोल्टामा गयो ।
लिम्बूहरुको उद्गम स्थल चौबिस बुढी मोरङमा जन्मिन्, निलिमा । आमा तुम्बापोमा र घरभित्रकै बोजू लेक्वामा भएपछि साम्पाङ कुलपूजाबाहेक याक्थुङ पान, खानपान, सांस्कृतिक कर्मकाण्ड, कला संस्कृति सबै मानव जीवन यापनका दैनिकीहरु याक्थुङमय वातावरणमा बित्यो । निलिमाको धान नाच्ने बैंस फक्रेको समय लिम्बुवानमा यालाङले भर्खर ब्रेक लिंदै थियो र नै आम लिम्बू युवायुवतीहरुझै उनले तन्देरीको हात समातेर धान नाच्ने अवसर गुमाइन् ।
पालामको मोहमा रमाउने निलिमा आमाको गर्भमा अंकुरित लिम्बू कला संस्कृतिको भ्रुणले आखिर पछिल्लो समय पालाममा फक्ताङलुङझैं चम्किन्न सफल भइन् । निलिमा विगत १४ वर्षदेखि इजरायलमा छिन् । उनलाई गित संगित क्षेत्रमा काम गर्ने इच्छा हुँदाहुँदै विभिन्न कठिनाइहरुले गर्दा निरन्तरता दिन सकिनन् । विदेशमा रहेर उनले नेपाली लोकगीत र लिम्बू विधामा थुप्रै सिर्जनाहरु पस्किसकेकी छिन् ।
इजरायलमा सयौं लिम्बूलिम्बूनीहरु भए पनि उनीबाहेक कसैले अन्तर्राष्ट्रिय पालाम गायन प्रतियोगितामा भाग लिन आँट गरेनन् । ३५२ प्रतियोगीहरुको भीडमा उनले धेरै दिग्गजहरुलाई पछि पार्दै ५० नंवर फक्ताङलुङ चरणमा प्रवेस गरेको गरिन् । अन्ततः उनको पालाम सवोत्कृष्ट ठहरियो । निलिमा हाल जारी प्रथम याक्थुङ हाक्पारे गायन प्रतियोगितासमेत भाग लिएकी छिन् र ख्याली प्रतियोगिताको तयारी छिन् । निलिमा प्रतियोगितामा देखापर्नु अघि नै लिम्बू कला संस्कृतिमा नाम लेखाइसकेकी स्रस्टा पनि हुन् । गत वर्ष किरात याक्थुङ इजरायलमा सम्पन्न चासोक तङनाममा उनको पालाम, हाक्पारे साम्लो र ख्यालीजस्ता लिम्बूका थुप्रै विधा समावेस ‘आसेप्माङ’ एल्बम सार्वजानिक गरेर चर्चाको शिखरमा पुगेकी थिइन् ।
आसेप्माङ एल्बमको पालाम संकलन सुवर्ण नेम्वाङ, यादन शेर्मा, आन्छुमे नोसान र भाका राजु आङदेम्बे र यादन शर्माको छ । १८ वर्ष पहिले साथीहरुसंग मिलेर बनाएको पूर्वेली लोक भाकाको ‘सोल्टेनी हजुर’ एल्वममा उनको दुईवटा गीत छन् । माध्यमिक तह अध्ययनकै क्रममा नेपाली गित संगितको दुनियामा सशक्त उपस्थिति देखाइसकेकी निलिमा आफ्नो अध्ययन र घर व्यवहारले लामो समय सांगीतिक यात्रामा अर्ध विराम लाग्यो । सानैदेखिको कला संस्कृतिको मोह र केही गर्छु भन्ने हुटहुटीले उनलाई गीत संगीतमा सुखद पुनरानगमन गरायो । अनुपम म्युजिक ग्रुपकी महासचिसमेत रहेकी निलिमाले सोही ग्रुपको प्रथम भर्चुअल वार्षिकोत्सवको अवसरमा निलिमा र जितेन राईसंगको ‘हुरुमा हुरु सिरेटो चल्छ’ विमोचन गरिन् ।
पूर्वेली लोक भाकामा ख्याती आर्जन गरी सकेका पुराना वरिष्ठ गायक, संगीतकार तथा गीतकार जितेन राईको संगीत र शब्द संकलन रहेको यो गीतमा गाउनु पाउँदा आफू गौरन्वित भएको रहेछ उनलाई । ११ मंसिर २०७६ मण्डला थिएटरमा विमोचन भएको ‘निलिमा’ उनको अर्को सफल एकल एल्बम हो । यो एल्वममा गीतकार सागर रावत, माया मगर र चन्द्र रानहंछाको शब्द रचना र भिषण मुकारुङ, राज रोवर्ट अजनबी, उत्तमजङ लावती र यादन शेर्माको समधुर संगीत रहेको छ ।
साम्पाङ राई समुदायमा जन्मेरपनि पालाम प्रतियोगितामा सहभागी हुने अवसर मिलेकोमा आफू दंग परकी छिन्, निलिमा । लिम्बुवान माटो, यहाँको कला संस्कृतिमा अभ्यस्त निलिमा त्यही क्षेत्रमा केही सेवा गर्न पाएकोमा याक्थुङ कल्चर ग्रुपप्रति उनले ठूलो सम्मान व्यक्ति गरेकी छिन् । हराउन लागेको याक्थुङ कला संस्कृतिमा निलिमाको आगमनले लिम्बू समुदायलाई ठूलो उर्जा प्रदान गरेको छ ।






