यशोदा तमुस्यो
लन्डन १० असोज । कोभिड १९ महामारीका कारण स्थगित भएको ‘रेस फर लाइफ-२०२०’ शनिबार सेप्टेम्बर २६ तारिख सञ्चालन गरिएको छ ।
क्यान्सर रिसर्च यूके रेस फर लाइफ यसपटक सामूहिक रुपमा सहभागी हुन असमर्थ भए पनि तमुधिं आमा समूह यूकेका दिदी बहिनीहरु र नानीहरुले
बिहान ९:३० बजे आ-आफ्ना क्षेत्रमा ५ किलोमिटर दौडिएर कार्यक्रम सम्पन्न गरिएको हो । क्यान्सर लगायत रोगको विरुद्धमा जनचेतना जगाउने अभिप्रायले हरेक वर्ष जुलाई महिनामा रेस फर लाइफ हुँदै आएको थियो ।
तमुधि आमा समूहकी अध्यक्ष जगतमाया तमुस्यो आफ्नै घर ट्रेडमिलमा दगुरेकी थिइन् भने आमा समूहकी वरिष्ठ उपाध्यक्ष सीता तमुस्यो, तमुधिं लन्डन इकाई आमा समूहकी अध्यक्ष दिलमाया तमुस्यो र उपाध्यक्ष देवकला तमुस्यो, नानीहरु जश्मीन, जेशिका आफ्नै क्षेत्रमा दौडिएर ५ किलोमिटर दूरी पूरा गरेका छन् । दौडपछि तमुधिं आमा समूहले ३ सय ९६.५ पाउन्ड उठाइ क्यान्सर रिसर्च रेस फर लाइफलाई सहयोग गरेको जनाएको छ ।
‘रेस फर लाइफ’ अत्यन्त आवश्यक र सफल च्यारिटी इभेन्टमध्ये एक हो, जसले विश्वमा बर्सेनी मिलियन पाउन्ड संकलन गरी विश्वव्यापी २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बालबालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गर्दछ । सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केबल ७ सय ५० महिला सहभागी भएका थिए । तत्पश्चात हरेक साल सहभागी वर्गको गिन्ती वृद्धि भएको र बेलायतभरीका विभिन्न सहरहरुमा विभिन्न समयमा सु-सम्पन्न हुने गर्दछ ।
कोभिड १९ को महामारी बाबजुद पनि पुण्य कार्यमा सहभागी हुन पाउँदा गर्व महसुस भएको तमुधिं आमा समूह यूकेले बताएको छ । साथै सहभागी हुन असमर्थ भए पनि स्पोन्सर गरी साथ दिने सम्पूर्ण दाताहरु र तमुधिं यूकेका अध्यक्ष नन्दजंग तमु एवं वरिष्ठ उपाध्यक्ष हितकाजी तमु लगायत पूर्व अध्यक्षहरु, सबै तमुधिं परिवार, आमा समूह परिवार र आफन्त, साथी संगिनी परिवारप्रति हौसला, सहयोगका लागि र गोर्खा मिडियाका डिरेक्टर मिलन तमुप्रति आभार प्रकट गरिएको छ ।






