लन्डन १२ असोज । बेलायतमै छायांकन गरिएको ‘यो कस्तो माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको म्यूजिक भिडियो शनिबार सार्वजनिक भएको हो । अभिनेता ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको भिडियो लन्डन निवासी कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । ज्योति गुरुङको शब्द सृजनामा संगीत अर्जुन सुनमको छ ।
भिडियोमा पछिल्लो पुस्तामा देखिएको कथित मायाको विकृत रुप चित्रण गरिएको छ । वैँश छँदा प्रेम, रोमान्स गर्ने अनि स्वार्थ पुरा भएपछि वियोग जस्ता समाजमा देखिएका घट्नालाई जस्ताको त्यस्तै भिडियोमा देखाउन निर्देशक कुशल श्रेष्ठ सफल देखिएका छन् ।
भिडियोको छायांकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठकै हो । निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्र गीत र म्यूजिक भिडियो गरि ३ दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन् ।






