लन्डन असोज २२ । नेपाली दूतावास लन्डनमा नेपाली चलचित्र महोत्सव सम्पन्न भएको छ ।
बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित ६ अक्टोबर २०२० का दिन महोत्सव आयोजना गरिएको हो । बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा बेलायतमा रहेका निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित “दुख्ने मुटु” र “अधर” नामक दुई वटा म्युजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित “शून्य” नामक लघु चलचित्रको संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीबाट लोकार्पण भएको थियो ।
महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुति गरिएको थियो । साथै बेलायतमा रहेका प्रसिद्ध नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
बेलायतमा रहेर नेपाली चलचित्र, नाटक, कला तथा संगीतको विकास, प्रचारप्रसार तथा लोकप्रियता अभिवृद्धिमा योगदान पुर्याउने निर्माता, निर्देशक तथा कलाकारहरुलाई राजदूतले सम्मान गरेका नेपाली राजदूतावास लन्डनले बिहीबार ७ अक्टोबर २०२० का दिन विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।








