काठमाडौँ असोज २७ । नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थालाई नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार देव कोइमीले निर्माण गरेका हुन् ।
किरात राई यायोक्खाले प्रकाशन गरेको यलम्बरको रेखाचित्र मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको हो । नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रवेश गरेको उल्लेख छ । इतिहासकारकाअनुसार नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ किरातकालमा भएको पाइन्छ । यलम्बरदेखि खिजुसम्म ३२ पुस्ताले १९ सय ६४ वर्ष शासन गरेका थिए ।






