लन्डन कात्तिक २८ । बेलायतबाट गोरखा भिमसेन बगुवाका ६० घरधुरीलाई राहत वितरण गरिएको छ ।
गोरखाली समाज यूकेको नेतृत्व र नेप्लिज वेलफेयर सोसाइटी यूकेका अध्यक्ष धनबहादुर सार्कीको व्यवस्थापनमा शुक्रबार गोरखा जिल्ला भिमसेन गाउँपालिका वडा नं ५ बगुवाका गरिब तथा विपन्न ६० घरधुरीलाई राहत वितरण गरिएको गोर्खाली समाज यूके तथा परिवार उपाध्यक्ष हेम गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतिपरिवार ३० केजी चामल, ५ केजी दाल, २ लिटर तेल, २ केजी नुन, साबुन लगायत राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । कोरोना भाइरसका कारण समेत विपन्न परिवार झन् समस्यामा परेका छन् ।
शुक्रबारको भर्चुअल रुपमा आयोजित कार्यक्रममा सहभागी भई कार्यक्रम भब्य रुपमा सफल बनाउन सहयोग गर्नेप्रति गोरखाली समाज यूके आभार तथा धन्यवाद ज्ञापन गरेको उल्लेख गरिएको छ ।
सन् २००२ मा स्थापना भएको गोर्खाली समाज यूके स्थापनकालदेखि नै मानवीय र सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ । यस्तै सिलसिलामा समाजले कोभिड १९ महामारीको यो विषय परिस्थितिमा गोरखा जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।







