काठमाडौं मंसिर ५ । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज (शुक्रबार) मुख्य दिन हो । शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ ।
विगत वर्षमा राजधानीको कमलपोखरी, नागपाखरी, गहनापोखरी, गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको हुन्थ्यो । यस वर्ष भने कोरोना सङ्क्रमणका कारण राजधानीमा भौतिक दूरी कायम गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
विगतमा लाखौँ भक्तजनले कार्तिक शुक्ल षष्ठीको बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरेकामा यस वर्ष सीमित ब्रतालु मात्र कमलपोखरी, गुह्येश्वरी, नागपोखरीलगायत नदी किनार एवं जलाशयमा भेटिएका थिए । विगत वर्षमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरी, कमलपोखरीमा बनाइएको छठी माताको मूर्तिमा पूजा आराधना गर्ने परम्परा भए पनि यस वर्ष कोरोना महामारीका कारण प्रभावित भयो ।
उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्नेक्रम पनि यस वर्ष पातलो मात्र देखिन्थ्यो । विगत वर्षमा रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने व्यवस्था गर्ने गरिएकामा यस वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगत नौ वर्षदेखि छठ मनाउँदै आएका व्रतालुलाई मात्र छठी घाटमा उपस्थित भएर पूजा आराधना गर्न अनुमति दिएको कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए ।
कमलपोखरीमा मात्र विगत वर्षमा १५ हजारभन्दा बढी मानिस उपस्थित भई छठ मनाउने गरेकामा यस वर्ष १५० जना ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको उनले सुनाए । यस वर्ष कमलपोखरीमा १७ छठ घाट बनाइएको थियो । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका भक्तजनले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।






