गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा पहरी जातिको जनसंख्या महिला ६ हजार ९ सय ४५ र पुरुष ६ हजार ६ सय ७० जना गरी जम्मा १३ हजार ६ सय १५ जना रहेका छन् ।
मूलथलो दैलेख जिल्लालाई मान्ने पहरी जाति ललितपुर जिल्लाको बडीखेल, टिकाभैरब, लेले, इटयटी, टोखेल, चापागाउँ, काभ्रेपलाञ्चोक जिल्लाको खोपासी, दाङघाट, तल्लोगाउँ, माथिल्लोगाउँ र पलाल्चोक गाउँ विकास समितिहरुमा बसोबास गर्दछन् । जातीय छुवाछुत र आफूलाई ठूलो जातको मान्ने परम्परागत विश्वासका कारण पलाञ्चोक गाउँमा बस्ने पहरी जातिका मान्छेहरु खोपासी गाउँमा बस्ने पहरी जातिका मान्छे भन्दा आफूलाई ठूलो ठान्दछ । पहरी जातिले बौद्ध धर्म मान्ने गर्दछन् । पहरी जातिको भाषा छुट्र्टै भएता पनि हालसम्म लिपी भने छैन । बोलचालको भाषा भने नेवार जातिसंग मिल्दोजुल्दो खालको देखिन्छ ।
पहरी जातिमा विवाह गर्ने पनि आफ्नै संस्कार रहेको पाइन्छ । उनीहरु परम्परागत विवाहलाई हालसम्म पनि प्राथमिकता दिने गरेको पाइन्छ । उनीहरुको जातिगत संस्कार अनुसार मागी विवाहलाई पहिलो प्राथमिकता दिने गर्दछ । अरु जातिमा जस्तो सिधै केटा गएर केटी माग्ने चलन यी जातिमा पाइन्न । उनीहरु केटीको घरमा कसै मार्फत प्रस्ताव पठाउने गर्दछ । पठाएको प्रस्ताव स्वीकार भएपछि मात्र केटी माग्न जाने गर्दछ । केटी माग्न जादा केटा पक्षबाट सुपारी, सुनको औठी र पचास रुपैया लिएर जान्छ । लगेको सामान केटाले केटीलाई दिने र केटीले केटालाई दुबोको माला लगाई दिने गर्दछ । अनि विवाह कहिले गर्ने भनेर मिति तय गर्दछ ।
प्रायःजसो मागी विवाह गर्दा जग्गे बनाउने धेरै जसो जातिमा पाइन्छ । तर पहरी जातिमा विवाहको बेलामा जग्गे बनाउने चलन पाइन्न । उनीहरु विवाहको निश्चित भइसकेपछि जन्ती लिएर केटीको घरमा जान्छ । केटीको घरमा पुगेपछि बेहुला र बेहुलीको हात काँचो धागो बाँधिन्छ । त्यो बाँधेको हातमाथि बेहुलीको बावुले एउटा कुखुराको भाले काटी दुबैको हातमा पर्ने गरी रगत चुहाइदिने गर्दछ । उनीहरु यसैलाई कन्यादानको विधि मान्दछ । यो सबै काम बेहुलीको बावुले गर्नु पर्ने हुन्छ । यदि बावु नभएमा मात्र दाजुले गर्दछ । त्यसपछि मात्र बेहुलाले बेहुलीलाई सिउँदोमा सात पटक सिन्दुर लगाइदिन्छ । बेहुलाले बेहुलीलाइ सिन्दुर लगाएदिँदा बेहुलीको बावु आमाले हेर्नु हुदैन भन्ने मान्यता रहेको पाइन्छ । पहरी जातिमा विधवा विवाहलाई मान्यता दिदैन । बरु जारी विवाहलाई समाजले स्वीकृति दिएकोले त्यो ऐले पनि कायमै रहेको पाइन्छ ।
कुन जातिको मृत्यु संस्कार गर्ने कस्तो चलन । कुन जातिको कस्तो चलन । सबैको आ–आफ्नै जाति अनुसारको चलन । त्यही विगतदेखि चलाइ आएको चलनलाई सबैले अनिवार्य पछ्याउने गरेको पाइन्छ । पहरी जातिमा कसैको मृत्यु भएको खण्डमा अन्य जातिको जस्तो व्यक्तिगत रुपमा लास उठाएर लान पाइदैन । त्यसैले पहरी जातिमा मानिसको मृत्यु भइहालेमा लास उठाउनका लागि सामूहिक रुपमा गुठी स्थापना गरेका हुन्छन् । मानिस मर्नासाथ त्यो गुठीमा खबर पठाउनु पर्ने नियम बनाएको हुन्छ । लासलाई कसरी अन्त्येष्टि गर्ने भन्ने सबै व्यवस्था त्यही गुठीले मिलाउँदछ । पहरी जातिमा लासलाई जलाउने गर्दछ । यो जातिमा लास जलाइएको धुवाँ चाही मृतकको घरबाट देखिनु पर्छ भन्ने मान्यता रहेको कारणले गर्दा प्राय जसो घर भन्दा अग्लो र घरदेखि देखिने गरीको डाँडामा लगेर जलाउने गर्दछ । लासलाई जलाई सकेपछि मलामीहरु घर फर्केपछि च्यूउँरा ख्वाउने गर्दछ । पहरी जातिमा किरिया तेह्र दिनसम्म बारी शुद्ध हुने गर्दछ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६ लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक तोप्केगोला जातिबारे लेख प्रकाशन गरिनेछ)






