लन्डन साउन २५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले हरेक वर्ष मनाउँदै आएको साहित्यिक कार्यक्रम २०८ औं आदिकवि भानु जयन्ती, युवा कवि मोतीराम भट्ट साथै स्वर्गीय ईश्वरप्रसाद मानन्धरको स्मृति दिवस यस वर्ष पनि ७ अगस्ट २०२१ शनिबार सम्पन्न भएको छ ।
East Ham बार्किङ्मा प्रमुख अतिथि नेपाली राजदूतावासबाट उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथि सविता मानन्धर, साहित्य संगम रेडिङको संस्थापक विनोद अधिकारी, ईष्ट लन्डन नेपाली महिला कम्युनिटीका अध्यक्ष साङ्गे लामा गुरुङ, ईष्ट लन्डन नेपाली गोर्खा कम्युनिटीका अध्यक्ष दिल ईवाराम लिम्बु र “सुप्रमा-ईप्रमा” पुरस्कार २०२१ का विजयी प्रतिमा केसीका साथ भव्य रुपले सम्पन्न भएको हो ।
अनेसास बेलायत च्याप्टरको अध्यक्ष लक्ष्मी राईको अध्यक्षता र अनेसासका केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ संयोजक रहेको सो ऐतिहासिक कार्यक्रम प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल, अनेसास बेलायत च्याप्टरको अध्यक्ष लक्ष्मी राई, अनेसास केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, साहित्य संगम रेडिङका संस्थापक विनोद अधिकारी र विशेष अतिथि सविता मानन्धरद्वारा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।
महासचिव मञ्जु भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अनेसास बेलायत च्याप्टरको सदस्य सारादेवी गुरुङले स्वागत मन्तव्य र शुभकामना दिएकी थिइन् भने सुप्रमा-ईप्रमा पुरस्कारका प्रायोजक परिवारबाट सविता मानन्धरले सुप्रमा-ईप्रमा पुरस्कार र स्वर्गीय ईश्वरप्रसाद मानन्धरको बारेमा प्रकाश पारेकी थिइन् ।
पुरस्कृत भएको पुस्तक ‘पानीको विद्रोह’ बारेमा साहित्य संगमको संस्थापक, मुक्तक प्रतिष्ठानको सल्लाहकार विनोद अधिकारीले समीक्षा गरेका थिए र भविष्यमा यसरी नै प्रतिमा केसीको कलमले निरन्तरता दिइरहोस् भनी शुभकामना पनि दिएका थिए । यसैगरी अनेसास केन्द्रीय सदस्य माया गुरुङले आदिकवि भानुभक्तका जीवनी र उनको भाषिक योगदान बारेमा प्रकाश पार्दै जुनसुकै परिस्थितिमा पनि हामी सबै नेपालीलाई तुरुन्तै नजिक बनाउने महत्वपूर्ण माध्यम नेपाली भाषा रहेको त्यसैले यसको संरक्षण गर्नु हामी सबैको ज़िम्मेवार भएको बताइन् ।
अनेसास केन्द्रीय सल्लाहकार, डायमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले युवा कवि मोतीराम भट्टको जीवनीबारे प्रकाश पार्दै उनको नेपाली भाषा साहित्यमा के कस्ता योगदानहरू थिए भन्ने कुराहरू प्रष्ट्याउनुका साथै उनले स्वर्गीय ईश्वरप्रसाद मानन्धरको बारेमा उनको सरल र मिलनसार स्वभाव, भाषा साहित्यप्रतिको गहिरो लगाव र उनका प्रकाशित पुस्तकहरू साथै प्रकाशित हुन बाँकी रहेको पुस्तकहरूकाबारे चर्चा गरे । त्यस्तै ईष्ट लन्डन नेपाली गोर्खाका अध्यक्ष दिल ईवाराम लिम्बुले सो साहित्यिक कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै भाषा साहित्यको सफलताको शुभकामना पनि दिए ।
कार्यक्रममा प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनालले नेपाली भाषा साहित्य, संस्कृतिको महत्व र यसमा भानुभक्तको योगदानबारे बताउँदै कार्यक्रम आयोजना गर्ने अनेसास बेलायत च्याप्टरलाई सफलताको शुभकामना दिँदै भविष्यमा पनि आबद्ध रहने बताइन् ।
कार्यक्रमको दोस्रो चरणमा रचना वाचन रहेको थियो । जसमा निर्मला न्यौपाने, विनोद अधिकारी, कुमार केसी, प्रतिमा केसी, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, मञ्जु भण्डारी र माया गुरुङले सिर्जना वाचन गरेका थिए ।






