
लन्डन साउन २९ । बेलायतमा दुवै डोज कोरोनाविरुद्धको खोप लगाएको अवस्थामा सेल्फ आइसोलेसनमा बस्न नपर्ने भएको छ ।
सरकारले पहिले जारी निर्देशिकामा संशोधन गर्दै कोभिड १९ को दुवै डोज लगाएका व्यक्तिहरुले घरमा कोही कोभिडबाट संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न नपर्ने बिहीबार जनाएको हो । तर दुवै डोज खोप लगाएको कम्तीमा १४ दिन पुगेको हुनुपर्नेछ ।
यसैगरी १८ वर्ष ६ महिनाभन्दा कम उमेरका व्यक्तिहरुले पनि परिवारमा कोही कोरोना संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न पर्ने छैन । कोभिड १९ को खोपको परीक्षणमा हाल सहभागीहरु र स्वास्थ्यका कारण कोरोना खोप नलगाएकाहरुले पनि सेल्फ आइसोलेसनमा बस्न पर्ने छैन ।
यसअघि कोभिड १९ संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुलाई एनएचएसको कन्ट्याक्ट ट्रयासिङ आप्सले सेल्फ आइसोलेसन बस्न अह्राएपछि बेलायतका विभिन्न व्यवसायहरु प्रभावित भएको गुनासो सुनिँदै आएको थियो ।






