
लन्डन भदौ १३ । नेपाली राजदूतावासको संयुक्त आयोजनामा आइतबार (अगस्ट २९ तारिख) १२ औं नेपाली मेला हुँदै छ । मेला लन्डनको सनबुरी अन द थेम्समा पर्ने केम्पटन पार्क रेसकोर्समा बेलायतको समयअनुसार बिहान १० देखि बेलुकी ८ बजेसम्म हुनेछ । मेला भर्नाका लागि बेलायतवासी नेपाली उत्साहित देखिएका छन् ।
मेला संयोजन यसपटक तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले गर्दै छन् । नेपाली मेला भव्यताका साथ सम्पन्न गर्न आयोजकहरु लामो समयदेखि नै तयारीमा व्यस्त छन् ।
दिनैभरि सञ्चालन हुने मेलामा बेलायतका नेपालीले मात्र नभई विदेशीहरुले पनि धेरै मन पराएको विगतको अनुभव आयोजकको छ ।
प्रत्येक साल हुने मेलाका पुरस्कारहरु निकै आकर्षित छन् । एम्बेसडर कपमा प्रथम पुरस्कार कप र एक हजार १ सय, द्वितीय पुरस्कार ७ सय तथा तृतीय पुरस्कार ५ सय पाउन्ड रहेको छ । सांस्कृतिक नाँच, झाँकी प्रदर्शन लगायतका विविध प्रतियोगिताहरुमा यूकेमा रहेका १९ वटा संस्थाले भाग लिने तमुधिं यूकेले जनाएको छ ।
झाँकीतर्फ प्रथम पुरस्कार ५ सय पाउन्ड, दोस्रो पुरस्कार ३ सय तथा नृत्यतर्फ प्रथम हुनेलाई ५ सय, द्वितीय हुनेलाई ३ सय पाउन्ड प्रदान गरिने भएको छ । जसमा एनआरएनए यूकेले ३ सय पाउन्ड सहयोग गर्ने भएको छ । क्या. रि. चित्रबहादुर गुरुङले पनि ३ सय पाउन्ड सहयोग गरेका छन् ।
विगतको सालहरुमा भन्दा यस पटक निर्णायक मन्डलमा केही फरकपन गरिएको छ । झाँकीको लागि निर्णायक ४ जना नेपाली कला संस्कृतिविद् रहेका छन् । नृत्यको लागि ३ जना निर्णायक रहने भएका छन् । कार्यक्रमका लागि ३१ हजार पाउन्ड खर्च हुने अनुमान गरिको छ । लण्डन दूतावासबाट २ हजार ५ सय पाउन्ड सहयोग प्राप्त भएको छ ।
मिनी नेपालको झल्को दिने कार्यक्रम भएकाले मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षण रहनेछन् ।
तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले मेलामा नेपालका विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति झल्किने खालका प्रदर्शनी हुने बताए । तमुधिं यूके आमा समूहका महासचिव यशोदा गुरुङले आमा टोली मेलाको लागि पूरा तयारी भइसकेको जानकारी दिइन् ।






