दमौली । तनहुँको आबुखैरेनी १ बरादीमा मंगलबार तीन सवारी साधन आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ७ मध्ये ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार आबुखैरेनी -४ बस्ने २६ वर्षीय दिलबहादुर थापा, पर्वत कुश्मा -९ की ३ वर्षीया बालिका ममता लामिछाने, ३५ वर्षीया कमल लामिछाने र आबुखैरेनी गाउँपालिकाका अन्दाजी ३५ वर्षीय नुनबहादुर खवासको मृत्यु भएको हो । थापाको दमौली र अन्यको पोखराका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
पर्वत कुश्माका पर्वती लामिछाने, गुरुदत्त तिवारी, चितवन भरतपुरका सरु पाठक घाइते छन् ।
आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको बा १७ च १८१४ नम्बर भ्यान र मुग्लिनबाट डुम्रे आउँदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।






