गुरुङ रामप्रकाश समथिङ
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार तोप्केगोला जातिको जनसंख्या महिला ७ सय ९६ जना र पुरुष ७ सय २७ जना गरी जम्मा १ हजार ५ सय २३ जना रहेका छन् । यो जनसंख्या हेर्दा साह्रै न्यून हो । यहि संख्या उल्लेख भएका कारणले पनि होला सरकारले अल्पसंख्यक जातिमा सीमान्तकृत समूहमा सूचीकृत गरेको पनि । भन्नेहरुले भन्ने गर्दछ तोप्केगोला जाति लिम्बु जाति भित्रको एक थर हो । तर, उनीहरुको ल्वाइ ख्वाइ र रहनसहन हेर्दा लिम्बू जातिको एक थरी हो भन्न सकिन्न । उनीहरु हिमाली क्षेत्रमा बसोबास गर्ने जाति शेर्पा जस्तो देखिन्छ । शेर्पा जातिको महिलाहरुले लाएको जस्तै कपडा लाउने तोप्केगोला जातिलाई कसरी लिम्बू जातिको एक थर हो भनेर भन्नु सकिन्छ र ?
नेपालको धेरै जसो जातिभित्रको थरहरु गाउँठाउँ विशेषले बनेको देखिन्छ । ताप्लेजुङ जिल्लामा नाल्बो भन्ने गाउँ विकास समितिको नाम छ । फेरि त्यही गाउँ विकास समितिमा बसोबास गर्ने लिम्बू जातिभित्रको नाल्बो थरको मान्छे पनि भेटिन्छ । त्यस्तै तोप्केगोला जाति पनि तोप्केगोला भन्ने गाउँमा बसोबास गर्ने भएकोले त्यही ठाउँको नामबाट तोप्केगोला जाति भएको हो भन्नेहरु पनि भेटिन्छ । धेरै जसोले तोप्केगोला जातिको बारेमा बुझ्नु प¥यो भने लिम्बू जातिको संस्कार संस्कृति बुझे हुन्छ भनेको पाइन्छ । तर, उनीहरुको रहनसहन हेर्दा लिम्बू जातिसँग खासै मिलेको देखिन्न । बरु हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा र भोटे जातिसँग मिलेको देखिन्छ । तोप्केगोला जातिलाई स्थानीय भाषामा ध्योक्यपा भन्ने गर्दछ । यिनीहरुलाई स्थान विशेषकै नामले बोलाउने गरेको देखिन्छ । तोप्केगोला गाउँमा यो जातिको लगभग पचास साठी घरमा यी जातिका मान्छेहरु बसोबास गरेको पाइन्छ । यो गाउँ निक्कै सुन्दर खालको रहेको छ । ढुंगा, माटो र काठले बनेको घरमा बस्न मन पराउने तोप्केगोला जातिले बोल्ने भाषालाई दोप्वर्या भन्ने गर्दछ ।
ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला र तोप्केगोला क्षेत्रमा बसोबास गर्ने तोप्केगोला जाति जाडो समय शुरु भएपछि तराईतिर झर्ने गर्दछ । फेरि गर्मी समय शुरु भएपछि उनीहरु हिमाली क्षेत्रतिरै फर्कन्छ । उनीहरु व्यापार गर्ने भएकोले घुमीघुमी व्यापार गर्दछ । घरमा बस्नेहरुले बारीमा लाएको बाली र घरमा पालेको बस्तुहरुलाई हेर्नु पर्ने हुन्छ । व्यापार बाहेक उनीहरुको पेशा हो कृषि । हिमाली क्षेत्र भएकोले कृषि पेशाबाट उनीहरु खासै सन्तुष्ट भएको मान्दैनन् । व्यापार गर्न उनीहरु नेपाल भन्दा पनि बढी तिब्बततिर जाने गर्दछ । आपूmले उत्पादन गरेको सामान पनि उतै लगेर बेच्ने । अनि आपूmलाई चाहिने र बेच्ने सामानहरु पनि उतैबाट ल्याउने गर्दछ । यातायातको सुविधा नभएका कारणले उनीहरु लगभग तीन चार दिनसम्म याक र चौरीलाई सामान बोकाएर ल्याउने र लाने गर्नु उनीहरुको बाध्या देखिन्छ ।
तोप्केगोला जाति बौद्ध धर्म मान्ने भएकोले यी जातिका मानिस मरेपछि लामाले जुराएको साइत अनुसार लासलाई गाड्ने वा जलाउने के गर्ने सोही बमोजिम अन्तिम संस्कार गर्दछन् । आर्यन समुदायमा जस्तो अनिवार्य जलाउने नियम बौद्ध धर्म मान्नेहरुमा हुँदैन । आर्यन समुदामा मान्छेको मृत्यु पश्चात आफन्तहरुलाई पर्खनु पर्ने छैन भने तुरुन्तै खोलामा लगेर जलाउने चलन रहेको छ । तर बौद्ध धर्म मान्ने जातिहरुमा त्यसरी पाइन्न । त्यसैले पनि होला तोप्केगोला जातिमा लामाले साइत हेरेर पछि मात्र अन्त्येष्टि गर्न पाइन्छ । हुन सक्छ मृतकको मृत्यु पश्चात पछि अन्त्येष्टिको लागि एक दुई दिन पर्खनु पनि पर्ने हुन्छ । परम्परागत रुपमा चल्दै र मान्दै आएको नियम भएर होला त्यसलाई ऐलेसम्म साह्रो गाह्रो मानेको देखिन्न । तोप्केगोला जातिको जन्मदेखि मृत्युसम्मको संस्कारहरु बौद्ध धर्मको विधि विधान अनुसार सम्पन्न गर्ने गर्दछ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडांैद्वारा प्रकाशित नेपालका जनजातिहरु वैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक डोल्पो जातिबारे लेख प्रकाशन गरिनेछ)






