
युद्ध साहित्य गोष्टिमा बाचन गरिएको कबिता:
“म अबोध दुधे बालक”
कबि: जित बुढाथोकी छन्त्याल
मेरा प्रेदेशी बाबा
लडाईको मैदानमा थिए
यता मेरी आमा बाबाको प्रतिक्षामा थिईन्
बाबाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै
मेरी आमा दिन रात दीप जलाइरहिन्
म अबोध दुधे बालक
आमाको काखामा सुतेर
आमाकै छाती चुसिरहेको थिएँ
आमा टुकीमा बत्ती बाल्दैथिईन्
टुकी घरीघरी निभिरन्थ्यो।
आमा,
हैन के अनर्थ गरेको आज
न हावानै चलेको छ
न तेलनै सकिएको छ
तैपनी
घरी घरी टुकी किन निभिरहन्छ हँ?
आमा एक्लै गुन्गुनाउदै
के के सोंच्दै
मलाई भुँईमा राखेर
टुकीमा तेल थपिदिन्छिन्
अनि फेरि बत्ती बाल्छ
केही छीनमै बत्ती आफै निभ्छ
म अबोध दुधे बालक
आमाको स्तन चुस्न
रुँदै फेरी आमाकै काखमा बस्छु।
म दुध खाएर आमाकै काखमा निदाउछु
तर आमा बाबाको चिन्ताले भोकै सुत्नुभएछ।
एकाविहानै
मेरो बाबा लडाईमा शहीद
बनेको अशुभ समाचार लिएर
आए कोही अपरिचित
अनि सुनाए आमालाई विपत्तिको खबर
यो सुनेर आमा बेहोस् भईन्
भुँईमा पछारिएर लडिरहिन्
छिमेकीहरूले सम्हाल्न खोज्दै थिए
आमाको अनुहारमा पानी छर्किदैथिए
आमा जब होसमा आउथे
भावविह्रल हुँदै चिच्च्याउदै रुन्थे
अनि फेरी बेहोस् हुन्थे।
आमा पीडा र शोकेले रुन्थे
म भोकले रुन्थेँ
म अबोध् दुधे बालक
मलाई ज्ञान थिएन
म रुँदै दुध खोज्दै आमाको
छातीमा ताँसिन पुग्थें।
आज बर्षौंपछि
म अबोध दुधे बालक
तन्नेरी भैसकेको छु।
म,
मेरी वृद्ध आमालाई डोहोर्याएर
मेरो शहीद बाबाको
रगत र पसिनाको
त्याग र बलिदानको
ज्याला लिन
आईरहन्छु।
हो,
त्यहॉ
मेरी आमाको आँखा
सँधै रसाएको पाउछु
शायद,
आमालाई बाबाको यादले पिरोलिरहन्छे
अनि म सम्झन्छु मेरो बाबालाई
अफसोस,
बाबा हामीसँगै भैदिएको भए
अफसोस!






