काठमाडौं । बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले प्राप्त गर्नुभएको छ । उहाँको ‘अन्तिम अतिथि’ शीर्षकको कथा प्रथम भएको छ ।
यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गर्नुएको छ भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गर्नुभएको छ । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ रहेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७८’ कोपनि लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि रक्षामन्त्री डा.मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण तथा पुस्तकको लोकार्पण गर्नुभएको थियो । प्रमुख अतिथि डा. रिजालले प्रथम तीनसहित उत्कृष्ट २२ कथाकारहरूलाई पनि प्रमाणपत्रसहित पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभयो । उत्कष्ट कथाकारलाई मन्त्री रिजालसँगै डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसीलगायतले खादा, पुष्पगुच्छा, प्रमाणपत्र, नगद र ट्रफी वितरण गर्नुभएको थियो ।
डिश होम बाह्रखरी कथाको टाइटल स्पोन्सर रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगम प्रायोजक रहेका थिए ।
बाह्रखरी बुक्सले शुक्रबार डिशहोम १२खरी कथा प्रतियोगिता–२०७८ मा उत्कृष्ट २५ मा परेका र तीमध्येबाट प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल कथाकारहरूको नाम तथा कथाको शीर्षक सार्वजनिक गरेको हो ।
यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले रहनुभएको छ । कथा प्रतियोगिताका लागि देश–विदेशबाट प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरूको सँगालो ‘१२खरी उत्कृष्ट कथा–२०७८’ को सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गर्नुभएको हो ।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा वरिष्ठ आख्यानकार नारायण ढकाल संयोजक तथा समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल सदस्य रहनुभएको थियो । आन्तरिक समिति बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको थियो ।
प्रतियोगितामा प्राप्त ४०० बढी कथाहरूमध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको थियो । उक्त ५० कथाहरूमध्येबाट समितिले उत्कृष्ट २५ कथासहित प्रथम, द्वितीय र तृतीय घोषित गरेको थियो । लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय नेपालमा कथा लेखनप्रतिको आकर्षण कम हुँदै गएका कारण १२खरी बुक्सले कथा प्रतियोगिताको आयोजनालाई महत्त्व दिँदै आएको छ । यो कथा प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतको सहभागिता रहने गरेको छ ।
गत वर्ष असहज परिस्थितिका कारण ‘१२खरी उत्कृष्ट कथा–२०७७’ पुस्तकका रूपमा प्रकाशित गर्न नसकिएको र प्रकाशन गर्न बाँकी उक्त कथासंग्रह केही समयपछि प्रकाशित गरिने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरिएको छ ।
‘तेस्रो डिशहोम १२खरी कथा प्रतियोगिता’का उत्कृष्ट २५ कथाहरू समकालीन नेपाली कथाका अनुहार भएको कथा प्रतियोगिताको छनोट समितिले जनाएको छ । प्रतियोगितामा समावेश कथाले समग्र नेपाली समाजको प्रतिनिधित्त्व गरेको छनोट समितिको ठहर छ ।
कार्यक्रममा छनोट समितिका सदस्यहरुसँग अन्तरक्रिया गरिएको थियो । सो क्रममा छनोट समितिका संयोजक नारायण ढकालले प्रथम भएको कथा निकै उत्कृष्ट रहेको बताए । “साँच्चै प्रथम भएको कथा निकै उत्कृष्ट छ,” उनले भने, “विषयका हिसाबले कथाहरू पढ्दा उत्साह भेटिन्छ ।”
प्रतियोगिताका कथामा हिमाल, पहाड, तराई तथा विभिन्न विषय, परिवेश र संस्कृति समावेश रहेको छनोट समितिका सदस्य कुमारी लामाको भनाइ थियो ।
“समकालीन समयको स्पष्ट चित्र हो, २५ कथाको यो संग्रहलाई समकालीन नेपाली कथाको अनुहार भन्न सकिन्छ,” उनले भनिन् ।
उनले हरेक सिर्जना राम्रा हुने भन्दै त्यसको तुलना गरेर छनोट गर्नु आफैँमा कठिन हुने बताइन् ।
छनोट समितिका अर्का सदस्य विवश पोखरेलले खेलकुदमा जस्तो साहित्यमा पहिलो, दोस्रो र तेस्रो छुट्ट्याउन गाह्रो हुने बताए ।
आयोजक संस्थाले नाम र शीर्षकसमेत नदिई कथा छनोट गरिएको भन्दै प्रतियोगिताका संयोजक ढकालले कथा छान्दा आफूलाई तालिम लिएको जस्तो अनुभव भएको बताए । कथा छान्नुअगाडि आफूले नेपाली र विदेशी गरेर २०० भन्दा धेरै कथा पढेको उनले सुनाए ।
छनोट समितिका सदस्य पोखरेलले विषयवस्तु, भाषा, शिल्प, शैली, परिवेश, आरम्भ र अन्त्यलाई माधार मानेर कथा छनोट गरिएको जानकारी दिए ।
अन्तरक्रियाको सहजीकरण पत्रकार तथा लेखक यज्ञशले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले समकालीन साहित्यले समाजको अध्ययन गर्न सहयोग गर्ने बताए ।
रिजालले समाज प्रतिबिम्बित गर्ने साहित्य सधैँ सार्वकालिक हुने भन्दै मुनामदन खण्डकाव्य अझै पनि उत्तिकै लोकप्रिय रहेको बताए ।
रक्षामन्त्री रिजालले अझै पनि मुनामदनले ठूलो परिमाणमा रोयल्टी प्राप्त गरिरहेको भन्दै समाज र संस्कृति झल्किने विषय साहित्यमा सशक्त रूपमा आउनुपर्नेमा जोड दिए ।
बाह्रखरीको यस प्रतियोगिताले नेपाली कथा लेखनको उन्नयनमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको भन्दै उनले यस्ता प्रतियोगिताहरूको आवश्यक रहेकोमा जोड दिए । सो अवसरमा उनले उत्कृष्ट कथाकारहरूलाई पुरस्कार प्रदान गरेका थिए ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले साहित्यले राष्ट्रियता, भाषा र संस्कृतिको विकास गर्ने बताए । देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउने काम साहित्यले गर्ने भन्दै उनले यसको विकास र विस्तारका लागि बाह्रखरीले कथा प्रतियोगिता आयोजना गरिरहेको उल्लेख गरे ।
आफू साहित्यबाट पालिएको उहाँको भनाइ । आफू सानो छँदादेखि बुवा परशु प्रधानले कथा लेखेको देखेर हुर्किएको स्मरण गर्दै आफूले त्यही बेला अर्थसँग जोडेर हेर्न गरेको उनले सुनाए ।
कथा प्रतियोगिताका आन्तरिक संयोजक तथा बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले पहिलो पुस्ताका कथाकारहरूजत्तिकै अब्बल कथाहरू अहिले पनि लेखिने गरेको बताए । पठन संस्कृतिको भने कमी रहेको उहाँको भनाइ छ । पढ्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए ।
आख्यान साहित्यका साधकहरूको सम्मानमा विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मुलुककै सबैभन्दा ठूलो कथा प्रतियोगिताको तेस्रो संस्करणमा आइपुग्दै आज शुक्रबार यस वर्षको उत्कृष्ट २५ कथा र कथाकारहरूको नाम सार्वजनिक गर्न पाउँदा गौरव महसुस गरेको अधिकारीले स्वागत मन्तव्यका क्रममा बताए ।
‘१२खरी उत्कृष्ट कथा–२०७८’ का सम्पादक राजेन्द्र पराजुलीले नेपाली कथायात्राले लिएका बाटो बुझ्न यो कथा प्रतियोगिता राम्रो माध्यम भएको बताए । तेस्रो संस्करणसम्म आइपुग्दा दुई हजार कथा प्राप्त भइसकेको भन्दै उनले नेपाली कथाले फराकिलो बाटो तय गर्न भने अझै बाँकी रहेको बताए । महिला कथाकारको उपस्थिति बलियो देखिएको सम्पादक पराजुलीको भनाइ छ ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले नेपाली साहित्यको उत्थानका लागि बाह्रखरी कथा प्रतियोगितासँग सहकार्य गरेको बताए ।
सार्वजनिक पुस्तकमा रहेका कथामा आधारित भएर चलचित्र, टेलिचलचित्र पनि बनाउन सकिने उहाँको भनाइ छ । नेपाली साहित्यलाई माथि उठाउन डिशहोमले सहयोग गर्ने उनले बताए ।






