अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेरा चलचित्र अनुभव र अनुभुति

SHARE:

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेरा चलचित्र अनुभव र अनुभुति
मेजन पुन

पोखरा – मेरो लेखन निर्देशनमा बनेको दुई चलचित्र ट्याङ्चलाक र परिबन्द विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भईरहेका छन् । दुवै चलचित्रहरु नेपाली र मगर भाषा मिश्रित एवम् मगर विषयवस्तुमा निर्माण गरिएको चलचित्रहरु हुन् ।

चलचित्र युनीभर्सल ल्याङ्वेज हो । यी कुराहरु चलचित्रका किताबहरुमा पढ्न पाइन्छ साथै राज काउचा थापा दाईसँग पनि कफी गफहरुमा भईरहेकै कुरा हुन् । केशव सुर्यवंशी सरसँग पनि बटौलीमा चलिरहने कुरा थियो यो । चलचित्रको कुनै भाषा हुन्न नजिकबाट यी दुई चलचित्रहरुले प्रमाणित गरिरहेको छ ।

हामी कोरियन फिल्म हेर्छौं । जसमा अंग्रेजीमा क्याप्सन राखिएको हुन्छ र त्यही क्याप्सन पढेर फिल्म हेर्छौं । कोरियन फिल्म क्याप्सन हेरेर बुझ्ने आफ्नै देशको जातीय चलचित्र चाहिं नबुझ्ने त हुँदैन होला भन्ने लाग्दथ्यो । अलि बढी बुझ्न साथीहरु चाहिं नेपालीमा बनेको भए झन बढी बुझिन्थ्यो भन्दछन् । तर भाषा संरक्षणको लागि भाषामै चलचित्र बनाएकै राम्रो ।

म अठार मगरात क्षेत्रको खाम भाषी मगर तर विगतको राज्यसत्ताको कारण भाषा विहिन गराईएको व्यक्तिले भाषा मोह बारे नबुझ्ने कुरै थिएन् । मगर भएर भाषा नबोल्ने भन्दै समाजमा कति सुनियो कति ? यसको कुनै हिसाब छैन् । स्कुल पढ्दा नै सिक्ने प्रयास गर्दा उल्टोपाल्टो सिकाउने साथीहरु पनि भेटिए । लाजै मर्दो सिकाएको थाहा पाएर सिक्ने मोह कम पनि भयो । तर मगर विद्यार्थी देखिनै मगर समाजमा हिंडेर सामाजिक काम गरिरहँदा ढुट भाषामा सजिला सजिला कुराहरु फर्काउन सक्ने भएको छु । र, साथीहरुसँगको संगतकै कारण ढुट भाषामा ३ वटा फिल्महरु बनाउन सम्भव पनि भएँ ।

चलचित्रभित्रको रुल थ्रि एक्ट र चलचित्र शुरुवातको पहिलो १० मिनेट भित्र फस्ट ईनसाईटिङ ईन्सीडेन अर्थात फस्ट अब्स्टेकल्स आएन भने मानिसहरु चलचित्रमा फोकस् हुँदैनन् भने झै चलचित्र निर्माण गर्दा मेरो फस्ट अब्स्टेकल्स भनेको नै भाषा नजान्नु रहयो । यसलाई पार लगाउँदै चलचित्र निर्माणको काम सक्दाको मज्जा नै बेग्लै छ । यसको अनुभुत मलाई मात्र थाहा छ । अन्यले त महसुस गर्ने त हो ।

विगतको राज्य संचालन गर्नेहरुले भाषिक दमन गरेकै कारणले हामी भाषा नबोल्ने भएको हो भनेर त हामीले पनि बुझाउन सक्नु पर्छ । बुझ्नेले यसै बुझिहाल्छ । नबुझ्नेलाई त जति पढाए पनि बुझाए पनि उस्तै हो । यसको लागि नदुखेको आफ्नो टाउको किन दुखाउनु ? र, कसैले यसो भन्यो भनेर मगर नहुने पनि त होइन ? आफ्नो क्षेत्रमा आफुले जानेको काम निरन्तर गरिरहने हो । महसुस गर्ने कुरा समय आएपछि भईहाल्छ ।

चलचित्र राजनीति पनि हो— राष्ट्रको । आफ्नो देशको भाषा, संस्कार, संस्कृति बारेमा भुउपग्रह प्रयोग गरि अर्को देशमा आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्नु देखि लिएर आफ्नो पहिचानको माध्यम बनाउन सकिन्छ— चलचित्रलाई । तर हाम्रो देशका उपल्लो तहमा रहेका ब्युरोक्रेट्सलाई चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र हो भन्ने सोचाई छ जस्तो लाग्छ । जसरी खेलकुदले राष्ट्र चिनाउँछ त्यस्तै गरि चलचित्रले देश चिनाउँछ । तर नेपालमा न खेलकुदलाई राष्ट्रले चिन्यो न चलचित्रलाई । व्यक्तिको नाममा प्रतिष्ठान खोल्दा करोड बजेट दिने सरकारले खेलाडी र खेलकुदलाई फरक तरिकाले हेरिरहेको छ । चलचित्र पनि त्यस्तै हिस्सा अन्तर्गत पर्दछ ।

नविन सुब्बा दाईको अन्तवार्ता भरि जहिले पनि नेपालको मौलिक फिलिम र नेपाली क्राफ्ट बारे भनिरहनु हुन्छ । अहिले अलि अलि बुझ्न थाल्दैछु— वहाँको भनाई । आफ्नो समुदायको फिल्म भनेर हामीले भारतीय फिल्म र नेपाली फिल्मको कपी गरिरहेका छौं ? आफ्नो समुदायमा ती कुराहरु छैनन्/हुँदैनन् तर हामी त्यस्तै चलचित्र बनाई रहेका छौं । हामी भारतीय फिल्म देखि प्रभावित छौं । त्यसैले उतैको जस्तो फिल्म बनाई रहेका छौं ।

मगर समुदायमा फिल्म बनाउँदा हिरो लाहुरे हुन्छ । लाहुरे हिरो लडाईमा मरेको खबर घरमा आउँछ । विहे गरि ल्याएको बुहारीको कारण छोरा मरेको हो भन्ने ठहर गरि बुहारीलाई घरदेखि निकालिदिन्छ । केटी गिट्टी कुटेर पेट पाल्छ । अन्तमा लाहुरे हिरो मरेको हुँदैन र फर्कन्छ । यसरी कथा बुन्दछौं— हामी । यसरी कथा रचना गर्दा समाजमा यस्तो हुन्छ-हुँदैन हामी हेक्का राख्दैनौं । वास्तवमा मगर समाजमा प्राय बुहारी टाढाको नाता पर्ने हुँदैन । केटाले साली वा भनौं नजिकको गाउँदेखि नाता खोजेर नै विहे गर्दछ । र, समाजमा बुहारीलाई छोरीको जस्तो व्यवहार गरिन्छ । लाहुरे लडाईमा परेर मर्दा पनि उसको नाममा पेन्सन लेखिन्छ । गिट्टीनै कुटेर खानु पर्ने अवस्था आउँदैन । मरेको छोराको सन्तान छ भने त झन आफ्नो सन्तानको नाशो भनेर राम्रो हेरविचार गरि पालिन्छ ।

सिनेमा काल्पनिक कथा हो तर अधिकांश सिनेमा समाजकै घटना र पात्रबाट टिपेर बनाइन्छ । त्यसरी समाजको घटना उर्तादा साँचो चित्रण होस् र कुनै वर्ग, क्षेत्र र समुदायलाई लाञ्छित नगरियोस् भनेर सचेत हुनु कलाकर्मीको दायित्व पनि हो । मौलिक कथा र यथार्थ जीवनीसँग नजिक रहेर बनाइएको सिनेमाहरुको मुल्याकन समाजमा उच्च रहन्छ ।

निर्देशक नविन सुब्बा भन्नुहुन्छ— आदिवासी जनजातिको सिनेमा निर्माण गर्न व्यक्ति आदिवासी भएर मात्र पुग्दैन, सोंच र दृष्टि पनि आदिवासीको हुनुपर्छ । अर्थात आदिवासीको चलचित्र भनिसकेपछि समाज भित्रको सुवास र सुगन्धले समाजको प्रतिनिधित्व गर्दैन भने त्यो आदिवासी जनजातिको सिनेमा हुँदैन । किनकि यसप्रकारको सिनेमाहरुको प्रदर्शनले समाजको पहिचान गराउनु भन्दा समाजलाई विकृतनै चित्रण गर्दछ भने त्यो सिनेमा आदिवासीको हुनै सक्दैन ।

मगर समाज आफैमा विविधताको समाज हो । तीन प्रकारको भाषा बोलिन्छ । यस मध्ये मैले बाह्र मगरात यानी ढुट भाषामा बनाएको दुई चलचित्रहरु अहिले विभिन्न १३ वटा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भई ४ वटा चलचित्र महोत्सवमा अवार्ड जित्यो भने २ वटामा फाइनलिष्ट, १ वटामा सेमिफाइनलिष्ट र अन्यमा अफिसयल छनोट भयो । अमेरिका र नेपालमा आयोजना भएको दुई वटा चलचित्र महोत्सव बाहेक अन्य सबै विशुद्ध विदेशीहरुले आयोजना गरिएको महोत्सवहरु थिए ।

सर्वप्रथम साउथ अफ्रिकामा आयोजना भएको ४२ वर्ष लामो इतिहास बोकेको डर्बान अन्तराष्ट्रिय चलचित्र महोत्सवमा मगर विषयवस्तुमा निर्माण भएको ट्याङ्चलाक चलचित्र छनोट हुँदा आफैमा अचम्म एवम् उत्साहित भएको थिएँ । नेपालमा बसोबास गर्ने मगरहरु बारेमा साउथ अफ्रिकाका बासिन्दालाई कति थाहा थियो । साथै उनीहरुले मगर भाषा र नेपाली भाषा मिश्रित फिल्मलाई अवलोकन गरे नै । सर्वप्रथम त्यति लामो इतिहास बोकेको महोत्सवमा मगर विषयवस्तुमा बनेको चलचित्र अफिसयल छनोट हुनु पनि मेरो लागि ठुलो कुरा भएको थियो ।

यसै गरि जापानमा टोकियो फिल्म अवार्डमा ट्याङ्चलाक चलचित्र छनोट भई सिल्भर अवार्ड जित्नु पनि अर्को गर्व गर्न लायक विषय भएको छ— मेरो लागि । यसै गरि वल्र्ड फिल्म कार्निभल सिंगापुरमा पनि ट्याङ्चलाक चलचित्रले अवार्ड जितेको छ । साथै मैले बनाएको अर्को छोटो विद्याको चलचित्र परिबन्दले भारतमा आयोजना भएको दुई वटा महोत्सवमा अवार्ड जित्न सफल भएको छ ।

मेरो दुवै चलचित्र भित्र विषयवस्तु मगरको भए पनि विदेशमा आयोजना भएको चलचित्र महोत्सवहरुमा यी दुई चलचित्रले नेपालको प्रतिनिधित्व गरिरहेको छ । र, खुशीको कुरा केही महोत्सवहरुमा अवार्ड पनि जितिरहेको छ भनेर लेख्न पाउँदा पनि गर्व लागिरहेको छ । अझ चलचित्रबाट आयोजना भएका महोत्सवहरुमा नेपाल र मगर समाज चिनाउन पाउ भन्ने कामना समेत गर्दछु । यी चलचित्रका कलाकार तथा प्राविधिकहरुलाई धेरै धेरै धन्यवाद ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!