
एकोहोरो प्रेम
जित बुढाथोकी छन्त्याल
यी नयनमा बसेकी
एक परी थिईन् उनी
साथमा थिईनन्
तैपनि
लाग्थ्यो मेरै वरिपरि छीन् उनी।
एकान्तमा बस्थें
अनि घन्टौं कुरा गर्थें
दोहोरी चल्थ्यो सवाल जबाफको
जहाँ म एक्लै थिएँ
आफै सवाल गर्थेँ
अनि आफै जबाफपनि दिन्थेँ
प्रेमको प्रसङ्गमा गफ हुन्थ्यो
कहिले सही कहिले गलत भन्थिन्
प्रसङ्ग प्रेमदेखी विवाहसम्म हुन्थ्यो
कहिले लजाउदै मानेझैं गर्थिन्
कहिले मान्दैनथिईन्
प्रेम दर्साउने अनेकौं शब्दहरूले उन्लाई
फकाउथेँ
सम्झेर उन्लाई एक्लै बर्बराउथेँ
मात्र कल्पना र भावनामा थिईन् उनी
तैपनि
लाग्थ्यो मेरै वरिपरि छीन् उनी।
माहुरीका भुनभुनाहट
पन्छीका चिच्च्याहट
वन्यजन्तुका गर्जनहरू
पवनका स्पर्श
अनि नदीका सुसाईबाट
विचलित नभई एकचित्तमा
म उन्कै कल्पनामा दुबेछु
गहिरो निदमा निदाएझैं भएछु
मानौँ,
शायद सपना पो देखिरहेछु।
उनी छिल्लिँदै मेरै अँगालोमा बेरिएर
मेरो अधरहरू चुमेझैं लाग्थ्यो
म आफैसँग लजाउथेँ
मलाई काउकुती लागेझैं भान हुन्थ्यो
फेरी कानेखुसी गर्दै
दुनियाँले देखे हाम्रो बदनामी हुन्छ भन्दै
रेसमी पछेउरी सजाउदै
आँखाको गाजल मिलाउदै
मुसुक्क मुस्कुराउदै
जुरुक्क उठेर छुट्टिन खोज्दैथिईन उनी
मात्र,
आभाषमा साथमा थिईनन् उनी
तैपनि
लाग्थ्यो मेरै वरिपरि छीन् उनी।
अकस्मात्!
गड्याङगुडुङ आकाश गर्जिए
छत्राकछुत्रुक गर्दै पानी बर्सिए
अनि झल्याँस्स होशमा आएँ र सम्झिएँ
छ्या!
म त कल्पनामा पो दुबेछु।
अनि मनमनै निधो गरेँ
म उस्लाई भेटेर प्रेम जाहेर गर्छु भनी
यही सोंचेर ऊ हिँडेको बाटो
उस्कै पाइलाहरू पछ्याउदै गएँ,
उस्कै घर नजिकै पुगेपछि देखेँ
नौमती बाजा सहितको जन्ती
सिँउदोमा सिन्दुर
अनि बेहुलीको पोशाकमा सजिएकी
उही यी नयनमा बसेकी परी।
चसक्कै मुटु चस्कियो
झसङ्ग हुँदै झस्किए
एकोहोरो प्रेम गरेर भूल गरेछु
सम्झिएँ दोष मेरै हो
पश्चताप गरें आफैसँग।
आगोको रापले भन्दा बढी
पश्चतापले छाती पोल्दोरहेछ
आफ्नै अगाडि अर्कैको बनेर गईन् उनी
तैपनि,
लाग्छ मेरै वरिपरि छीन् उनी
तैपनि,लाग्छ मेरै वरिपरि छीन् उनी।






