लन्डन १७ मे २०२२ । उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ ।
यूकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र गुरुङले एक स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिकासमेत निर्वाह गरेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए । सञ्जयले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनले छाङ छ्वानमा ९.७ तथा वेपनमा ९.८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे ।
सञ्जयले यसअघि अस्ट्रियामा भएको वर्ल्ड च्याम्पियनसिप, बङ्गलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । भूपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८.९ अङ्क हासिल गर्दै स्वर्ण चुमे ।
यसअघि भूपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए । प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब ५५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी दिए ।






